दसैंको मालश्री धुन र ती गन्धर्व दाइ
सन्तोष श्रेष्ठ/संगीतकार
फरकधार / २९ असोज, २०७८

झोलाभरि किताब–कापी बोकेर दैनिक ठीक समयमा विद्यालय पुग्नु र ठीक समयमा फर्किनु बाल्यकालको सबैभन्दा कठिन काम । बाल्यकालमा विद्यालय जानु नपरे पनि हुन्थ्यो जस्तो अनि पढ्न–लेख्न नपरे पनि हुन्थ्यो जस्तो । 



त्यतिबेलाको समयमा सबैभन्दा कठिन काम भनेकै दैनिक विद्यालय पुग्नु, पढ्नु र फर्किनु । बाल्यकाल मानिसलाई सबैभन्दा धेरै स्वतन्त्रता चाहिने समय किनकि, बालबालिका कसैको बन्धनमा बाँधिएर बस्न चाहँदैनन् । 

दैनिक अध्ययनरत् रहँदै गर्दा मानसिक तनावग्रस्त भएको अनुभूति हुने समयमा एकदिन बिदा पाउनु पनि खुसीको कुरा हुने । साताको एकदिन शनिबार त सार्वजनिक बिदा हुन्छ नै, तर त्यो बिदा बिदा जस्तो नै नलाग्ने । वर्षको एकपटक दसैंको समयमा प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनको बिदाको घोषणा हुँदा एउटा ठूलो युद्धमा सफलता प्राप्त भएको जस्तो लाग्ने । 

जब प्रतिपदाको दिन सुरु हुन्थ्यो । बिहानीपख झिसमिसेमा एकजना गन्धर्व सारंगी रेट्दै जय देवी भैरवी गोरखनाथ... भन्दै रामनवमीका दिनसम्म नियमित आइरहेको सम्झन्छु । त्यो समयमा प्रशस्त रेडियो थिएनन्, गाउँगाउँमा । टेलिभिजन त कल्पनाभन्दा परको वस्तु थियोे । प्रत्येक दिन बिहान मस्त निद्रामा भएको बेला उनै गन्धर्व त्यही गीत सुनाएर ब्यूँझाउन आइपुग्नु उनको दैनिकी जस्तै हुन्थ्यो ।



बिहान उनले जसरी बजाउँथे, गाउँथे दिउँसो रेडियोमा पनि त्यही संगीतको धुन गुञ्जिन्थ्यो । कुनैकुनै बेला गीत पनि बज्थ्यो । त्यो के संगीत होला ? कस्तो संगीत होला ? किन दैनिक गाइरहेको होला यस विषयमा खासै थाहा थिएन । त्यो संगीतको धुन बजाउँदै गाउँदा अब पक्का दसैं आएछ भन्ने महसुस हुन्थ्यो मनभित्र ।

अलिकति बुझ्ने उमेरमा पुगेपछि वा यो गीत–संगीत के हो, किन बजाइन्छ, किन गाइन्छ  भन्ने कौतूहलता जाग्ने भइसकेपछि यसैबारे केन्द्रित भएर बुवा–आमालाई सोध्न थालेँ । प्रत्येक दसैंमा बिहानैबिहानै किन गाउन आउँछन् ? यो गाएको बजाएको के हो ? बुवाआमाले भन्नुभयो– यो दसैंको बेलामा नवदुर्गामा गाउने बजाउने मालश्री धुन हो ।

मैले आज गरिरहेको सांगीतिक यात्राको प्रभाव स्थानीय प्रकृति र संस्कृति हो भन्ने निष्कर्षमा पुगेको बेला संस्कृतिभित्रको एउटा पाटो दसैं र यसभित्र जोडिएको दसैं संगीत वा मालश्री धुन पनि बलियो ढंगले उभिएको छ ।

मालश्री धुनलाई मिठास दिने एउटा वाद्ययन्त्र खुबै बजेको बज्यै गर्दा यो कुन वाद्ययन्त्र रहेछ भन्ने प्रश्न मनमस्तिष्कमा उब्जिएको हुन्थ्यो । दसैं सुरु भएदेखि सकिएको धेरै महिनासम्म पनि बालमस्तिष्कमा लामो प्रभाव पारिरहन्थ्यो । मालश्री धुन र त्यो वाद्ययन्त्रको प्रभाव गुञ्जिरहन्थ्यो ।

गाउँघरमा त अलिकति फरक वाद्ययन्त्र बजेको सुनेपछि केवल सुनेरै चित्त बुझाउनु बाहेक अर्को उपाय पनि हुँदैन । काठमाडौं पुगेर रेडियोबाट बजेको सुनेको फरक वाद्ययन्त्र के रहेछ भनेर चासो राख्दा त्यो वाद्ययन्त्र सितार पो रहेछ ।

हिजोआज रेडियो, टेलिभिजन प्रशस्त सुन्न–हेर्न पाइने भए । विभिन्न सामाजिक सञ्जालमा प्रशस्त वाद्ययन्त्रको जानकारी सजिलोसँग पाइने भयो । कुनै पनि बालबालिकालाई कौतूहलताको प्रश्न तुरुन्तै समाधान हुने भएको छ । इच्छुक बालबालिकाले देख्न र सिक्न पनि कुनै अप्ठ्यारो छैन ।

मैले बाल्यकालमा सुनेको दसैंको नवदुर्गाभित्र सुनाउने मालश्री धुन र जोडिएको जय देवी भैरवी गोरखनाथ... अहिले प्रत्यक्ष सुन्न नपाइने भएको छ । ती गन्धर्व दाइ भौतिकरूपमा यो दुनियाँबाट बिदा भएर गइसकेका छन् । उनले बजाउने सारंगीको तारहरू चुँडिएर टुक्राटुक्रा भएका छन् ।

काठको सारंगी धुस्सिएर एउटा कुनामा थन्किएको छ । सारंगी धुलोमा परिणत हुँदै छ । ती गन्धर्व दाइको अन्त्य सँगसँगै सारंगीको अन्त्य भएको छ । सारंगी सँगसँगै बज्ने मालश्री धुन र जय देवी भैरवी गोरखनाथ... बज्न छोडेको छ । मौलिकतामाथि प्रश्नचिन्ह उभिएको छ । प्रत्यक्ष सुन्ने–सुनाउने संस्कृति नै हाराउन थालेको छ । जति रंगीचंगी आधुनिक संसारमा पुगे पनि बाल्यकालको दसैं संगीत सधैं सम्झनामा रहिरहन्छ ।

(राधिका अधिकारीसँगको कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १३:८:३८,   अन्तिम अपडेट : असोज २९, २०७८ शुक्रबार १३:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया