दशैंमा जाने होइन घुम्नलाई सुर्खेत, यी ठाउँ नछुटाउनु

दशैं तिहारका बेला केही फुर्सदिला सबै हुन्छन् । यही फुर्सदको बेला अधिकांशको रोजाई घुमघाम हुन्छ । तर कुन ठाउँ जाने त ? ठाउँ रोज्न सबैलाई समस्या हुन्छ ।

दोमन नगर्नु । आउन्होस्– कर्णाली प्रदेशको राजधानी सुर्खेत । यहाँका बिभिन्न स्थानमा घुमेर दशैंको आनन्द लिनोस ।  

सुर्खेतमा केही पर्यटन व्यवसायीले दशैंमा घुमघामका लागि केही अफरसमेत ल्याएका छन् । सिम्रिक एयरले दशैका बेला सुर्खेतदेखि बडिमालिका घुम्ने अफर ल्याएको छ । डाइनामिक टुरिजम रिन्युभ्यु कमिटीले भेरी नदीमा र्‍याफ्टिङ अफर ल्याएको छ । 

सुर्खेतमा रहेका थारु होमस्टे लगायतले पनि दशै तिहारमा घुमघाम अफर ल्याएर आन्तरिक पर्यटन क्षेत्रमा केही चहलपहल ल्याएका छन् । 

बुलबुले ताल

सुर्खेतको बुलबुले ताल निकै रमणीय छ । जमिनमुनिबाट बुलबुल गर्दै पानी आउने भएर बुलबुले ताल नामकरण गरिएको हो । यो ताल समुद्री सतहबाट लगभग ६५७ मिटर (२१५७ फिट)को उचाइमा अवस्थित छ । 



अहिले बुलबुले ताल क्षेत्र भित्र जलकुण्ड, उद्यान, शौचालय, सडक कालोपत्रे भएका छन् । दशैं तिहार यो ताल घुम्न उपयुक्त समय हो । अहिले पर्यटकहरूलाई लक्षित गरेर तालमा दुई वटा ढुङ्गा संचालनमा रहेका छन् । 

काँक्रेविहार 



काँक्रेविहार नेपालको एक प्राचीन सभ्यतामध्येको एक स्थान हो । सुर्खेत जिल्लाको वीरेन्द्र नगरपालिका–९ लाटीकोइलीमा अवस्थित यस स्थानमा बौद्ध धर्म सम्बन्धी पुरातात्विक भवन तथा विहार रहेको छ । 

यो नेपालको सबैभन्दा ठूलो बौद्ध बिहार हो । काँक्रेविहारको सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्र्तगत पथ्र्यो । यसको निर्माण १३ सय शताब्दीमा भएको विश्वास गरिन्छ । १९९० सालको भूकम्पले भत्काएपछि यसको पुनर्निर्माण गरिएको हो । 

बराहताल 

बराहताल गाउँपालिका–४ स्थित बराहताल दशैं तिहारमा घुम्नका लागि उपयुक्त स्थान हो । १६ बिघामा फैलिएको तालमा जंगलको बीचमा रहेको छ । जंगली जनावर र चराचुरुङ्गीको अवलोकन गर्नका लागि यो ताल उपयुक्त छ ।  

पाँच वर्षअघि तालमा पानी सुकेपछि ताल पशु चौपायाको चरनस्थल बनेको थियो । अहिले त्यहाँ रहेको झारपात हटाएपछि पुनः ताल आफ्नो स्वरुपमा फर्किएको छ । तालमा पानी भरिन थालेपछि पर्यटक भित्रिने आशा पलाएको गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताए । 

‘तालमा जम्मा भएको फोहोर, माटो र विभिन्न रुख बिरुवाहरू हटाएपछि तालमा पानी जम्मा हुन थालेको छ,’ उनले भने ‘पानी भरिने आशा नै मरेको थियो तर यो वर्ष वर्षाको पानी जम्मा भइरहेको छ, आसपासका मुहान पनि फुटेको अनुमान छ ।’ 

२०७२ को भूकम्पपछि तालमा पानी हराउँदै गएको थियो । २०३६ देखि रमणीय र पर्यटकीय गन्तव्यको रुपमा विकास भएको तालमा ४० को दशकयता पर्यटकीय गतिविधि बढेको हो । 

भेरी र कर्णालीमा र्‍याफ्टिङ

सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुबाट कुईने पुलसम्म (भेरी नदीबाट  भेरी–कर्णाली दोभान हुँदै  कर्णाली नदीको कुईने पुलसम्म) र्‍याफ्टिङ सेवा नियमित सुरु भएको छ । दशैं तिहारमा सस्तो मुल्यमा र्‍याफ्टिङको आनन्द लिन सकिने छ ।  

डाइनामिक टुरिजम रिन्युभ्यु कमिटीका सञ्चालक देवराज जैशीले जामु–कुईने र बिजौरा–कुईने खण्डमा ¥याफ्टिङ तथा फिसिङ्ग गर्न सकिने बताए । ‘यहाँ आउने पर्यटकले र्‍याफ्टिङसहित फिसिङको आनन्द लिन पाउने छन्,’ उनले भने । 

हेलिकप्टरमार्फत बडिमालिका 

सिम्रिक एयर प्रालिले सुर्खेत–बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्रालिले घटस्थापनादेखि सुर्खेत बडिमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गरेको हो । 

‘सुर्खेत विमानस्थलबाट बढीमालिका पुग्न करिब ४५ मिनेट लाग्ने गर्दछ,’ प्रालिका बजार विभाग प्रमुख योगेश सापकोटाले भने, ‘पाँच जना चढ्न मिल्ने हेलिकप्टरको दुईतर्फी (आवतजावत) प्रति उडान दुई लाख ५० हजार रुपैयाँ मात्र भाडा निर्धारण गरिएको छ ।’ 

गोठिकाँडा 

हरेक शनिबार सुर्खेतबासीको रोजाइमा पर्दै आएको वीरेन्द्रनगर–१२ को गोठिकाँडामा पनि दशैं तिहारको बेला घुमेर आनन्द लिन सकिन्छ । वीरेन्द्रनगर बजारबाट १० किलोमिटर टाढा रहेको गोठिकाँडाबाट सुर्खेत उपत्यकाको दृष्य अवलोकन गर्न सकिन्छ । 

डाँडामा रहेको गोठिकाँडा​बाट तल फराकिलो उपत्यका, माथि पहाड र हिमालको दृश्यावलोकन गर्न सकिने भएका कारणले पर्यटकका लागि आकर्षणको केन्द्र बनेको गोठिकाँडा​मा होटेल व्यवसाय गरिरहेका धनलाल देवकोटाले बताए । यसलाई पश्चिमको नगरकोट पनि भन्ने गरिन्छ । 

‘शान्त वातावरण, चिसो हावा, स्थानीयस्तरमा उत्पादन हुने दूध, दही र लोकल कुखुरा खान बस्नको लाग यो ठाउँ उपयुक्त छ,’ उनले भने, ‘गोठिकाँडा​ सुर्खेतकै सबैभन्दा बढी पर्यटक आउने स्थान हो ।’ 

करिब दुई सय वर्ष अगाडी गोठिकाँडा​ नजिकैको बयलकाँडामा बहादुर शाहको पालामा गढी निर्माण गरिए थियो । त्यो अहिले भग्नावशेष अवस्थामा रहेको वडा अध्यक्ष टोपबहादुर दर्लामीले बताए । ‘बहादुर शाहको पालमा निर्माण भएको ऐतिहासिक गढी रहेको छ,’ उनले भने, ‘त्यो गढीको संरक्षणमा अहिले हामी लागि रहेका छौं ।’ 
सहरको आधुनिकताभन्दा फरक प्राकृतिक आनन्द दिने गोठिकाँडा​ मल्लकालीन ऐतिहासिक स्थल भएको स्थानीय बताउँछन् । 

 

  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार २०:१२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया