भुटान र चीनबीच ‘थ्री स्टेप रोडम्याप’ सम्झौता, भारतले असन्तुष्टी जनाउँदै भन्यो– ‘नोटिस गरेका छौ’

भुटान र चीनबीच महत्वपूर्ण समझदारीपत्र (एमओयु)मा हस्ताक्षर भएको छ । दुई देशले सीमा विवाद सुल्झाउन ‘थ्री स्टेप रोडम्याप’ समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यही एमओयुका आधारमा सीमा वार्तालाई अघि बढाउने भुटान र चीनले जनाएका छन् । 

भुटान र चीनबीच सीमा विवाद सुल्झाउन भएको एमओयुलाई विशेष रुपमा हेरिएको छ । यो एमओयुमा यस्तोवेला हस्ताक्षर गरिएको छ जतिबेला १७ महिनादेखि जारी भारत र चीनबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । 

शुक्रबार भुटान र चीनका विदेशमन्त्रीबीच भएको भिडियो कन्फ्रेन्सपछि उक्त एमओयुमा हस्ताक्षर भएको थियो । एमओयुप्रति असन्तुष्टी जनाउँदै भारतले ‘नोटिस गरेका छौं’ भन्ने प्रतिक्रिया दिएको छ । 

नेपालले २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्दा पनि भारतले असन्तुष्टी जनाउँदै ‘नोटिस गरेका छौं’ भन्ने प्रतिक्रिया दिएको थियो । त्यसपछि भारतले नेपालमाथि करिब साढे पाँच महिना नाकाबन्दी लगाएको थियो । 

विगत पाँच वर्षदेखि अवरुद्ध सीमा वार्तालाई अघि बढाउने उदेश्यले एमओयु गरिएको भुटान र चीनले जनाएका छन् । दुवै देशले अब सीमा वार्ताले गति लिने विश्वास व्यक्त गरेका छन् । सन् २०१७ मा दोकलाम विवाद र त्यसपछि कोरोना महामारीले गर्दा भुटान र चीनबीच सीमा वार्ता हुन सकेको थिएन । 



सन् २०१७ मा दोकलाम विवाद हुँदा भुटानको सीमा सुरक्षा गर्न भारतीय सेना पुगेका थिए । कयौं दिन चीन र भारतीय सेना दोकलाम आमनेसामने भएर बसेका थिए । पछि वार्ता मार्फत दोकलाममा सहजता ल्याइएको थियो । 

भारतीय अखबारहिन्दुले भुटान र चीनबीच भएको सम्झौतालाई ‘एकदमै महत्वपूर्ण’ भएको बताएको छ । भारत र चीनबीच सीमा विवाद सुल्झाउन १३औं चरणको वार्ता विना निष्कर्ष तनावपूर्णरुपमा सकिएको बेला भुटान र चीनबीच एमओयु हुनु सामान्य विषय नभएको हिन्दुले औंल्याएको छ । 



एमओयुका विषयमा भुटानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भुटान र चीनबीच थ्री स्टेप रोडम्याप एमओयु भएको छ, यसले सीमा वार्तालाई अघि बढाउन मद्दत गर्नेछ । यो रोडम्यापले सद्भाव, समझदारी र सामञ्जस्यका आधारमा  सीमा वार्तालाई सफलतापूर्वक निष्कर्षमा पुर्याउने छ, जुन दुवै पक्षलाई स्वीकार्य हुनेछ ।’ 

एमओयुका विषयमा भारतको नयाँदिल्लीस्थित भुटानको दूतावासले कुनै प्रतिक्रिया नजनाएको हिन्दुले जनाएको छ । हिन्दुले स्रोतलाई उद्धृत गर्दै चीनसँगको एमओयु निकै संवेदनशील भएकोले अहिले नै सबैकुरा सार्वजनिक नहुने उल्लेख गरेको छ । 

भुटानको विदेश मन्त्रालयका अुसार सन् २०२१ अप्रिलमा कुनमिङ्गमा भएको विशेषज्ञ समूहको १०औं बैठकमा ‘थ्री–स्टेप रोडम्याप’लाई अन्तिम रुप दिइएको थियो । त्यसपछि यसलाई थिम्पु र बेइजिङ सरकारलाई स्वीकृतिको लागि पठाइएको थियो । 

भुटानको विदेश मन्त्रालयको स्रोतले हिन्दुलाई थ्री स्टेप रोडम्यापलाई सकारात्मक प्रगति बताएको छ । सीमा विवादलाई लिएर भुटान र चीनबीच पछिल्लो ३७ वर्षमा २४ चरण वार्ता र १० पटक विशेषज्ञ समूहको बैठक भएको छ । 

सन् १९८४ देखि भुटान र चीनबीच सीमा वार्ता मुख्यगरी दुई अलग–अलग क्षेत्रमा केन्द्रित हुँदै आएको छ । यसमा एउटा दोकलाम हो जुन भुटानको पश्चिममा भारत–चीन–भुटानको ट्राइजक्शन हो । यो ४९५ वर्गकिलोमिटर फैलिएको छ । 

अर्को विवाद जाकरलंग र पसाम्लंग घाटीमा रहेको छ । यो दुवै ठाउँ उत्तरी तिब्बत र उत्तरी भुटानसँग जोडिएको छ । 

भुटान र चीनबीच एमओयु भएको सार्वजनिक भएपछि भारतको विदेश मन्त्रालयलाई सोधिएको थियो– के भारतलाई यस एमओयुको बारेमा पहिले नै जानकारी दिइएको थियो ? यस एमओयु दोकलाम ट्राइजक्शन पनि छ, के यो भारतलाई चिन्ताको विषय होइन ? 

मिडियाको प्रश्नको जवाफ दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भनेका छन्, ‘हामीले भुटान र चीनबीच भएको एमओयुलाई नोटिस गरेका छौं । हामीलाई यसबारेमा जानकारी छ । भुटान र चीन सन् १९८८ देखि सीमा विवादलाई लिएर वार्ता गरिरहेका छन् । यसैगरी भारतले पनि चीनसँग आफ्नो सीमा विवादका विषयमा वार्ता गरिरहेको छ ।’ 

शुक्रबार भुटानका विदेशमन्त्री तांडी दोर्जी र चिनियाँ उप–विदेशमन्त्री वु जिआंगाओले एमओयुमा हस्ताक्षर गरेका थिए । भारतका​लागि भुटानका राजदूत जनरल (रिटायर्ड) वेतसोप नामग्याल र भारतका लागि चिनियाँ राजदूत सुन वेइदोंग पनि एमओयु हस्ताक्षर कार्यक्रममा सहभागी थिए । भुटान र चीनबीच प्रत्यक्ष कूटनीतिक सम्बन्ध छैन, यसैकारण भारतको नयाँदिल्लीस्थित आ–आफ्नो दूतावास मार्फत कूटनीतिक संवाद उनीहरुले गर्दै आएका छन् । (बिबिसी)

  • प्रकाशित मिति : असोज २९, २०७८ शुक्रबार १७:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया