काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् ।
कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो उनीहरुले गरेका छन् । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैँ मनाउन गएकोले काठमाडौंमा खसीबोका व्यापार कम भएको उनीहरु बताउँछन् ।
खसीबोकाको व्यापारमा काठमाण्डौका स्थानीय व्यपारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरुले परल मोल नै उठाउन नसकेको गुनासो गरेका छन् ।
काभ्रेबाट खसि बोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक लामाले गत वर्षको तुलनामा यस वर्ष व्यापार हुन नसकेको जनाए ।
गत वर्ष ३ सय खसि बोका ल्याउँदा फूलपातीकै दिन बेचेर जाने गरेको बताउँदै उनले यस वर्ष अझै सय वटा बोका बेच्न बाँकी रहेको जनाए ।
‘यस वर्ष पोहोरको तुलनामा आधा पनि व्यापार भएको छैन । सबै जना गाउँ गएको हो कि, खाने मान्छे नै नभएको हो कि ? महंगोले पनि होला, मैले साढे तीनसय ल्याएको थिएँ, अझै १ सय वटा बाँकी छ । पोहोर फूलपातीकै दिन सकाएर जान्थ्यौँ, यसपाली सय वटा बाँकी नै छ । मैले जिउँदो प्रति केजी ६ सयदेखि ६५० रूपैयाँसम्ममा बिक्री वितरण गरिरहको छु,’ व्यापारी लामाले भने ।
यस्तै, धादिङबाट खसीबोका ल्याएर भृकुटीमण्डपमा बेच्दै आएका परशुराम चौलागाईंले पनि गत वर्षको जस्तो व्यापार नरहेको बताए । उनले यस पटक खसि किनेको परल मोल नै उठाउन हम्मेहम्मे परेको सुनाए ।
‘पोहोर आजका दिनसम्म खसि किन्नेहरूले झम्टिएर लैजान आइपुग्थे । यस वर्ष त्यति व्यापार हुन सकिरहेको छैन । अहिले २२, २५ हजारको खसीलाई १४ हजार दिन आउँछन् । हामीले साउँसम्म उठाउन पाए हुन्थ्यो भनेर बेचिरहेका छौँ,’ व्यापारी चौलागाईंले बताए ।
कोरोना महामारीले गर्दा खसीबोका बिक्री वितरण हुन नसकेको चौलागाईंको बुझाई छ । बाहिरबाट खसीबोका र च्याङ्ग्रा बिक्री गर्न काठमाडौं आएका व्यापारीहरू चाहेजस्तो व्यापार नहुँदा निरास देखिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।