नेपाल र भारतबीच रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ गर्न सम्झौता

नेपाल र भारतबीच प्रस्तावित रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ गर्ने सम्बन्धमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

भारतको नयाँदिल्लीमा असोज २० देखि २१ गतेसम्म भएको नेपाल–भारत संयुक्त कार्यदलको पाँचौ बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकमा उक्त सम्झौतापत्रमा दुई देशका पदाधिकारीले हस्ताक्षर गरेका हुन् । 

‘प्रस्तावित रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने छ,’ काठमाडौंस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैठकमा जगनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडर्स’ (एसओपी) मा समेत हस्ताक्षर भएको थियो । 
एसओपीले नयाँ खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातको लागि मार्गदर्शक दस्तावेजको रुपमा काम गर्ने जनाइएको छ । 

दुवै बैठकमा नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले गरेका थिए । 

नेपाल–भारत संयुक्त कार्यदलको बैठकमा भारतीय टोलीको नेतृत्व भारतको रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए । यस्तै, परियोजना सञ्चालन समितिको बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग भूषणले गरेका थिए । 



बैठकमा भारतको अनुदान सहयोगमा निर्माण भइरहेको जगनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलमार्गमा सम्बन्धमा पनि छलफल भएको थियो । 

हालै निर्माण सम्पन्न भएको भारतको जगनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर खण्डमा यात्रुवाहक रेल सञ्चालन गर्न गरिएको प्राविधिक पूर्वतयारीबारे बैठकमा समिक्षा गरिएको थियो । रेलमार्ग अन्तर्गतको १७.२५ किलोमिटर कुर्था–बिजलापुर खण्डको निर्माण शिघ्र सम्पन्न गर्न आवश्यक सहयोग एवं सहजीकरण गर्ने आश्वासन नेपालले दिएको थियो । 



१८.६ किलोमिटर जोगवनी–विराटनगर रेलमार्गको निर्माण चाँडो सम्पन्न गरी छिट्टै सञ्चालनमा ल्याउन पनि दुवै पक्षबीच सहमति भएको दूतावासले जनाएको छ । 
बैठकमा रेलमार्ग लगायत नेपाली रेल कर्मचारी तथा प्राविधिकको क्षमता विकास, व्यवस्थापन एवं प्रशिक्षणका क्षेत्रमा प्राविधिक सहकार्यलाई सुदृढ गर्नेबारे दुबै पक्षबीच सहमति भएको जनाइएको छ । 
 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १२:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया