अर्थमन्त्रीको प्रस्ताव: उद्योग नबढाउने भए डण्डीमा लगाइएको ३० प्रतिशत अन्तःशुल्क हटाउने

बजेट कार्यान्वयनका विषयमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगी तथा व्यापारीहरूसँग छलफल गरेका छन् । 

आईतवार अर्थमन्त्री शर्माले आयातित स्टिल बिलेटमा अन्त शुल्क बढाएपछि दुई ध्रुवमा बाँडिएका डण्डी उद्योगी तथा व्यापारीहरूसँग छलफल गरेका हुन्। 

छलफलका क्रममा अर्थमन्त्री शर्माले उद्योग नबढाउने भए डण्डीमा लगाइएको ३० प्रतिशत अन्तःशुल्क हटाउने प्रस्ताव गरेका थिए । 

 
‘हामीले उद्योग नबढाउने हो भने  तपाईहरु पनि सहमति गर्नुहोस्, हामी पनि छलफल गर्नेछौँ, अब ३० प्रतिशत डण्डीमा अन्त शुल्क लागेको छ, त्यो हटाइदिन्छौँ । डण्डी ल्याऔँ बेचौँ, नाफा जोगाउन पाइहालिन्छ । यो सबैलाई मान्य होला जस्तो मलाई लाग्छ,’ अर्थमन्त्री शर्माले भने, ‘विद्युत खपत कति, भ्याल्यूएशन कति, श्रमिकहरुको अवस्था कस्तो, रोजगारी के र कति हुन्छ सचिवसँग तत्काल छलफल गरेर तपाईहरु एउटा रिपोर्ट बनाउनुस्, त्यसपछि हामी फेरि बसेर छलफल गरौँला ।’ 

छलफलमा ज्योती समूहका उपाध्यक्ष डा.रुप ज्योतीले प्रतिस्थापन विधेयक डब्लुटिओको सिद्धान्त विपरित भएको बताए । उनले अहिले प्रतिस्थापन विधेयक मार्फत् दिइएको छुटले राष्ट्र र जनतालाई खतरा रहेको समेत जनाए । 

उपाध्यक्ष ज्योतीले भने, ‘डब्लुटिओको सिद्धान्त विपरित कदम चालिएको छ,  यसकारण जुन अहिले छुट दिइएको छ, त्यो डब्लुटिओको सिद्धान्त विपरित छुट दिइएको छ । यो राष्ट्रका लागि खतरा छ, छुट दिएको छुट हेरेर लगानी गर्नेहरुको लगानी संकटमा पर्छ ।’ 



सौरभ समूहका चेयरम्यान विष्णु न्यौपानेले केही उद्योगीहरुले आफ्नो स्वार्थपूर्ति भएपछि अरुको व्यवसायलाई नराम्रो तर्क गरेको बताए । उनले अहिले सरकारले आफूहरुलाई दिएको ८ प्रतिशतको प्रोटेक्सन स्वागतयोग्य रहेको बताए । 

छलफलमा रोलिङ मिल एशोसिएशनका उपाध्यक्ष किरण शाखले आफूहरुलाई बाँच्ने वातावरण मिलाइदिन अर्थमन्त्रीसँग आग्रह गरेका थिए । आफूहरु बजारमा नभएको बेला छडहरूको मूल्य वृद्धि भइरहेको बताउँदै यस उद्योगमा आफूहरु पनि बस्न पाउने व्यवस्था मिलाउन अनुरोध गरे । 



‘हामीलाई पनि सर्वाइभ गरिदिनुपर्यो । हामी मार्केट नहुँदा पनि छड, डण्डीहरुको मूल्य वृद्धि भइरहेको छ, यो भनेको हामी बजारमा भएको बेला घटाउने नत्र बढाएर नाफा खाने काम हो । त्यसैले हामी पनि यस उद्योगमा बस्न पाउँ, सर्वाइभ गराइदिनुहोस्, ’ उपाध्यक्ष शाखले भने । 

त्यस्तै उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले बिलेटलाई फिनिस्ट प्रोडक्ट जस्तो गरेर विवाद निकालिएकामा चिन्ता गरे । 

सरकारले प्रतिस्थापन विधेयक मार्फत् छड उत्पादन गर्ने कच्चा पदार्थ ‘स्पञ्ज आइरन’को भन्सार शुन्य बनाउनुका साथै बिलेटको अन्तःशुल्क बढाएको भन्दै स्टिल उत्पादकहरु विभाजित भएका छन् । विदेशबाट बिलेट आयात गरेर डण्डी बनाउनेहरुले सरकारले ल्याएको प्रतिस्थापन विधेयकको बिरोध गरेका छन् । स्वदेशमै बिलेट उत्पादन शुरु गरेका व्यवसायीहरुले सरकारको कदमलाई स्वागत गरिरहेका छन्। 

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १९:३८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया