रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर ४ जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका तीन जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । सुरक्षाकर्मी र मोतीपुर औद्योगिक क्षेत्रका सुकुम्बासीबीच भएको झडपमा परेर १३ जना घाइते भएका थिए ।
घाइतेमध्ये ४ जनाको उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पु¥याउने क्रममा मृत्यु भएको हो । युनिभर्सल मेडिकल कलेजका जन सम्पर्कअधिकृत सुशिल गुरुङले अस्पताल ल्याउँदै गरेको अवस्थामा तीन जनाको र एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
'गोली लागेर घाइते भएका १३ जनालाई उपचारका लागि यहाँ ल्याइएको थियो । ति मध्ये तीन जनाको बाटोमै मृत्यु भइसकेको रहेछ । एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।' उनले भने ।
मृतकमध्ये एक जना ४८ वर्षीय रमेश परियारको मात्र सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी रहेको जनसम्पर्क अधिकृत गुरुङले बताए । अहिले ९ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ जना सुरक्षाकर्मी रहेको उनले बताए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।
घाइतेमध्ये सर्वसाधारणको खुट्टा, छाती लगायतका शरिरका विभिन्न भागमा गोली लागेको छ । अहिले उनीहरुको अप्रेशन गरेर भित्र पसेको गोली निकाल्ने काम भइरहेको उनले बताए ।
सशस्त्र प्रहरी तर्फ भने स्थानीयले हानेको ढुंगा लागेको छ । सशस्त्र प्रहरीको अवस्था सामान्य छ भने गोली लागेका सर्वसाधारणको अवस्था गम्भीर छ ।
सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै सुरक्षाकर्मीले हटाउने क्रममा झडप भएको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनकारीले ढुंगा–मुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर गरिएको रुपन्देही प्रहरीले जनाएको छ । झडपपछि स्थानीय प्रशासनले आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश समेत जारी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।