६ महिनापछि फिर्ता आउने शर्तमा जसपाले टुंगो लगायो ४ मन्त्रीको नाम

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुन आज आफ्ना चार जना सांसदको नाम मन्त्रीको लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पठाएको छ । 

जसपाले मन्त्रीको लागि पठाएको नाममा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रामसहाय यादव र रेणु यादव रहेका छन् । आफ्नो   नेतृत्वमा जसमा सरकारमा सहभागी हुन लागेको श्रेष्ठले बताए । उनीहरुलाई आजै मन्त्री नियुक्त गरी राष्ट्रपतिबाट शपथ गराउने तयारी भइरहेको छ ।  

को कुन मन्त्री ? 

पाँच दलीय गठबन्धनको सहमतिमा जसपाले चार मन्त्रालय र एक राज्यमन्त्री पाउने छ । गठबन्धनको आन्तरिक सहमति बमोजिम जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय पाएको छ । 

स्रोतका अनुसार राजेन्द्र श्रेष्ठले संघीय मामिला तथा सामान्य, रेणुले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र महेन्द्रले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् । 

प्रस्ताव अनुमोदन 



प्रधानमन्त्री देउवा सरकारमा सहभागी हुने जसपाले टुंगो लगाएको ४ मन्त्री पुनः फिर्ता आउने गरी आन्तरिक कार्यविधि पनि बनाइएको छ । स्रोतका अनुसार त्यो प्रस्ताव बमोजिम अहिले मन्त्री बन्नेहरू ६ महिनाभित्र पुनः फिर्ता आउनु पर्नेछ । 

६ महिनाभित्र फिर्ता आउने गरी प्रस्ताव संसदीय दल र कार्यकारिणी समितिबाट अनुमोदन भइसकेको छ । यो प्रस्ताव तयार भएपछि पुनः जसपामा विवाद चर्किएको छ । 



स्रोतका अनुसार यो प्रस्तावको धेरै सांसद तथा कार्यकारिणी समिति सदस्यहरुले समेत यसमा विरोध जनाइरहेका छन् । अहिले पनि मन्त्रीका लागि सिफारिस गरिएका नामहरू मापदण्ड भन्दा विपरीत गएको भन्दै आन्तरिक किचलो बढेको छ । 

मापदण्ड बनाएर मन्त्री बनाउने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको सुझाव विपरीत नै मन्त्री बनाइएपछि आन्तरिक किचलो बढ्दै गएको स्रोतको भनाइ छ ।
 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १५:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया