भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधीका लागि नेपालसँग प्रतिस्पर्धा

भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । फाइनलमा प्रवेश गरेसँगै अब नेपाल र भारतबीच उपाधि भिडन्त हुने भएको छ । 

भारतको जितमा कप्तान सुनिल क्षेत्रीले २ र मनविर सिंहले १ गोल गरे ।  माल्दिभ्सका अलि अश्फाकले १ गोल फर्काए । भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । 

भारतका लागि ३३ औं मिनेटमा मनवीरले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । ६२ औं र ७१ औं मिनेटमा सुनिलले गोल गर्दै भारतलाई ३–१ को जित दिलाए ।

खेलको ८० औं मिनेटमा भारतका प्रशिक्षक इगोर स्टिमाचले रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयमा लगातार विरोध गरेका उनले खेलमा दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि बेन्च छाडेका थिए । उनले अब फाइनलमा पनि बेन्चमा बस्न पाउने छैनन् ।

थप गरिएको समयमा सुवासिस बोसले रातो कार्ड बेहोर्दा भारत केही समयका लागि १० खेलाडीमा सिमित बनेको थियो । 

भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्दा नेपाल ४ खेलमा २ जित, १ हार र १ बराबरीसँगै ७ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । माल्दिभ्स ६ अंकसाथ तेस्रो र बंगलादेश ५ अंक जोड्दै चौथो भयो । १ अंक जोडेको श्रीलंका अन्तिममा रह्यो ।



यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । बंगलादेशसँग १–१ को बराबरी खेलेको नेपाल अंक तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको थियो । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः ४५ बजे हुनेछ । 

यसअघि समूह चरणको खेलमा नेपाल १-० गोलले भारतसँग पराजित भएको थियो । 



  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार ६:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया