चीनले अन्तरिक्षबाट गर्‍यो महाविनाशक मिसाइल परीक्षण

संसारकै शक्तिशाली राष्ट्र बन्ने दौडमा रहेको चीनले हालै महाविनाशक हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । यो परमाणु क्षमतासहितको मिसाइल हो । 

चीनको जस्तो अन्तरिक्षबाट मिसाइल प्रहार गर्ने क्षमता विश्वका कुनै देशसँग पनि छैन । चीनको यो कदमबाट विश्वका शक्तिशाली पश्चिमा देशहरु समेत चिन्तित बनेका छन् । 

फाइनान्सियल टाइम्सका अनुसार चीनले अगस्टमा एक परमाणु क्षमताको मिसाइल परीक्षण गरेको थियो । जसले आफ्नो लक्ष्यमा पुग्नुअघि लो अर्बिटमा पृथ्वीलाई चक्कर लगाएको थियो ।

यो मिसाइल आफ्नो लक्ष्यभन्दा ३२ किलोमिटर टाढा गएको थियो । केही गुप्तचर सुत्रका अनुसार चीनले आफ्नो हाइपरसोनिक ग्लाइड भेइकललाई लङ्ग मार्च रकेटबाट पठाएको थियो । 

चीनले अन्तरिक्षबाट हाइपरसोनिक मिसाइल परीक्षण गरेकोमा अमेरिकी गुप्तचर निकाय समेत आश्चर्यमा परेको छ ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले यो पुरै मामिला त्रास फैलाउने किसिमको भएको बताएका छन् । यसैकारण आफूहरुले चीनलाई एक नम्बरको चुनौती मानेको पनि उनको टिप्पणी छ ।



अमेरिकी अधिकारीले अमेरिकाका भन्दा उन्नत प्रकारका हाइपरसोनिक हतियार निर्माणमा चीनले आश्चर्यजनक सफलता पाएको बताएका छन् । 

फाइनान्सियल टाइम्सका अनुसार चीनका साथै अमेरिका र रुसले हाइपरसोनिक ग्लाइड वाहन विकसित गरिरहेका थिए । तर उनीहरुमध्ये चीन सबैभन्दा अघि रहेको छ ।



यो मिसाइललाई ट्रयाक गर्न कठिन छ । यो मिसाइललाई रकेटबाट लन्च गरिन्छ र फेरि आफ्नो गतिमा पृथ्वीको परिक्रमा गर्छ । यसको गति ध्वनीको गतिभन्दा ५ गुणा बढी हुन्छ ।

रिपोर्टमा यसको मिसाइल रक्षा प्रणाली उत्तरी ध्रुवीय मार्गमा केन्द्रित रहेका कारण अमेरिकी सेनाका लागि ठूलो चूनौती हुने बताइएको छ ।  
 


  • प्रकाशित मिति : असोज ३१, २०७८ आइतबार १३:१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया