मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले आफ्नो पदीय मर्यादा दुरुपयोग गर्दै प्रतिष्ठानको कर्मचारीमा आफ्नै श्रीमतीलाई नियुक्त गरेको आरोप लागेको छ ।
तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीको शक्तिका कारण प्रदेश प्रमुख बनेका विष्णु प्रसाद प्रसाईंले प्रदेश प्रमुख बनेको केही दिनमा आफ्ना छोरा राजेश प्रसाईंलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बनाएका थिए ।
शक्तिकै आधारमा नियुक्त भएका राजेश प्रसाईंले फेरि आफ्नी श्रीमतीलाई पनि जागिर खुवाएका छन् ।
राजेश प्रसाईंलाई प्रतिष्ठानको रजिष्ट्रारमा नियुक्ति गरेको भनेर उनको नियुक्तिकै बेला आलोचना भएको थियो । प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधान मिचेर प्रसाईंले आफ्नै श्रीमती कमला प्रसाईं निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन् ।
झापा मेची नगरकी प्रसाईंलाई नियुक्त गर्दा हेटौँडा मकवानपुरका ईश्वर सिलवाल वैकल्पिकमा परेका छन् । प्रसाईंले आफू अन्तर्वार्तामा नबसेको र अन्तर्वार्ता छनोट समितिले योग्यताकै आधारमा छनोट गर्दा आफ्नी श्रीमती छानिएको दाबी गरे ।
प्रतिष्ठानले विभिन्न पदमा १४ जना कर्मचारी नियुक्त गरेको छ । प्रदेश लोकसेवा आयोग गठन भइसकेको अवस्थामा आफ्नै नजिकका मानिस भर्ती गर्नका लागि प्रतिष्ठानले लोकसेवा आयोगलाई छलेको भन्दै आलोचना भइरहेको छ ।
अहिले उनले आफ्नै श्रीमतीलाई नियुक्त गरेपछि उनको थप आलोचना भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।