बैंक लुटपाटमा संलग्न तीन जना पक्राउ, ५ जना फरार

मोरङको कर्सियामा रहेको सिटिजन बैक लुटपाटमा संलग्न ३ जना पक्राउ परेका छन् । 

घटनामा अन्य थप ५ जना संलग्न भएको र उनीहरुको खोजीकार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले  लुटपाटमा संलग्न दुई जना भारतीयसहित तीन जनालाई पक्राउ गरेको बताए । 

प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरका ३२ वर्षीय सुनिल यादव, भारत गौराहाका ३५ वर्षीय विजय बहरदार र विराटनगरका ३२ वर्षीय श्याम मुखियालाई पक्राउ गरेको छ ।

हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । 

बैंकमा रहेको २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन ।  सो रकम लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ ।



सोमबार दिउँसो ८ जनाको समूहले बैंक लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबारराति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको थियो  । 

प्रहरी उपरीक्षक जिसीका अनुसार लुटपाटको मुख्य योजनाकार विराटनगर महानगरपालिका–३ मुनाल पथका ३२ वर्षीय श्याम मुखिया हुन् । उनैको योजनामा बैक लुट्न ७ जना भारतीयलाई उनले बोलाएका थिए ।  



लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । उनीहरूले एक अर्कालाई नचिने पनि मुख्य योजनाकारलाई भने चिनेको बयान दिएका छन् ।

प्रहरीका अनुसार चार वटा मोटरसाइकलमा ८ जनाको समूह आएको थियो । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ ।

सोमबार दिउँसो ८ जनाको लुटेरा समूह बैंक भित्र प्रवेश गर्दा सुरक्षा गार्ड शीतल कुँवरले रोक्ने प्रयास गरे । 

लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरूको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउन्ड गोली चलाइका थिए। 

एक राउन्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शीतल कुँवरको घाँटीको पछाडि पट्टी भन्दा केही तल लागेको छ ।
 
लुटेरा समूहले चलाएको अर्को गोली भने आफ्नै सदस्य विजय बहरदारलाई लागेको छ। 
 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार ७:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया