उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
नेपालीहरुको महान् चाड दशैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीहरुको दशैँको फुलपातीको दिन दुर्घटनामा निधन भएको थियो । दशैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको असोज २५ गते कास्कीमा सडक दुर्घटनामा निधन भएको थियो ।
दुवै घटनाबाट उपराष्ट्रपति स्तब्ध बनेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
उपराष्ट्रपतिले दुवै दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता समेत व्यक्त गरेका छन् । उनले मुगु लगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानविन गरी सो छानविन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।