बेल्जियममाथि पूनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै फ्रान्सले बेल्जियममाथि ३-२ को रोमान्चक जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको हो ।
एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा फ्रान्सको जितमा करिम बेन्जीमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे । बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको गोल सान्त्वना बन्यो ।
प्रतिस्पर्धात्मक खेलको ३७ औं मिनेटमा कारास्कोको गोलमार्फत बेल्जियमले अग्रता लिएको थियो । उनले केभिन डि ब्रुएनको पासलाई सदुपयोग गरेका थिए ।
४०औं मिनेटमा ब्रुएनकै पासमा लुकाकुले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा २-० को अग्रता बनायो ।
दुई गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न सफल भयो । ६२औं मिनेटमा बेन्जीमाले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई २-१ को अवस्थामा ल्याए ।
६९औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । युरी टिलेमान्सले एन्टोइन ग्रिजम्यानलाई फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेका थिए । त्यसलाई एमबाप्पेले खेर फालेनन् ।
९०औं मिनेटमा हर्नान्डेजले काउन्टर अट्याकमा बेन्जीमाको पासलाई गोलमा परिणत गर्दै फ्रान्सको फाइनल यात्रा पक्का गरे ।
फ्रान्सले उपाधिका लागि १० अक्टोवरमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले बुधबार राति इटालीलाई २-१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । सोही दिन तेस्रो स्थानको लागि इटाली र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।