प्रसव पीडा र खुुसी
चिसोको एलर्जी मातृत्वको उपहार भएर आयो
फरकधार / २४ असोज, २०७८

मास्टर्स पढ्दै गरेकी एउटी युवतीका आँखामा के–के सपना अटाउँनु पर्थ्याे ? के–के सपना सजाउनु पर्थ्यो उसले आफ्नो मनमा । उसका सपनामा सँगै हैसे गरिदिने समाज निर्माण भैसक्यो ? अँह ! भैसकेको थिएन । त्यसैले डिग्री पढ्दै गरेकी ज्योतीको कवि मनले पनि ठूला ठूला सपना संगाल्न जानेन । 



उनको सपना भन्नुनै बजारमा आएका नयाँ साहित्यिक किताब पढ्नु । साहित्य सिर्जना गर्नु थियो । हरेक किताब किन्ने पैसा हुँदैनथ्यो । कविता लेखिरहँदा पढाइ बिग्रेला भन्ने चिन्ता । त्यसैले उनका यी दुबै सपना भनौं या रहर छायाँमा परे । 

आमा, भाउजु र दिदीहरुको दिनचर्या हेर्दै एक्लै टोलाउँथिन् । उनलाई लाग्यो ‘जिन्दगीमा कसैसँग मागेर गुजारा गर्नु नपरोस् ।’ उनी आफ्नो मात्रै होइन समग्र महिलाको स्वावलम्बी जीवनको कल्पना गर्थिन् । त्यतिबेला महिलाले आफ्नै खुट्टामा उभिने कल्पना गर्नु पनि ठूलो कुरा थियो । धेरै छोरीचेलीका लागि पढ्न पाउँनु नै सपना थियो, ग्रामीण भेगमा । त्यही सपनाको फेर समातेर दौडिरहेकी ज्योतिको घरमा पनि बिहेको चर्चा चल्यो । 

उनका धेरै दिदी बहिनी । दिदीहरुको बिहे भैसकेको थियो । ज्योतीको अडान थियो, ‘म स्नातकोत्तर नसकी बिहे गर्दिनँ ।’ मसिंरमा बिहेको कुरा आउँदा ज्योतीका बुवाले भनेका थिए, ‘पढ्छु भनेकी छ, अहिले नदिउ होला ।’ तत्काललाई बिहेको सम्भावना टर्‍यो । तर लामो समय टरेन । त्यहि वर्षको फागुनको सुरुतिर नारायण पौडेलसँग उनको बिहे हुने पक्का जस्तै भयो । ज्योतीलाई लाग्यो, ‘देख्दै नदेखेको मान्छेसँग कसरी बिहे गर्नु । एकपटक भेट्नु पर्छ ।’ 



फागुनको दोस्रो सातातिर नारायण र ज्योतीले पहिलोपटक भेट गरे । भेटमा ज्योतीले भनेकी थिइन्, ‘म पढाइ पूरा गर्न चाहान्छु । वैवाहिक जीवनले मेरो पढाइमा बाधा गर्नु हुँदैन ।’ नारायणले सहमति जनाए । फागुनको अन्त्यमा उनीहरुको बिहे भयो । 

बिहेपछि जागिर

नेपाली समाजमा सामान्यतया एउटी छोरी मान्छेको विवाहपछि करिअर सकिन्छ । प्राथमिकतामा घर पर्छ । परिवार पर्छ । संस्कार धानिदिने ठेक्का पर्छ । यी सबै कुरामा रुमलिएर हराउँछन् आफ्नै आत्मनिरर्भरताका कुरा । स्वाभिमानका कुरा । ज्योतीको हकमा भने यो भएन । हुन त उनले बिहेअघि पनि मास्टरको जागिर गरेकी थिइन् । बिहेपछि भने बैंककी कर्मचारी भइन् । ज्योतीले बिहेअघि दिएको परीक्षाको रिजल्ट विवाहपछि आयो । जागिरे जीवन र वैवाहिक जीवन करिब एक महिनाको अघिपछि सुरु भए । कुनै एकलाई जोगाउन एकलाई छोड्नु परेन । दुबैलाई सँगसँगै अगाडि बढाइन् । 

दुई वर्षपछि आमा

जागिरे जीवन । पढाइको चाप । बिहे गरेको दुई वर्ष समय गुज्रदै थियो । त्यो समय पनि त्यस्तै थियो । बिहे गरेको एक दुई वर्षमा प्रायले बच्चा जन्माइसकेका हुन्थे । ज्योतीलाई पनि आफन्तले प्रश्न गर्न सुरु गरिसकेका थिए । ज्योती र उनका श्रीमानले पनि आमा–बाबु बन्ने योजना बनाए । पछाडि फर्केर हेर्दा ज्योतीलाई लाग्थ्यो, ‘त्यतिबेला बच्चा नजन्माएर पढेर माथिल्लो पोस्टका लागि जागिरमा प्रयास गर्नु पर्ने रहेछ ।’ तत्काललाई भने उनलाई पनि अब समय भयो बच्चा हुर्किन्छ भन्ने सोचाइ आयो । यहि सोचाइकै कारण बच्चाको प्लानिङ गरेका थिए । 

त्यतिबेला ज्योतीका श्रीमानको जागिर झापाको घैलाडुब्बामा । ज्योती विराटनर । अब आमा बन्दैछु भनेर थाहा पाउँदा श्रीमान साथमा थिएनन् । समय अहिलेको जस्तो उदार भैसकेको थिएन । ज्योतीले आफ्नो नियमित चेकअप पुरुष डाक्टरसँग गराउने हिम्मत गर्न सकिनन् । विराटनगरमा त्यसबेला डा.कुसुम थापाको निक्कै नाम चलेको थियो । उनी त्यही पुगिन् चेकअपका लागि । अस्पतालमा अहिले जस्तो सिस्टम थिएन । एउटा डाक्टर । बिरामी धेरै । अघिल्लै रातबाट लाइनमा बसेर चेकअप गराएको सम्झिदा उनको मन अहिले पनि अमिलो हुन्छ । 

गर्भवती अवस्थाका सुरुका तीन महिना उनलाई निक्कै गाह्रो भयो । पानी पनि पेटमा परेपछि डबल भएर फर्किन्थ्यो । घरमा सजिलै थियो । खायो, बमिट ग¥यो । अफिसमा सहकर्मीबाट लुक्न गाह्रो थियो । उनी पानी खान्थिन् र बाथरुम जान्थिन् । यो क्रम ३ महिना चल्यो । ज्योतीका घरमा भाउजु धेरै । उनले भाउजुहरुको गर्भवती अवस्थादेखि त्यो समयका अप्ठ्यारा, रोमाञ्चकता सबै हेरेकी थिइन् । त्यसैले पनि अप्ठ्यारो समयमा उनले आफूलाई सम्हालिन् । सोचिन्, ‘यो सामान्य हो । सबैलाई हुन्छ । केही समयपछि ठीक हुनेछ ।’

गर्भवती अवस्थामा धेरै महिला कमजोर महसुस गर्छन । ज्योतीलाई भने ठीक उल्टो आफू झन् बलियो भएझैं लाग्थ्यो । तर, मानसिक रुपमा भने उनी अरुका अप्ठ्याहरुसँग डराउँथिन् । बाटोमा हिँड्दा फरक क्षमताका केटाकेटी देख्दा डर लाग्थ्यो । दुःख पाएर बाटोमा बसेका बच्चा देख्दा मन रुन्थ्यो । यो डर कसरी पस्यो मनमा थाहा छैन । तर बच्चा नजन्मदासम्मै उनभित्र यो डर मडारिरहन्थ्यो । 

श्रीमान घैलाडुब्बामा । उनी विराटनगर । गर्भवती अवस्थामा श्रीमान् श्रीमती सँगै हुन पाएनन् । डेलिभरी समय नजिकिदै गर्दा ज्योती अत्तालिन्थिन्, सोच्थिन् ‘यो समय पनि एक्लै भए भने त मेरो बिजोग हुन्छ ।’ घरबाट अस्पताल टाढा थियो । माइतीबाट नजिकै भएपनि माइतीमा गएर बच्चा पाउँनु हुँदैन भन्ने मिथक । बच्चा जन्माउने उपयुक्त स्थान विराटनगर नै थियो । सुत्केरी हुने झण्डै एक महिनाअघि मात्रै उनका श्रीमानले जागिर सरुवा गरेर विराटनगर आए । गर्भवती अवस्थामा उनीसँग उनकी कान्छी बहिनी साथमा थिइन् । दिदी बहिनीको साथ यसै पनि मीठो हुन्छ । झन् त्यतिबेलाको त्यो साथ अहिले पनि सम्झिरहन्छिन् ज्योती । 

घर र अफिसको दुरी नजिकै । तीन महिनापछि स्वास्थ्यका हिसाबले पनि उनलाई खासै समस्या भएन । नियमित अफिस जान्थिन् । अफिसियल वातावराण अहिलेजस्तो सजिलो थिएन । गर्भवती अवस्थाको पेट देख्दा पुरुष कर्मचारीहरु कानेखुसी गर्थे । गर्भवतीको पेटमा हेर्ने, अर्को पुरुषसँग आँखा जुधाउने गर्थे । यो दृष्य आज पनि ज्योतीका आँखामा नाचिरहन्छ । समय र मानिसको मानसिकता परिवर्तन हुँदै गयो । अहिले गर्भवती महिलालाई पुरुष सहकर्मीहरुले पनि निक्कै आदर गर्छन् । फेरिएको पुरुष मानसिकताकासँग खुुसी लाग्छ ज्योतीलाई । 

पेटको बच्चासँग वार्तालाप

गर्भवती अवस्थाको समय बढ्दै गयो । बच्चाको हार्टबिट आयो । सुरुमा उनको पेटको बच्चा ‘फुरफुर’ गरेर चल्थ्यो । पछि बच्चाले मुभ गर्न थाल्यो । यो समय उनलाई निक्कै खुसी लाग्थ्यो । त्यो खुसी शब्दमा कसरी व्यक्त गरिन्छ थाहा छैन उनलाई । एक्लै हुँदा ज्योती पेटको बच्चासँग वार्तालाप गरेर बस्थिन् । भन्थिन्, ‘आम्मामा कत्ति साह्रो कुदेको हौँ ?’

शनिबारको दिन थियो । अघिल्लो दिनसम्म ज्योती नियमित रुपमा अफिस गैरहेकी थिइन् । शनिबार बिहानैबाट पेट दुख्न सुरु भयो । श्रीमान् श्रीमती मिलेर खाना बनाए । खाए । केहिबेर बाटो हेरिन् ज्योतीले । पेट दुख्न छोडेन । उनी कोसी अञ्चल अस्पताल भर्ना भइन् । १२ घण्टा लामो प्रसव ब्यथा लाग्यो । प्रसव ब्यथाको समयमा पनि उनले दुख्नु, पीडा हुनु सामान्य कुरा भन्ने ठानिन् । तर, दुखाई बढ्दै जाँदा सोच्थिन्, ‘भगवान मेरी छोरी नहोस् । छोरी जन्मिइन् भने उनले पनि भोलि यहि दुखाईबाट गुज्रनुपर्छ । छोरा भयो भने कम्तीमा यो दुखाइ त भोग्नु पर्दैन ।’

कोसी अञ्चल अस्पतालका नर्सहरुले त्यो बेला निक्कै राम्रो व्यवहार गरें । ज्योतीले पनि प्रसुती वार्डमा आफन्त भैदिए हुन्थ्यो भन्ने चाहाना राखिनन् । उनी सोच्थिन्, ‘आफैं बल नगरी हुँदैन । अरु नजिकै भएर पीडा हेर्नुले के अर्थ राख्छ र !’

छोरो देख्दा अचम्म

प्रसव ब्यथा पार गरिन् । ज्योतीले पहिलो पटक छोरालाई जन्म दिइन् । उनी आमाको रुपमा पुनः जन्मिइन् । पहिलो पटक आफ्नो छोरो देख्दा उनलाई अचम्म लागेको थियो । सोचेकी थिइन्, ‘कसरी ज्युदो मान्छे जन्माए होला ।’ 

ज्योतीलाई प्रसुती वार्डमा लैजाँदा उनका श्रीमान् बाहिर थिए । उनले छोरो जन्माइसक्दा पनि यो खबर श्रीमानसम्म पुर्‍याइदिने कोहि भएनछ सायद । ज्योती र छोरालाई लिएर नर्स बाहिर निस्कदा उनका श्रीमान् एक्कासी आत्तिए । रातको समय थियो । श्रीमान् आत्तिएको देखेर ज्योतीले हाँस्दै भनिन्, ‘किन आत्तिनु भएको ? सबै त भैसक्यो । हेर्नुस त छोरो ।’ त्यसपछि उनका श्रीमानले घर गएर ज्वानोको झोल र खानेकुरा बनाएर लिएर आए । 
 
स्तनमा निप्पल आएन

छोरो जन्मियो । नर्मल डेलिभरी भयो । ज्योतीले सबै प्रसव पीडा भूलिसकेकी थिइन । पीडा त बाँकी नै रहेछ । ३ दिनसम्म दूध आएन । अर्को दूधमा निप्पल नै भेटिएन । बच्चाले दूध खान जानेन । त्यसबेला ज्योतीलाई लागेको थियो, ‘डाक्टरले, आफन्तले पनि पहिलादेखि सिकाइदिएको भए हुन्थ्यो ।’ त्यतिबेला ल्याक्टोजिनहरुको प्रचलन थिएन । उनले छोरालाई गाईको दूध खुवाइन् । बच्चाले पचाउन सक्दो रहेनछ । फेरि जन्मने बित्तिकै खाएको खानेकुराको असर बच्चाको जिन्दगीभरी पर्दो रहेछ । त्यो असर उनको छोरामा अहिले पनि बाँकी छ । 

अस्पतालबाट घर फर्किदा उनी रिक्सा चढेर गइन् । उनको काखमा छोरो थियो । उनलाई लागेको थियो ‘म संसारकै सबैभन्दा ठूलो चिज बोकेर घर जाँदैछु । मनमा हे दुनियाँ हेर मेरो खुसी’ भन्ने जस्तो खुसी दौडिरहेको थियो । घरमा पुगिन् । बच्चा लिएर घर पुग्दा त्यतिबेला अहिलेको जस्तो सेलिब्रेट गर्ने, फोटो खिच्ने चलन थिएन । सुत्केरो पर्‍यो भन्ने, बार्ने चलन थियो । अहिले फर्किएर हेर्दा उनलाई लाग्छ, ‘सेलिब्रेसनको त्यो पाटो छुटेछ ।’

मातृत्वको उपहार 

२०५४ सालमा तराईमा लामो शीतलहर चल्यो । त्यो शीतलहर सुरु हुनु र ज्योती सुत्केरी हुनु एकैपटक भयो । २२ दिनसम्म शीतलहर गएन । घामको झुल्को कतै देखिएन । चिसोबाट बच्न निक्कै गाह्रो भयो । त्यसबेलाको शीतलहरको असर अहिले पनि ज्योतीका आमा छोरा नै भोगिरहेछन् । चिसो मौसम सुरु हुनासाथ चिसोको एलर्जी पनि सुरु हुन्छ । ज्योती भन्छिन्, ‘चिसोको एलर्जी मातृत्वको उपहार भएर आयो ।’

त्यसबेला सुत्केरीलाई भुइँमा सुताउने प्रचलन थियो । उनी पनि दुईदिनसम्म भुइँमै सुतिन । शीतलहरले मौसम यसै चिसो । त्यसमाथि भुइँको सुताई । दुईदिनपछि उनका अपिसका साथीहरु आएर खाटमा सारिदिए । उनी तीनदिनपछि खाटमा सुतिन् । चिसोका कारण बच्चाका थाङ्ना सुक्दैनथे । अफिसका दिदीहरुले त्यो बेला ल्याइदिएको सारीको सम्झना अहिले पनि आउँछ ज्योतीलाई । 

छोरो रोएको सुन्दा खुसी

महिला कर्मचारीलाई २ महिनाको सुत्केरी बिदा थियो । दुई महिनापछि उनी पनि अफिस गइन् । घरमा बच्चा हेर्ने एकजना सहयोगी राखेकी थिइन् । सहयोगीलाई बच्चा छोडेर अफिस जान्थिन् । त्यतिबेला काम पनि ठेक्का जस्तो थियो । यो मान्छेले यति बण्डल पैसा गन्ने भन्ने हुन्थ्यो । उनी आफ्नो भागको काम सक्थिन् र फर्किन्थिन् । अघिपछि १५ मिनेट लाग्ने बाटो उनी ७ मिनेटमा पार गर्थिन् । घरको बाहिर पुग्दा छोरो रोएको आवाज सुनियो भने उनलाई छुट्टै खुसी मिल्थ्यो । उनलाई लाग्थ्यो, ‘बच्चा रोइरहेको छ । ठीकै रहेछ ।’

छोरो घरमा छोडेर अफिस जाँदा मानसिक रुपमा गाह्रो हुन्थ्यो । घरको काम, बच्चाको स्याहार, अफिसको काम गाह्रो त हुन्थ्यो । तर, सेल्फ सस्टेन ठूलो कुरा रहेछ । महिलालाई ‘सेल्फ सस्टेन’ ले ठूलो आत्मविश्वास दिँदो रहेछ । तथापि उनका श्रीमान् निक्कै सहयोगी थिए । उनले कहिल्यै यो महिलाको काम भनेर छुट्याएनन् । भ्याएको र सकेको हरेक काम सघाउँथे । त्यसैले पनि छोरो हुर्काउन ज्योतीले आफ्नो करिअर छोड्नु परेन । 

३ वर्षमा छोरी

छोरा ३ वर्षका हुँदै थिए । ज्योतीले अर्को बच्चाको प्लानिङ गरेकी थिइनन् । उनकी दिदीकी  एउटी छोरी थिइन् । १० वर्षमा दिदीकी छोरी मेनेन्जाइटिस भएर बितिन् । दिदीको काख रित्तो भयो । अनि ज्योतीलाई लाग्यो, ‘अर्को बच्चा पनि चाहिन्छ ।’ यहि बेला उनको पेटमा छोरी आइन् । 

उनी ८ महिनाकी गर्भवती  हुँदा राजदरबार हत्याकाण्ड भयो । गर्भावस्थाको समयमा लास हेर्नु हुँदैन भन्ने मिथकबाट गुज्रिरहेकी ज्योतीलाई त्यो समय निक्कै गाह्रो भएको थियो । राजपरिवारको फोटो हेर्न पनि डर लाग्थ्यो । नहेर्दा पनि मन मान्दैनथ्यो । उनले हिम्मत गरेर टिभीमा शव यात्रा हेरिन् । तर, मनमा डर भने थियो । 

दोस्रो पटक भने उनलाई ९ महिना नै बमिट भयो । पहिलो छोरा थिए । दोस्रो छोरी होस् भन्ने थियो । छोरी नै भइन् । यसपटक पनि नर्मल डेलिभरी भयो । जन्मिदा छोरीको टाउको एक साइड थियो । टाउको सिधा हुँदैनथ्यो । धेरै डाक्टर कहाँ पनि देखाइन । सात महिनासम्म उनलाई छोरी सम्झेर निद्रा लाग्दैनथ्यो । सोच्थिन्, ‘मेरी छोरीको टाउको सिधा नै नहुने हो की ।’ तर, छोरी बस्न थालेपछि टाउको आफैं सिधा भयो । छोरीको पालामा उनकी कान्छी नन्द साथमा थिइन् । 

अहिले उनका छोराछोरी हुर्किसके । कलेज पढ्ने भए । आफ्नो जिन्दगीका सपनाको खाका आफैं बनाउने भए । दुबै ज्ञानी छन् । तर, उस्तै संस्कार र सुविधा दिएर हुर्काएपनि छोरा र छोरीको व्यवहार फरक हुँदोरहेछ । छोराले गर्ने केयर र छोरीले गर्ने केयर फरक हुँदो रहेछ । हिजोआज ज्योती सोच्छिन्, ‘त्यो बेला छोरी नजन्मियोस् भनेर गरेको कामना गलत रहेछ ।’


 

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १२:५०:११,   अन्तिम अपडेट : असोज २४, २०७८ आइतबार १३:४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया