इमरान खानको शासनकालमा पाकिस्तानको अर्थव्यवस्था ‘रेड जोन’ मा, व्यापार घाटा ११.६ अर्ब डलर

पाकिस्तानी तथ्यांक विभागले जारी गरेको आँकडा अनुसार, चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा विदेश व्यापार घाटा सय प्रतिशत पुगेको छ । पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) सरकारले व्यापार घाटा र देशको चालू खाता घाटा कम गर्नका लागि आयात घटाउने घोषणा गरेको थियो । 

यद्यपि, पछिल्लो वर्ष वित्तीय घाटा अलिकति कम गर्न पाकिस्तान सरकार सफल भएको छ । तर, चालू आर्थिक वर्षको सुरुआतमा आयातमा भारी वृद्धि भएको देखिएको छ, यसले व्यापार घाटा बढ्दै गएको छ । 

विशेषज्ञहरूका अनुसार, बढ्दो व्यापार घाटा राष्ट्रिय अर्थव्यवस्थाका लागि खतराको संकेत हो । यसले चालू खाता घाटालाई वृद्धि गर्दै विनिमय दरमा नकारात्मक असर गर्छ, जसले डलरको तुलनामा रुपैयाँलाई कमजोर बनाइदिन्छ । पाकिस्तानी घरेलु मुद्रा अहिले डलरका अघिल्तिर निकै दबाबमा परेको छ । यसको एक मुख्य कारण आयात बढ्नु हो । आयात वृद्धिले डलरको माग बढाइदिएको छ । पाकिस्तानबाट अन्य मुलुकहरूमा हुने निर्यातमा निकै कम वृद्धि हुन गएको छ। 
 
जानकारहरूका अनुसार, यो आवको पहिलो त्रैमासिकमा आयात अधिक वृद्धि हुँदा व्यापार घाटा खतरनाक बिन्दुमा पुगेको छ । उनीहरूका अनुसार, यो देशको अर्थव्यवस्थाका लागि ‘रेड जोन’ हो । 

डरलाग्दो व्यापार घाटा

सरकारी आँकडाले नै देखाएको छ- पछिल्लो सालको पहिलो त्रैमासिकमा व्यापार घाटा ५.८ अर्ब डलर थियो भने यो वर्ष उक्त आँकडा बढेर ११.६ अर्ब डलर पुगेको छ । यो वर्षको पहिलो त्रैमासिक अवधि जुलाईदेखि सेप्टेम्बरसम्म १८.६३ अर्ब डलरबराबरको आयात भएको थियो । यो अघिल्लो वर्षको सोही अवधिमा ११.२ अर्ब डलर थियो, अर्थात् ६५ प्रतिशतभन्दा बढी वृद्धि भएको थियो ।
 
देशको निर्यातमा पनि वृद्धि त भएको छ, तर त्यो २७ प्रतिशत मात्रै छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ५.४७ अर्ब डलरको निर्यात भएको थियो, यो वर्ष सोही अवधिमा ६.९ अर्ब डलर हुन पुगेको छ । स्मरणीय के छ भने, अघिल्लो सरकारको अन्तिम समयमा व्यापार घाटाले रेकर्ड नै तोडेका थियो । त्यसबखत यस्तो घाटा ३७ अर्ब डलरभन्दा बढी थियो ।

पिटिआईले विस्तारैविस्तारै यसमा कमी ल्याउने प्रयत्न गरेको थियो । यो सरकारको पहिलो आवमा यस्तो घाटा ३१ अर्ब डलर र दोस्रो वर्ष अझै घटेर २३ अर्ब डलर कायम भएको थियो । तर, व्यापार घाटाको सिलसिला जारी रहन सकेन । मौजुदा सरकारको पालामा जुन ३०, २०२१ समाप्त हुने तेस्रो आवमा यो घाटा पुनः बढेर ३० अर्ब डलर पुग्यो र वृद्धिको क्रम जारी छ ।



के आयात गर्छ पाकिस्तान ?

पाकिस्तानमा विशेष गरी खाद्य पदार्थहरू, तेल, सवारी र मेसिनरी सामान बढीमात्रामा आयात हुने गर्छ । त्यस देशले अगस्ट महिनामा मात्रै ६६ हजार मेट्रिक टन चिनी आयात गर्‍याे । यो आँकडा अघिल्लो वर्षको अगस्टमा केवल ९१७ मेट्रिक टन थियो । 



यसैगरी, गहुँ आयात ७० प्रतिशत बढेको छ । पाम आयल १२० प्रतिशत बढेको छ । दाल आयातमा ८४ प्रतिशत र चियामा २४ प्रतिशत बढेको छ । 

अर्कोतर्फ, तेल उत्पादन करिब १२८ प्रतिशत बढेको छ । सवारी आयात २०० प्रतिशतभन्दा अधिक बढेको छ । मेसिनरी आयात पनि बढेको छ । र, चालू आवको पहिलो त्रैमासिकमा कोरोना भ्याक्सिन खरिदका कारण पनि आयात बढेको हो ।

किन बढ्यो यतिविधि आयात ?

आयातमा अधिक वृद्धि देखिनुका मुख्य कारण खाद्य, तेल, मेसिनरी तथा सवारी आयात बढ्नु रहेको अर्थशास्त्री खुर्रम शहजाद बताउँछन् । उनी भन्छन्, ‘स्थानीय स्तरमा भएका यी वस्तु उत्पादनले मागलाई धान्न सक्दैनन्, त्यसैले पाकिस्तान आयातमा निर्भर हुन पुगेको छ ।’ आयातको तुलनामा निर्यात अत्यन्तै कम भएका कारण पनि देशको व्यापार घाटा चुलिएको उनको भनाइ छ ।

मानिसहरूले ज्यादा सामान खपत गर्ने क्रम बढेकाले पनि आयात वृद्धि भएको उनले बताए । उनले भने, ‘खपत हुनु राम्रो कुरा हो, तर मागको अधिक हिस्सा आयातबाट पूर्ति गरिन्छ भने देशलाई व्यापार घाटा त हुन्छ नै ।’

अर्का अर्थशास्त्री डा. फारुक सलिमको भनाइ पनि उस्तै छ । खाद्य पदार्थ, तेल, मेसिनरी तथा सवारीजस्ता सामान अधिक आयात हुन थालेपछि व्यापार घाटा अवश्य बढ्ने उनको भनाइ छ । उनका अनुसार, पाकिस्तानीको आयमा वृद्धि भएको छैन, तर पनि उनीहरू अधिक खर्च गरिरहेका छन् ।

पाकिस्तानीको २०१८ देखि प्रतिव्यक्ति आय घट्दै गएको छ । त्यसबखत १४८२ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय अहिले घटेर ११९० हुन पुगेको छ । निर्यात वृद्धि नहुनाले पनि व्यापार घाटा बढेको डा. सलिम बताउँछन् ।

सरकारले गत आवमा ३१ अर्ब डलरबराबरको निर्यात गरेको भन्दै उत्सव नै मनायो तर २०१३-१४ मा पनि त्यति नै निर्यात भएको थियो । र, सोही बखतदेखि निर्यातमा कमी आउन थालेको हो । उनी भन्छन्, ‘यदि हामी पाम आयल, गहुँ र चिनीसमेत आयात गरिरहेका छौं भने, यसले व्यापार घाटा त बढ्ने नै भयो । साथै, कपडा उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यमा मेसिनरी आयात बढाइएको छ । यसबाट अस्थायी रूपमा केही फाइदा छ हुन्छ, तर यो स्थायी समाधान भने होइन ।’

पाकिस्तानमा आयात भएको खाद्यवस्तुको ठूलो हिस्सा अफगानिस्तानतर्फ ‘स्मग्लिङ’ हुँदै आएको र सोही कारण आयात निकै बढी गर्नुपरेको भन्ने कुरालाई भने डा. सलिम अस्वीकार गर्छन् । उनका अनुसार, पाकिस्तान जनतासँग त्यति धेरै पैसा छैन, जसले महँगा सामान खरिद गर्न सकून् !

पाकिस्तानमा रेमिट्यान्स बढी भित्रिनाले लाभ भइरहेको उनको भनाइ छ । अन्यथा, देशले अर्थव्यवस्था धान्न मुश्किल हुने उनले बताए । पाकिस्तानमा आयातित उत्पादनमा सय प्रतिशत कर लिइन्छ, तर पनि आयात घटेको छैन । 

व्यापार घाटा कति खतरनाक छ ?

डा.  सलिम पाकिस्तानको बढ्दो व्यापार घाटालाई ‘रेड जोन’ बताउँछन् । यसले देशलाई ‘दुष्चक्र’ मा फसाउने उनको भनाइ छ । अधिक व्यापार घाटाले देशको चालू खाताको घाटा पनि बढाइदिन्छ र विनिमय दर र देशको मुद्रोको मूल्य घट्न पुग्छ । अन्त्यमा, नागरिकको आय स्तर कम हुने र गरिबी बढ्ने खतरा बढ्ने डा. सलिमको भनाइ छ ।

उनी भन्छन्, ‘व्यापार घाटा कम गर्ने पिटिआई सरकारको दाबी केवल सामाजिक सञ्जालमा देखिन्छ । सरकारको इच्छा त होला घाटा घटाउने, तर सरकारसँग व्यावहारिक रूपमा कुनै बलियो रणनीति छैन ।’

उनका अनुसार, केवल तीन महिनाको व्यापार घाटा नै १२ अर्ब डलर छ भने आवको अन्त्यसम्म पुग्दा कति हुने हो अनुमान गर्न सकिन्छ । 

अर्थशास्त्री खुर्रम यदि व्यापार घाटा जिडिपीको तुलनामा तीन प्रतिशतसम्म रह्यो भने, अवस्था सुधार्न गाह्रो नहुने बताउँछन् । अर्थव्यवस्थामा ग्रोथ र खपतका लागि आयात गर्नुपर्ने हुन्छ, तर यस्तो अवस्थाको आँकडा चार प्रतिशतभन्दा माथि रह्यो भने देशको अर्थव्यवस्थाका निम्ति खतरा हुन जान्छ ।  

देशको अर्थव्यवस्था सुधारका लागि स्थानीय उत्पादन बढाउनुपर्ने खुर्रमको भनाइ छ । यसका निम्ति सुधारका कठोर कदम चाल्नुपर्नेमा सरकारले केही गर्न नसकेकाले पाकिस्तानको आयात खतरनाक बिन्दुमा पुगेको खुर्रम बताउँछन् ।

(बिबिसी) 
 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १२:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया