दसैंको खुसी पनि इतिहास भैसकेछ

मध्ये दसैंको रौनकमा छौं । तर, उत्साह छैन । एउटा कोरोना र अर्को जिम्मेवारी । दसैं दसैं जस्तो नभएको निकै वर्ष भइसकेछ ।

दसैं त बाल्यकालमा मात्रै आउँदो रहेछ झैं लाग्छ हिजोआज सम्झँदा । आमाको काखमा बसेर मावली हजुरबुवा, हजुरआमा र मामामाइजुसँग टीका र आशिर्वाद थापेको दिन र खुसी इतिहास भैसकेको छ । 

म इलाममा जन्मे–हुर्केको मान्छे । हाम्रोतिर त एक महिनाअघि नै दसैं आउँथ्यो । दसैं आउँदै छ भनेपछि नसक्ने काम पनि गर्न रहर लाग्ने । घर रंगाउन गाउँमा चुन पाइँदैनथ्यो । सदरमुकाम पुग्नु पर्ने । पाए पनि हाम्रो बुताले भ्याउँथेन किन्नलाई । अनि त्यसबेला घर लिपपोत गर्न कमेरो, रातो माटो खोज्न टाढाटाढा जानुपर्ने । रातो माटो खन्नका लागि आमाहरू जानु हुन्थ्यो । हामी पनि पछि लाग्थ्यौं, सानो कुटो र बुवाले बुनिदिएको सानो डोको बोकेर । दुई मानाजति माटो ल्याएपछि घर पूरै रंगाउन पुग्ने माटो ल्याएझैं फूर्ति लाएर गाउँभरि सुनाउँदै हिँड्नु पर्ने ।

कमेरो ल्याउन भने बुवाहरू जानु हुन्थ्यो । पहिले रातो माटो, पछि कमेरो र हामी अलिक ठूला भएपछि चुन– घर यसरी नै रंगिँदै गयो दसैंमा, तर मन भने जिम्मेवारीबोधले थिचिँदै गयो । खै किन हो सानैदेखि घरव्यवहारको चिन्ता लाग्थ्यो । आमालाई अलिकति सहयोग गर्न सके हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यस्तै पाँच कक्षा पढुञ्जेलमात्र दसैं रमाइलो गरी मनाएको याद छ । 

दसैं भन्नेबित्तिकै अर्को खुसीको कुरा– नयाँ लुगा लाउन पाइने । स्कुलको पोशाक, त्यो पनि । तर कम्ता खुसी लाग्दैन थियो त्यसबेला । त्यही बेला त थियो दसैं–तिहारपछि राम्रो लुगा लगाएर विद्यालय जान पाउने । जामाको छेऊ समाएर नयाँ लुगा नलगाउने साथीहरूको अगाडि फुरुकफुरुक गर्नु पर्ने । एउटा खालको घमण्ड नै प्रदर्शन गरिन्थ्यो सायद– नयाँ लुगा लगाउनेको फूर्ति नै बेग्लै । 

दसैंको बेला आमाले मावलबाट मकै छोडाएर बुधबारे बजारमा बेची जामा किनिदिएको पल मेरो जीवनमा भुल्नै नसक्ने क्षण हो । त्यो जामा तीन पटक उधारेर फर्काइफर्काइ सिलाएर लगाएको सम्झना अहिले पनि आँखामा नाचिरहन्छ । सात कक्षामा पढ्दी हुँ त्यसबेला । 



दसैं भनेको दक्षिणा पनि त हो नि ! दसैंमा घरमा टीका लगाउन पाएको छैन गाउँतिर दाजुभाइ, आफन्तकोमा दगुरिहाल्ने बानी । त्यसबेला टीका लगाएर दिइने २५ पैसा धेरै घरमा । कसैकसैकोमा एक मोहर (एक रुपैयाँ) को ढ्याक पनि दिन्थे– मनकारीले । त्यो पाएपछि दगुरेर घरमा आउने गर्दथेँ अनि आमालाई दिन्थेँ त्यो पैसा । दसैंको दक्षिणा मेरा लागि स्कुलको फि (शुल्क) जम्मा गर्ने अवसर पनि थियो । 

हामी घरमा पाँच जना छोरी मात्र । तीन दिदीको विवाह भैसकेको थियो । घरमा बहिनी र ममात्र । सानो हुँदा दसैंमा हाम्रो काम भनेको घर वरिपरि पल्लोघरसम्म सरसफाइ गर्नु हुन्थ्यो । झार उखेलेर, कोदालोले ताछेर बाटोघाटो सफा बनाउनु, फूलबारी बनाउनु, फूल रोप्नु । सिकुवासम्म मात्र होइन, आँगन र बाटोघाटो पनि लिप्नुपर्ने गाईको गोबरले । हत्केला पिल्सिउञ्जेल लिपिन्थ्यो । कसको घर चिटिक्कको हुने भन्ने अदृश्य प्रतिस्पर्धा नै हुन्थ्यो केटाकेटीहरूमा ।



दसैंको बेला हाम्रोतिर लिंगेपिङ भन्दा पनि रोटेपिङ खेलिन्थ्यो । दसैंमा लगाएको पिङ तिहार सकिएपछि मात्र फुकालिन्थ्यो । टीका थापिसकेपछि जामाको छेऊमा चिउरा पोको पारेर पिङ खेल्न दगुरिन्थ्यो । एकपटक यसरी नै पिङ खेल्ने क्रममा रोटेपिङको पिर्कामा झुण्डिएर चार चक्कर लगाएकी छु । कथंकदाचित पिर्काबाट हात खुस्किएको भए त्यो सम्झना अहिले कहाँ लेखिन्थ्यो र ! भगवान्को प्यारो भैसकिने थियो । त्यसबेलादेखि रोटेपिङ खेल्न धेरै डर लाग्छ । 

दसैं स्मरण गर्दा, आजसम्म भुल्नै नसकेको कुरा भनेको त्यसबेलाको चिउरा कुटाई पनि हो । लगभग एक मुरी धानको चिउरा कुटिन्थ्यो ढिकीमा । दसैंमा कुटेको चिउरा चैते धान रोपुञ्जेल खाजा पुग्थ्यो । त्यसबेला फौडेल, चिराँखे नाम गरेका धान हुन्थे । फौडेलको चिउरा लामो लामो सलक्क परेको हुन्थ्यो । खाँदा मुखभरि रस भरिने । स्वाद र सुगन्ध नै बेग्लै । अचेल राजधानीमा पाइने चिउरा खाँदा त्यसबेलाको स्वाद सम्झियो भने रुच्दैरुच्दैन । 

दसैंमा धेरै प्रतीक्षा दिदीहरूको हुन्थ्यो । अरूबेला भेट नहुने । हामी सानै थियौं । दिदीहरूका बच्चाबच्ची भैसकेको थिए । उनीहरूसँग खेल्न पनि दसैंको प्रतीक्षा हुन्थ्यो ।
हाम्रोतिर फूलपातिदेखि कोजाग्रत पूर्णिमासम्म दसैंको चहलपहल हुने । टीका लगाउन दशमीदेखि कोजाग्रत पूर्णिमासम्मको समय हुन्थ्यो, तर टीका लगाउन यसरी दौडन्थ्यौं कि, टीकाकै दिन सबैकोमा पुगेर दक्षिणा बटुलिहाल्न पर्ने । कसले पर्खिने भोलि ?

मावल अलि टाढा भएकोले कहिले त्यही दिन साँझ गएर भोलिपल्ट फर्किन्थ्यौं त कहिले भोलिपल्ट गएर त्यही दिन साँझ । आमा, बुवा, बहिनी र म सँगै जान्थ्यौं, सँगै फर्किन्थ्यौं । मावलमा टीका लगाएर धेरै दक्षिणा पाइने भएकाले पनि बाल्यकालको कुनै पनि दसैं छुटाएको जस्तो लाग्दैन । हजुरबुवा, हजुरआमाको हातको टीका, आशिर्वादमा भन्दा पनि कति पैसा दिने हुन् भन्नेतिर मन हुन्थ्यो । आँखा थालीमा राखिएको पैसामा हुन्थ्यो । तर, मावलका हजुरबुवाले सन्तानले डाँडाकाँडा ढाकून् भन्ने आशिष दिँदा भने खै किन हो, तर्सन्थेँ म । 

यस्ता धेरै स्मरणहरू छन् दसैंका । कुनै खुसीका, कुनै त दुःखका पनि । दसैं–तिहारजस्ता हाम्रा ठूला चाडबाड सधैं हर्षले मनाउन पर्ने हो । तर, उमेरसँगै थपिने जिम्मेवारीले त्यस्तो हुँदो रहेनछ । अहिले आफ्ना लागि भन्दा पनि सन्तानको खुसीका लागि दसैं मनाउँछु । दसैंको अब त प्रतीक्षा नै हुँदैन पहिलेको जस्तो । तर पनि तिथिअनुसार यो आइहाल्छ प्रत्येक वर्ष र केही थान खुसीका साथमा धेरै पत्र दुःख छोडेर जान्छ । 

यस पटकको दसैं त झन् मनाउनुपर्छ भन्ने न कुनै उत्साह छ न जाँगर नै । कोरोनाले पिल्सिएको अर्थतन्त्र, बेरोजगारीले छटपटाएको अवस्था सम्झेरै मन अमिलो भएको छ । साथमा कोरोनाको डर पनि बाँकी नै छ । यी सबैबीच पनि दसैं सांस्कृतिक परम्परा हो, पूर्वीय सभ्यताको अविच्छिन्न पाटो पनि हो । यसलाई जोगाउनु सचेत नागरिकको कर्तव्य हो । धेरैको लागि दसैं दशा बनेर आउँथ्यो र जान्थ्यो । तर दसैंभन्दा पनि ठूलो दशा छ हाम्रो अघिल्तिर । त्यसैले सबैले सचेत बनेर संस्कृति, परम्परा जोगाउनु पर्दछ । 

मेरो साथमा ८५ वर्षको देवता समान पिता हुनुहन्छ । उहाँको आशिर्वाद लिँदै अरूसँग भने भौतिक दूरी कायम गर्दै भावनात्मक रूपमा बाँधिएर दसैं मनाउँदै छु म । 
 

  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार ९:२१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया