दसैंमा कसरी गर्ने कपडाको छनौट ?

हिन्दुहरुको महान् चार्ड दसैं । दसैंमा किनमेलको बेग्लै चटारो हुन्छ । दसैंका लागि मानिसहरुले नयाँ पहिरनमा ठूलो रकम खर्च गर्छन् । हरेक साल कस्ता पहिरन लगाउने भन्ने कुराले कपडा किन्ने बेला धेरैलाई तनाव दिने गरेको छ । 

दसैंको सपिङमा धेरैजसो मानिस हेभी पहिरन लगाउन खोज्छन् । तर, नौरथा सुरु भएपछि नै मन्दिर जाने क्रम सुरु हुन्छ । यो क्रम नौ दिनसम्म चल्छ । वर्षभरि टाढिएका आफन्त जम्मा हुने हुनाले दसैं रमाइलोका लागि नाचगान गर्नुका साथै घरमा धेरै मानिस जम्मा पनि हुन्छन् । पारिवारिक घुमघामको समय पनि यही हो । 

त्यसैले दसैंको कपडा सपिङ गर्दा हल्का खालका रोज्दा राम्रो हुन्छ । कलर र स्टाइलमा फेस्टिभ लुक्स आउने गरी हल्का फेब्रिकमा सजिलो पहिरन नै सजिलो हुन्छ । दसैं भन्दैमा धेरै झिलिमिली नै लगाउनु पर्छ भन्ने छैन । धेरै भड्किलो कलर उपयुक्त पनि हुँदैन । 

हल्का कलर र फेब्रिकमा नेट, जर्जेटमा स्टोन वर्क, थ्रेड वर्क तथा बोर्डर वर्क प्रयोग गर्दा आकर्षक देखिन्छ । लगाउँदा सजिलो पनि हुन्छ । साडीलाई पनि लेहेँगा स्टाइलको बनाएर लगाउन सकिन्छ । टिनएजरहरूका लागि जिन्समा एचेट गरी साडी स्टाइलको पहिरन युनिक देखिन्छ । 

शरीर अनुसारको पहिरन

भनिन्छ, ‘लाको र खाको सबैलाई सुहाउँछ ।’ मिलाएर लगाउन जान्ने हो भने जसलाई जस्तो पहिनमा पनि सुन्दर देखिन्छ । तथापि आफ्नो शरीर र वर्ण अनुसारको पहिरन गर्दा अझै धेरै सुन्दर र आकर्षक देखिन्छ । 



जुनेली बुटिककी ड्रेस डिजाइनर सुनिता उप्रेतीका अनुसार कालो वर्णका युवतीहरू पहेँलो कुर्तामा बेबी पिंक सल र जिन्स लगाउँदा निकै आकर्षक देखिन्छन् । यो पहिरनमा उनीहरु युनिक पनि देखिने उनको भनाइ छ । 

मोटा युवतीहरुलाई भने ठूला फ्लावरी प्रिन्ट नलगाउन सुनिता सुझाव दिन्छिन् । मोटा युवतीका लागि एउटै कलरको सानो प्रिन्ट मिलाएर लगाउँदा आकर्षक देखिने उनको भनाइ छ । दसैंमा झिलिमिली रातो भन्दा सोबर ब्राइट कलरको पहिरन ठीक हुन्छ । लङ कुर्तीमा चुज पाइन्ट पनि उपयुक्त हुने सुनिताको बताउँछिन् ।  



सुनिता भन्छिन्, ‘फेस्टिभलका लागि गला र हातमा इम्ब्रोइडरी गरी तयार पारिएका पहिरनले पनि रिच लुक्स दिन्छ, दसैंसँगै चिसो सुरु हुने भएकाले स्कार्फ, छोटो ज्याकेट वा कोट लगाए स्मार्ट देखिन सकिन्छ ।’

सुनिता थप्छिन्, ‘प्लेन कुर्तामा इम्ब्रोइडरी सल, इम्ब्रोइडरी पर्स, जुत्ता, ज्वेलरी तथा मेकअपले क्लासिक लुक्स दिन्छ । प्लेन फेब्रिकमा लेस वर्क, सेप वर्क तथा रिच देखिने फेब्रिकहरूमा कुर्ता वा गाउन स्टाइलको वान पिस लगाउन सकिन्छ ।’

टिनएरजका लागि पहिरन

केटाकेटीपछि सबैभन्दा धेरै टिनएजरलाई दसैं रमाइलो लाग्छ । दसैंका कपडा किन्दा आफ्नो उमेरलाई पनि ध्यान दिनुपर्ने नोभा फेसन हाउसकी मीरा महर्जन बताउँछिन् । टिनएजरहरुका लागि लेहेँगा, साडी, लङ कुर्ती, विथ पाइन्ट, प्लाजो तथा फ्लोर लङ अनारकल्ली लगाउँदा उपयुक्त हुने मीराको भनाइ छ । 

अनारकल्लीलाई हाइट, मोटाइ तथा स्किनको टोन अनुसार धेरै तरिकाबाट मोडिफाई गरेर तयार पार्न सकिन्छ । लङमा माथि नेट दिएर, मोडर्न टच दिन सकिने मीराले बताइन् । टिनएजरका लागि कुनै विशेष कलर नहुने, तर रातोभन्दा सुन्तला कलर, पहेँलो, पिच तथा गोल्डेन र ब्लु कलर बढी रुचाउने उनको भनाइ छ । 

मीरा भन्छिन्, ‘टिनएजरका लागि फेब्रिकमा सफ्ट नेट, जर्जेट तथा ब्रोकेट उपयुक्त हुन्छ । यसपटक फेरि अनारकल्लीको फेसन भित्रिएको छ । अनारकल्लीमा सफ्ट नेट नै बढी खुल्छ । नेटमा अनारकल्लीको घेरा र फिनिसिङ आकर्षक देखिन्छ । यो उमेरका लागि लङ स्कर्टमा सर्ट ज्याकेट पनि चल्तीमा छ । सिल्कमा थ्रेड वर्क वा मोती वर्क गरेर छोटा ज्याकेटसमेत लगाउन सकिन्छ ।’

बालबालिकालाई नयाँ लुगा

दसैं सबैभन्दा रमाइलो बालबालिकालाई नै हुने गर्छ । सबैभन्दा धेरै रमाउने पनि उनीहरु नै हुन् । दसैंमा नयाँ लुगाको महत्व पनि बालबालिकालाई हुन्छ । उनीहरु घरमा जे जे भए पनि लुगामा निकै रमाउँछन् । 

सबै अभिभावक आफ्ना छोराछोरीलाई खुसी राख्न चाहान्छन् । ६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई भेल्भेटका कपडामा ग्याडर चोलीवाला फ्रकमा गोल्डेन स्प्रिङ, विड्स तथा स्टोन प्रयोग गरेर पहिरन बनाउँदा राम्रो देखिने फेसन डिजाइनर मञ्जु बञ्जारा बताउँछिन् । मञ्जु भन्छिन्, ‘भेल्भेटकै फ्लावर एट्याच हेडब्यान्ड तथा क्लिपहरू लगाइदिँदा उनीहरू परीजस्तै देखिन्छन् । त्यसको साथमा सिल्क, नेटमा भित्री सिल्क राखेर फेयरवाला फ्रक र त्यसैमा म्याच हुने हेडब्यान्ड बनाइदिनु पर्छ ।’

३ वर्षदेखि ७ वर्षसम्मका बालबालिका जस्तो पहिरनमा पनि सुन्दर देखिन्छन् । तैपनि दसैंमा आफ्ना बालबालिकालाई विशेष बनाउने चाहना सबै आमा–बाबुको हुन्छ । उनीहरुलाई  अनारकल्ली लेहेँगा, स्लिभलेस, हल्टर, ब्लाउज विथ नेट चोली राम्रो देखिन्छ । यो उमेरका बालबालिकाहरु अलि बढी चल्ने, दौडने र खेल्ने गर्छन् त्यसैले यो उमेर समूहका बालबालिकाका पहिरन तयार पार्दा कम वर्क र इम्ब्रोइडरी पनि कम गर्नु पर्ने मञ्जु बताउँछिन् । यो उमेरका बालबालिकाका लागि धोती स्टाइलका सुरुवाल तथा छोटो कुर्ता पनि आकर्षक देखिन्छ । 

८ देखि १२ वर्ष उमेर समूहका बालिकाहरुले धेरै रुचाउने पहिरन गाउन हो । गाउन नेट वा जर्जेटकै राम्रो हुने मीराको सुझाव छ । अम्ब्रेला कुर्तामा पनि यो उमेरका बालिकाहरु निकै सुन्दर र आकर्षक देखिन्छन् । अम्ब्रेला कुर्तामा नेट र भेल्भेट फेब्रिक मिक्स गरेर विड्स एन्ड सिक्वेन्स, स्टोन वर्क गर्नुपर्छ । यो उमेरका बालकहरुका लागि पठानी र शेरवानी निकै आकर्षक देखिन्छ । पठानीमा हल्का प्लेन कपडाको कुर्ता र सलवार बनाएर वेस्टकोटमा भने भेल्भेट फेब्रिकमा विड्स तथा स्प्रिङ वर्क गराउनुपर्छ । वेस्टकोटका लागि डार्क पर्पल, डार्क रोयल ब्लु तथा मरुन सुट गर्छ । 
 

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार ११:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया