माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहास रच्ने लक्ष्यमा रहेको छ ।
सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम ८ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन पुग्यो ।
भारतसँग आइतवार पराजित भएसँगै साफ च्याम्पियनसिपमा शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ ।
साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसँग नेपाल अन्तिम ८ मिनेट सम्हालिन नसक्दा एक खेल अगावै फाइनल पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको थियो ।
नेपाली मुलका खेलाडी सुनिल क्षेत्रीले नेपालको पोस्टमा निर्णायक गोल गरेपछि नेपाल स्तब्ध हुन पुगेको थियो ।
साफ च्याम्पियनसिपमा २८ वर्ष लामो संघर्ष गरेको नेपालको फाइनल पुग्ने यात्रा भारतसँगको पराजयसँगै एक खेल पर धकेलिएको हो ।
यसले नेपाललाई फाइनल पुग्नबाट रोक्दा शीर्ष दुईमा अटाउने होडबाजी निकै रोमाञ्चक भएको छ । प्रतिस्पर्धा गर्ने चारै टोलीलाई सुखद नतिजाले मात्र अघिल्लो चरणमा पुर्याउने छ ।
बुधबार बंगलादेशसँगको खेल नेपालको लागि निर्णायक हुनेछ । बंगलादेशसँग पराजित भए नेपाली टोली घर फर्कनु पर्नेछ । नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ बुधबार जीतको लागि नेपाली टोलीले खेल्ने बताए ।
लिगको अन्तिम खेलको नतिजाले आयोजक माल्दिभ्ससँगै नेपाल, भारत, बंगलादेशको टुङ्गो लाग्ने छ । सोही कारण जारी साफ निकै रोमाञ्चक बन्न पुगेको हो । श्रीलंकाले ४ खेल खेल्दा अन्य टोलीले ३÷३ खेल खेलेका छन् । लिग तालिकामा समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ ।
साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्ने संघारमा नेपाली टोली छ । नेपाली टोलीका दोस्रो रोजाइका गोलकिपर विशाल श्रेष्ठले नयाँ इतिहास रच्नका लागि नेपाली टोली आतुर भएको भन्दै उच्च मनोबल बनाएर स्पष्ट जितका लागि खेल्ने बताए ।
अहिले नेपाल तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाट बाहिरिने छ । यदि खेल बराबरी भएमा भने नेपाल ७ अंकका जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ भने जित्ने टोली ९ अंक जोडेर शीर्ष टोली बन्ने छ । पराजित भए ४ अंक जोडेको बंगलादेश प्रतियोगिताबाट बाहिरिने छ भने जित निकाले बंगलादेश फाइनल पुग्ने छ ।
यस्तै यता आयोजक माल्दिभ्स र भारतबीच हुने खेलमा पराजित हुने टोली प्रतियोगिताबाट विदाई हुनेछ । ५ अंक जोडेको भारतले बराबरी भए पनि प्रतियोगिताबाट बाहिरिने छ । सोही अवस्था आयोजक माल्दिभ्सलाई पनि हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।