त्यो रमाइलो दसैं, यो वर्षको ‘खल्लो’ दसैं

आर्थिक रुपमा सम्पन्न परिवार । चाहेको जस्तो सबैबेला पुगिरहेकै हुन्थ्यो । नयाँ लुगा लगाउनकै लागि दसैं पर्खिनु पर्दैनथ्यो । एक वर्षमा केही जोर नयाँ लुगा फटाइन्थ्यो । तर, दसैंकै लागि किनेको लुगामा जस्तो खुसी वर्षभरि खरिद गरेका अरु लुगामा भेटिँदैनथ्यो । 

गाउँमा त्यतिबेला अहिलेको जस्तो ‘टेलर’ थिएनन् । भएको एउटा टेलरमा लुगा सिलाउनेको भीड, सिलाउनेलाई चटारो, अहो ! अर्कै रौनक हुन्थ्यो । अहिले जस्तो रेडिमेट कपडा पनि नपाइने त्यो समय । मेरो लुगा समयमा सिलाउन नभ्याउने हुन् कि भन्ने चिन्ता हुन्थ्यो । हरेक दिन टेलरमा हेर्न जान्थेँ । आफ्नो लुगा काटेकै हुँदैनथ्यो । म रुँदै फर्किन्थँे, मेरो लुगा सिलाइदिएको छैन भनेर । 

बुवाका तीन दाजुभाइ । सबै छुट्टिएर बसेका थिए । घर नजिकै भए पनि वर्षभरि एकै भान्छा हुँदैनथ्यो । दसैंको दिन सबै परिवार एकै घरमा भेला हुने, टीका लगाउने, एकै भान्छामा खाने त्यो बेलाको निकै मीठो सम्झना छ । घरको सबैभन्दा कान्छो बच्चा थिएँ म । दसैंको टीका ठूलाबाट लगाउन सुरु गरेर सानाको पालो सबैभन्दा अन्तिममा आउँथ्यो । टीका नलगाई खाना खानु हुँदैन भन्ने प्रचलन । मेरो पालो आउँदा दिउँसोको २/३ बज्थ्यो । त्यसैले सानामा मलाई दसैं मन पर्दैनथ्यो ।

समयसँगै परिवारको आकार सानो बन्दै गयो । भएका सबै एकै ठाउँमा भेला हुन सम्भावना पनि हुँदो रहेनछ । उतिबेला नमीठो लागेको पल हिजोआज सम्झनामा मीठो भएर आउँछ ।

दसैं सुरु भएपछि नै घरमा अर्कै खालको उत्साह हुन्थ्यो । घरवरपरको वातावरण नै अर्कै । घरबाहिर गएका गाउँका मानिस गाउँ फर्किएका हुन्थे । बच्चाबेलामा उनीहरुले बाहिरबाट ल्याएर दिएको एउटा चक्लेटले पनि निकै खुसी दिन्थ्यो । जमरा राखेपछि पूजाघरको रौनक अर्कै । हरेक दिन बिहान जमरा छोपेको कपडा उठाएर जमरा कत्रा भए होलान् भन्दै हेरिन्थ्यो । त्यो खालको उत्सुकता, जिज्ञासा र पर्वप्रति अपनत्व अहिलेको पुस्तामा निकै कम हुँदै गएको महसुस गर्छु । 

हामी छोराहरुले घरमा टीका लगाएर दक्षिणा नपाउने । कहिले घरको टीका सकिन्छ र मामाघर जानु भन्ने हुटहुटी हुन्थ्यो । मामाघरमा पाएको दक्षिणामा पनि कसले कति पायो भनेर हामी केटाकेटी बसेर छलफल गथ्र्यौं । मामाहरु पनि स्पेसल हुन्थे हामीलाई दिएको दक्षिणाको आधारमा । त्यो खुसी अर्कै हुन्थ्यो । मामाले टीका लगाएर दिने दक्षिणाको महत्व अर्कै थियो । समयक्रममा हामी कहाँकहाँ पुग्यौं ! विभिन्न घटनाक्रमको साक्षी बनियो । कयौं घटना बिर्सियो पनि । तर, बाल्यकालको त्यो वातावरण कहिल्यै बिर्सिन सकिँदो रहेनछ । 



त्यतिबेला अष्टमीको दिन बोका काट्ने चलन थियो । खसी जसले काटे पनि बोका आफ्नै घरको सदस्यले काट्नु पथ्र्यो । बोकाको बलि दिने प्रचलन थियो । सबै दाइहरुले यो काम गर्नु भयो । अरुले गर्दासम्म खासै ख्याल भएन । एक वर्ष बलिको बोको काट्ने पालो मेरो आयो । त्यो बेला म यस्तै १८÷१९ वर्षको थिएँ । एकै मारमा बोकाको गर्धन छिनाउनु पर्ने ।

एकै पटकमा बोकाको गर्धन नछिन्ला भन्ने डरले मैले बडो जोडले मार हानेछु । बोकाको गर्धन मात्रै होइन डर मिश्रित त्यो डरले बोकाको अगाडिको दुईवटा खुट्टा पनि छिन्यो । यो दृश्यले मलाई नमज्जाले पिरोल्यो । धर्मका नाममा पाप गरिरहेको रहेछौं भन्ने महसुस भयो । त्यसपछि घरमा सल्लाह नै भयो, संस्कृति परिवर्तन गर्दै लैजानु पर्छ भन्ने लामो बहस भयो । अनि हामीले घरमा आफैंले मार हानेर खसी–बोका काटेनौं । 



बाल्यकाल थियो । हरेक कुराले छुन्थ्यो । उत्सुकता हुन्थ्यो । गाउँमा ठूलाहरु तास खेल्थे । तासमा त्यति मन बसेन । लंगुरबुर्जा निकै खेल्थेँ । दसैंबाट सुरु भएको खेल तिहारसम्म चल्थ्यो । खेल्ने क्रममा थुप्रै पटक झेली पनि गरियो । कयौं पटक कुटाकुट गरियो । खेल्ने भन्दा पनि खाल राख्नेमा पर्थें म । सानाले झेली गर्दैन भनेर खालमा राख्थे । प्रायः म जित्थेँ । दसैं–तिहार सकिएपछि काठमाडौं फर्किने । फर्किंदा जितेका पैसा हुन्थे । लंगुरबुर्जा खेलेर जितेको पैसाले म थुक्पा खान्थेँ । त्यो बेलाको जस्तो मीठो थुक्पा मैले जिन्दगीमा कहिल्यै खान पाएको छैन । 

पिङसँगको सम्झना पनि निकै मीठो तरिकाले तरंगित हुन्छ मनमा । त्यतिबेला घरनजिकै ठूलो पीपलको बोट थियो । त्यही पीपलको बोटमा हरेक वर्ष पिङ हाल्ने गरिन्थ्यो । त्यो वर्ष पनि त्यहीँ थियो पिङ । पीपलको बोट कान्लामाथि थियो । कान्लामुनि सिउँडी घारी । पिङ खेल्ने क्रममा माथि पुगेपछि त्यो चुँडियो । म पिङको लठ्ठामा दुवै हातले समाएर झुण्डिएँ । छोडेको भए आज म मरेको पनि वर्षौं भैसक्थ्यो सायद । 

यो वर्ष दसैंका मीठा सम्झना मात्रै रहनेछन् मसँग । हामी यस पटक दसैं मनाउँदैनौं । कोरोनाका कारण दाजुको मृत्य भयो । म दाजुको शोकमा छु । 

(राधिका अधिकारीसँगको कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : असोज २८, २०७८ बिहीबार १८:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया