संसद सुचारू गर्न एमालेसँग छलफल गर्न तयार छु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमाले सँग छलफलका लागि तयार रहेको बताएका छन् । 

सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए।

उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्षी दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन् ।

सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए।

सभामुख सापकोटाले भने, ‘म अझै के भन्छु भने पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ, अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन, ढिलो चाँडो संवादमा उहाँहरु आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरुलाई विनम्रतापूर्वक नै संसदको गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ, के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो, के गर्नुपर्छ त्यसको लागि म तयार छु ।’

उनले आफूले संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गरेको बताए । उनले भने, ‘फर्किएर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ, जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसदमा अहिले अलिकति समस्याहरु देखिएको छ, अवरुद्ध भइरहेको छ, १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।’



सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए।

उनले संसद सुचारु रुपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद पुनस्र्थापना गर्न लागि परे जस्तै संसद सुचारु रुपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए। उनले संसदलाई जीवन्त र जनमुखी बनाउन आफू पनि गुणात्मक ढंगले लागि पर्ने बताए।



सभामुख सापकोटाले भने, ‘राजनीतिमा आग्रह, पूर्वाग्रह, हुन्छ, प्रतिसोध सोच्न पनि सकिँदैन, यी सबै आग्रह पूर्वाग्रह मेटिँदै जानेछन्, सकारात्मक सोचको विकास हुनेछ, अझ निष्कर्षमा पुग्नका लागि सबै औपचारिक, अनौपचारिक, ट्रयाक वान, टू, सबै उपायहरु अवलम्बन गर्नका लागि मैले सकेजति मेहनत गर्दछु, म कहाँनेर अलि बढी चिन्तित छु भने संसदका लागि हामीले पुनस्र्थापना गर्नका लागि जति पहल ग¥र्यौं, प्रयत्न, परिश्रम, त्यत्तिकै त्यसलाई प्रभावकारी बनाउन, सबलीकरण गर्नका लागि जीवन्त र जनमुखी बनाउनका लागि मेरो पनि पहलकदमी गुणात्मक ढंगले बढ्नुपर्छ, त्यसमा कुनै दुईमत नै छैन, तर पार्टी, पार्टीका नेता, अझ सांसदहरुमा त्यसलाई प्रभावकारी बनाउन चाहे अध्ययन, चाहे छलफल र संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनका लागि असाधारण खालको मिहेनतको जरुरत हुन्थ्यो नि, संसदलाई जीवन्त र प्रभावकारी बनाउनुको विकल्प छैन ।’

सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको बताएका छन् । 

उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताए। उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरु उदासीन नभएको बताउँदै संसद सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिबद्धता जनाए। उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरुले समिक्षा गर्नुपर्ने बताए। 

सभामुख सापकोटाले भने, ‘एकप्रकारले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढेका छन्, अघोषित रुपमा भनेपनि बजेट होलिडे जस्तै स्थिति आएको थियो, बजेट पास भएको छ, सरकारले गाँठो फुकाउन खोजेका कुरा गाँठो फुकेका पनि छन्, तर मलाई यो लाग्दैन कि सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर उदासीन हुनुभएको छ राजनीतिक पार्टीका नेताहरु भन्ने लाग्दैन । सरकारले गठबन्धनका सबै नेताहरुले र विपक्षी दलका नेताहरु सबैले समीक्षा गरौँ भन्ने अपील गर्न चाहन्छु ।’

संसद लोकतन्त्रको आत्मा हो त्यसैले सभामुख र सांसदहरुको भूमिका बढाउन आवश्यक रहेको बताउँदै सभामुख सापकोटाले प्रवचन र प्रशिक्षणको विषय मात्र बनाइएको बताए। 

उनले लोकतन्त्र संघीय संसदमा कमै मात्र प्रयोग भएको बताए। आगामी कार्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा संसद सुचारु रुपले चल्नेमा आफू आशावादी रहेको बताए।
 

  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १२:३७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया