भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायात व्यवस्था कार्यालय जनकपुरका दुईजना कर्मचारीमाथि कारवाही गर्न पत्र काटेको छ ।
मन्त्रालयले यातायात कार्यालय जनकपुरमा कार्यरत करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलीप साहलाई कारवाही गर्न यातायात व्यवस्था कार्यालयलाई पत्र काटेको हो ।
गत असोज १९ गते मंगलबार साँझ उनीहरु दुबैजनाको आइडीबाट केही व्यक्तिहरुको अनलाइन फाराम एडिट भएकोले उनीहरु दुवैजनालाई त्यहाँबाट आवश्यक कारवाही गरी मन्त्रालयलाई जानकारी गराउन भनिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक कुमार दासले जानकारी दिए ।
उनीहरु दुवैजना करारका कर्मचारी रहेकोले मन्त्रालयले कारवाही गर्न नमिल्ने जनाउँदै यातायात कार्यालयलाई नै कारवाही गरेर पठाउन भनिएको सचिव दासले बताए ।
भीष्म नारायण साह र दिलिप साहको आइडीबाट केही व्यक्तिहरुको फाराम एडिट गरिएको कुरा यातायात व्यवस्था विभागमार्फत नै आफूहरुलाई जानकारी भएको उनले बताए ।
यस सम्बन्धमा यातायात कार्यालय जनकपुरका निमित्त प्रमुख वीरेन्द्र साहले कार्यालयसँग मन्त्रालयले कर्मचारीद्वय भीष्म नारायण साह र दिलीपलाई कारवाही गर्न पत्र काटेको बताउँदै उनीहरुमाथि आवश्यक छानविन भईरहेको जानकारी दिए । उनले निजामती सेवा ऐनको नियम कानून अनुसार दुबैजनामाथि कारवाही गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।