अगुवा मजदुर नेता ओम कोइरालाको निधन

नेपाली मजदुर आन्दोलनका अगुवा मजदुर नेता ओम कोइरालाको निधन भएको छ ।
 
उनको आज बिहान ३ बजेर १७ मिनेटमा विराटनगरको नोवेल अस्पतालमा उपचारका क्रममा उपचारको क्रममा निधन भएको हो । 

कोइरालालाई उपचारका लागि २ दिन अघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उपचारका क्रममा आइसीयू आवश्यक परेकाले बिहीबार बेलुका उनलाई विराटनगर लगिएको थियो । 

मजदुर आन्दोलनका अगुवा पुराना कम्युनिस्ट नेता कोइराला लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित थिए ।
 
२०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा जन्मिएका कोइरालाका श्रीमती ४ छोरा र २ छोरी छन् ।

नेता कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गरेका थिए । २०२६ सालमा जनता मावि इटहरीमा अध्ययन गर्दा देखिनै उनी वामपन्थी राजनीतिबाट प्रभावित भए । त्यहाँ उनी स्ववियू सभापति पनि भए ।

२०३० सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा स्ववियूको साहित्य सचिव र भूमिगत संगठन युवा लिगको सचिव भएर काम गरेका थिए। 

उनीसहितको समुहले त्यो बेला रातोझण्डा नामक कम्युनिस्ट पार्टीको स्थापना गरेको थियो । 



२०४२ सालमा नेकपा मालेको सुनसरी जिल्ला कमिटिको कार्यबाहक सचिव बने । 
२०४६ सालमा आन्दोलनको क्रममा उनी पक्राउ परे । २०३४ सालदेखि महेन्द्र मावि इटहरीमा शिक्षक भै कार्य गरेपनि झापाली नेकपा माले भन्ने आरोप लगाएर उनको शिक्षक पेसा खोसिएको थियो । 

२०४४ सालमा अनेकिसंघ सुनसरीको अध्यक्ष, २०४६ सालमा नेकपा माले अञ्चल सचिवालय सदस्य, २०५० सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय उपाध्यक्ष बनेका कोइराला मजदुर आन्दोलनलाई उचाईमा पुर्‍याउन अहोरात्र खटे। 



२०५१ सालमा नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य र २०५६ सालमा पूर्वाञ्चल संयोजकको भूमिका निभाए । 

लामो समय मजदुर अधिकारको क्षेत्रमा काम गरेका कोइरालालाई सुनसरी मोरङ आद्योगिक करिडोरमा मजदुर उद्योगी बिचमा हुने विवाद मिलाउन सक्ने नेताको रुपमा लिइन्थ्यो । 

कोइरालाले प्रकाशित अप्रकाशित गरि १४ वटा पुस्तक लेखेका छन् । उनलाई ओम कोइराला नागरिक अभिनन्दन समितिले गत असोज २३ गते इटहरीमा भब्य नागरिक अभिनन्दन गरेको थियो । त्यही कार्यक्रममा उनका तीन पुस्तक लोकापर्ण गरिएको थियो ।

  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार ९:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया