मन्त्रालय भागवण्डा: गैरसांसदलाई प्रधानन्यायाधीशको कोटा, झाँक्रीदेखि खतिवडासम्मको ‘इन्ट्री’

लामो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ औं दिनमा मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई यसपटक मन्त्रीपरिषद् विस्तार गर्न सकस पर्यो । 

६४ सदस्यीय ‘जम्बो’  मन्त्रिमण्डल गठन गरेर इतिहास रचेका देउवाले यो पटक झण्डै ३ महिनासम्म मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै आलोचना खेप्नुपर्यो । 
पाँच दलीय गठबन्धन बनाएर सरकारको नेतृत्व गरेका देउवाले यो पटकको मन्त्रिमण्डल विस्तारमा पनि आलोचनाको बाटो भने खुलै राखेका छन् । 

सुरुमा गठबन्धनका नेताहरुबीच भएको सहमतिमा एक हुन नसकेपछि पछिल्ला केहीदिन निरन्तर छलफल भयो । हिजो (बिहीबार) झण्डै ३ घन्टा सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार बसेर छलफल गरेका थिए । 

अन्ततः देउवाले सबै असन्तुष्टिलाई साम्य पार्दै आज मन्त्रीहरुलाई नियुक्त गरेका छन् । ​

गैरसांसद हमाल प्रधानन्यायाधीशको कोटामा ! 

२८ असारमा अदालतको परमादेशले देउवालाई प्रधानमन्त्री बनाउँदै गर्दा सबैभन्दा बढी खुसी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल देखिए । 



नेपालको जोडबल र प्रचण्डको साथमा अदालतले प्रधानमन्त्री बनाइदिएपछि देउवा हतार हतार ज्योतिषकोमा पुगेका थिए । उनले ज्योतिसँग साइत हेराएर मात्र बालुवाटारमा आफ्नो पाँचौं इनिङ सुरु गरेका थिए । 

झण्डै ३ महिनासम्म मन्त्रिमण्डललाई टुंगोमा पुर्याउन नसकेको भन्दै देउवाले निकै ठूलो आलोचना खेप्नुपर्यो । 



विगत केहीदिनदेखि प्रधानन्यायाधीशको भागमा पनि मन्त्री दिन लागेको भन्दै खुबै आलोचना भयो । यसैबीचमा सर्वोच्च बारसँग प्रधानन्यायाधीशले बैठक नै राख्नुपर्यो । र बैठकमा भनेका थिए, ‘आफ्नो भागमा कसैलाई मन्त्री बनाउन लागिएको होइन ।’ 

तर, अन्तिममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाल मन्त्रीको सूचीमा समाविष्ट भएका छन् । उनी प्रतिनिधिसभाका सांसद होइनन् ।
उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्रीको जिम्मेवारीमा नाम समाविष्ट भएका हमाल बाँकेबाट कांग्रेसको राजनीतिमा सक्रिय पात्र हुन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका हमाल ०२८ सालमा बाँके, नेविसंघको अध्यक्ष भएका थिए । 

उनले देउवालाई यसअघि नै पार्टी विभाजन गर्दा साथ दिएका थिए । २०५८ सालमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा उनी बाँके सभापति बनेका थिए । गजेन्द्रले कांग्रेस प्रजातान्त्रिक छनोट गर्दा बाँकेका २१ जना महाधिवेशन प्रतिनिधिमध्ये १८ जनाले उनलाई नै साथ दिएका थिए । 

सोही गुन तिर्न पनि अहिले देउवाले उनलाई न्यायालयको कोटाबाट मन्त्री बनाएका हुन् । 

अरु को को कस्ता ? 

केहीदिनअघि नै मन्त्रीहरुको नामावली समावेश गरेको माओवादी केन्द्रले महिलालाई प्राथमिकता दिएको छ । माओवादीले पाएको ५ मध्ये २ जना महिला मन्त्री छन् । यसअघि नै पम्फा भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिएको माओवादी केन्द्रले अहिले शशि श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय दिएको छ ।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी देवेन्द्र पौडेललाई दिइएको छ भने युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी महेश्वर गहतराजलाई दिइएको छ । 
भर्खरै एमालेबाट विभाजन भएर नयाँ दल दर्ता गरेका माधव नेपालले ५ मन्त्री र १ राज्यमन्त्रीसहित आफ्ना नेताहरुलाई मन्त्रिमण्डलमा पुर्याएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकास मन्त्रालयमा रामकुमारी झाँक्री र  स्वास्थ्य तथा जनसंख्यामा विरोध खतिवडालाई मन्त्री बनाइएको छ । 

त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङलाई नेपालले मन्त्री बनाएका छन् । 

यी मध्ये आले र किसान यसअघि नै ओली सरकारको मन्त्री थिए । उनीहरु ओलीको साथ छाड्दै नेपालतिर आएका हुन् । आले पहिल्यैदेखि नेपालनिकट मानिन्थे । तर, पछिल्लो समय पार्टी विभाजनमा ओलीतिर लागेका उनी पछि पुनः नेपालतिर फर्किए । त्यतिबेलै सरकारको प्रतिनिधित्व गर्दा आलेलाई मन्त्री बनाउनेगरी सहमति भएको थियो । 

सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी झाँक्री विद्यार्थी राजनीतिबाट आएकी नेतृ हुन् । ओलीले गरेको प्रतिनिधिसभा विघटनदेखि नै आफूलाई प्रखर वक्ताको रुपमा सभा समारोहमा देखाउँदै आएकी झाँक्री पहिलोपटक मन्त्री बनेकी हुन् । 

झाँक्रीलाई पार्टीमा सचिवको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, यसअघि पटक पटक प्रत्यक्ष निर्वाचित भएर पनि पनि मन्त्री बन्न नपाएका विरोध खतिवडाले यो पटक भने बाजी मारेका छन् । ओलीको विरोधमा खरोरुपमा उत्रने उनी मन्त्री बन्नका लागि ठूलो मिहिनेत गर्नुपरेको नेकपा एकीकृत समाजवादी निकटका नेताहरु बताउँछन् । 

पार्टी विभाजनताका नेपाललाई उनले नजिकबाट सघाएका थिए । 

उता, माउ पार्टी कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । गृह मन्त्रालयमा बालकृष्ण खाँण, परराष्ट्र मन्त्रालयमा नारायण खड्का, सञ्चार, सूचना तथा प्रविधिमा ज्ञानेन्द्रबहादुर कार्की, कानुन न्याय तथा संसदीय मामिलामा दिलेन्द्र बडू, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा उमा रेग्मी रक्षा मन्त्रालयमा मिनेन्द्र रिजाल, खानेपानी मन्त्रालयमा उमाकान्त चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गजेन्द्र हमाल नियुक्त भएका छन् । 

खाँण, खड्का, कार्कीलाई यसअघि नै आफ्नो कोटामा राखेका देउवाले यो पटक फेरि हमाललाई आफ्नो न्यायालयको कोटाबाट थपेका हुन् । कांग्रेसभित्रै अन्तसंघर्षकाबीचमा बडू र रिजाललाई देउवाले पौडेल समूहबाट समाविष्ट गरेका छन् । उता, उमाकान्त चौधरी र उमा रेग्मीलाई सिटौला पक्षबाट देउवाले मन्त्री बनाएका छन् । 

यसअघि परराष्ट्रमन्त्रीमा खड्कालाई नियुक्त गर्दा पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको थियो । अहिलेपनि आफूहरुले ३ वटै मन्त्रालय पाउनुपर्ने पौडेल समूहको माग थियो । यद्यपी पौडेल समूहलाई देउवाले २ वटा मात्र मन्त्रालय दिएका छन् । 

उता, जनता समाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायातमा रेणु यादव, संघीय मामिला तथा सामान्य प्रशासनमा राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमा रामसहाय यादव, कृषि तथा पशुपन्छी विकासमा महेन्द्र यादवले नियुक्ती पाएका छन् । 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १७:१७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया