कानुन र संविधान भन्दा बाहिर गएका छैनौं : मुख्यमन्त्री आचार्य

प्रदेश १ मा सरकार र विपक्षी गठबन्धन वारपारको अवस्थामा छन् । दसैंका बेला राजनीतिक मनमुटाब अन्त्य भइ आपसी भाइचारा कायम हुने विश्वास गरिए पनि प्रदेश १ मा भने यस्तो भएन ।

बरु सरकार र विपक्षी गठबन्धन बीचको सम्बन्ध थप चिसो बन्दै गयो । सरकारले विश्वासको मत नलिएर सत्ता लम्ब्याउन खोजेको भन्दै विपक्षी गठबन्धनले सरकारको विरोध गरिरहेको छ । यो बाहेक सभामुख समेत सरकारको मतियार भएको भन्दै बिरोधमा उत्रिएका छन् । 

सरकारले विश्वासको मत लिने प्रयोजनका लागि भनेर असोज २२ गते प्रदेशसभाको बैठक बोलाएको थियो । २४ गते पनि सदन चल्यो तर सरकारले विश्वासको मत लिने प्रस्ताव सदन चलेको बेला दर्ता गरेन ।

सूचना टाँस गरेर सदन कार्तिक ५ गतेसम्मका लागि स्थगित गरेपछि असोज २५ गते मुख्यमन्त्री भिम आचार्यले सुटुक्क विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् ।

स्वकीय सचिव अनिल राजधामी र स्वकीय लोकेश निरौलामार्फत विश्वासको मत लिने प्रस्ताव असोज २५ गते दर्ता गराएका छन् । यसै सन्दर्भमा फरकधारकर्मी सुमन पुरीले मुख्यमन्त्री भिम आचार्यसँग गरेका कुराकानीको सारसंक्षेप :


मुख्यमन्त्री ज्यूले जाँदाजाँदै कार्यकर्ताहरु भर्ती गर्न विभिन्न बोर्ड र समितिहरु गठन गरेको आरोप विपक्षीहरुले लगाएका छन् नी ?



यो बिरोधका लागि विरोध मात्रै हो । मैले पनि आलोचना गरेको सुनेको छु । मैले यी सबै विरोध र प्रश्नको जवाफ दिएको छैन र दिन जरुरी पनि ठान्दिनँ । म काम गर्ने हो । म जति दिन बस्छु, दुई चार दिन बसौला, ६ महिना बसौला या डेढ वर्ष मुख्यमन्त्रीको रुपमा बस्छु, काम गर्नकै लागि बस्छु । म जति दिन बस्छु राम्रोका लागि बस्छु  । राम्रो काम गर्दा प्रशंसा गर्नु पर्ने हो । तर यहाँ बिरोध भइरहेको छ । त्यसैले मेरो बिरोधलाई पनि मैले प्रशंसा नै ठानेको छु ।

बिरोध गर्नेहरु पनि हिजो सरकारमै हुनु हुन्थ्यो । आफू सरकारमा हुँदा केही गर्न नसक्ने, माथिबाट थापेर सरकार चलाउने । मैले यही प्रदेशको राजश्व बढाउन काम गर्दा, खेलकुद पर्यटनको विकासमा काम गर्दा बिरोध गर्नु हुन्छ भने मेरो भन्नु केही छैन । बिरोध गर्नु नेपाली राजनीतिको धर्म जस्तै हो । साथीहरुले धर्म निभाउनु भएको छ ।



यसलाई मैले प्रसंशाकै रुपमा लिएको छु । प्रदेशको राजस्व वृद्धि गर्नु कहाँ हो कहाँ दुई तीन अर्ब रुपैयाँ हात थापेर बस्नु भयो । आफूले नै कमाउने र आफैं खर्च गर्ने हो । हिजो नगर्ने साथीहरुले आज बिरोध गर्नु भएको छ । यसलाई प्रशंसा ठानेको छु ।

तर यहाँले कार्यकर्ता भर्ती गर्नुभयो नी त ?

हैन मैले सबैलाई मिलाएर लगेको छु । जो–जो काम गर्न सक्ने हुनुहुन्छ मैले ती व्यक्तिहरुलाई तत् तत् स्थानमा नियुक्ति गरेको छु ।

खेलकुदमा काम गरेका साथीलाई खेलकुदमा, पर्यटनमा काम गर्ने साथीहरुलाई पर्यटनमा राखेको छु । यसमा मैले काम गर्नेहरुलाई अवसर दिएको छु । क्षमताका आधारमा जिम्मेवारी प्रदान गरेको छु ।

काम गर्न त कोही न कोही मान्छेलाई जिम्मा दिनु पर्‍यो । काम गर्ने मान्छे कोही आफ्ना कार्यकर्ता परे होलान् । मैले यो काम गरिरहँदा विज्ञताका आधारमा गरेको छु । त्यो क्षेत्रमा महत्वपूर्ण योगदान गरेकाहरुलाई जिम्मेवारी दिएको हुँ ।

अब म रहे पनि नरहे पनि साथीहरुले ती क्षेत्रमा काम गर्नुहुन्छ । यो नियुक्ति र गठनले यस क्षेत्रको विकास हुन्छ ।

अब म रहिन भने पनि काम गर्ने सरकार आयो भने ती साथीहरुले काम गर्ने अवसर पाँउछन् । हैन भत्काउने बिगार्ने सरकार आयो भने बाँदरको ताल हुन्छ ।

विपक्षीहरुले त यो सरकारको वैधानिकता नै छैन । अवैधानिक सरकारले गरेको काम वैधानिक छैन भन्छन् नी ?

भन्छन् । कोही साथीहरुलाई सरकारमा जान हतारो होला । तर हामी संविधान र कानुनअनुसार सरकार सञ्चालन गरिरहेका छौं । ऐन र नियमावालीमा अल्पमतमा परेको एक महिना भित्रमा सरकारले विश्वसको मत लिने प्रस्ताव दर्ता गर्नु पर्ने हुन्छ ।

संसद सचिवालयमा एकीकृत समाजवादी दल रोजको जानकारी आएको भदौको २८ गते हो । हामीले असोजका २५ गते नै विश्वासको मत लिने प्रस्ताव दर्ता गरेका छौं । महिना दिन पुग्नु भन्दा अगाबै दर्ता गरेका छौं । हामीले हिसाब गरेर प्रस्ताव दर्ता गरेका छौं ।

प्रस्ताव पेश गरेपछि त्यो संसदको विजनेश हो । संसद सचिवालयले प्रस्ताव दर्ता गरेपछि उसले आफ्नो काम अगाडि बढाउछु । कसैलाई हतारो हुँदैमा सचिवालयले छिटोछिटो काम त गर्दैन होला ?

नियमअनुसार जाने हो । उहाँहरु सरकारमा जाने खेलमा जानु भएको छ । मैले सुरुदेखि नै भनेको हो संविधानले र कानुनले व्यवस्था गरेको भन्दा बाहिर जादिनँ ।


तर सदनमै विपक्षी दलका नेताहरुले सभामुख र मुख्यमन्त्रीको साँठगाँठले सत्ता लम्ब्याउन खोजियो भनेका छन् नी ?

भन्छन् । सुनेको छु । तर कानुन र संविधान भन्दा बाहिर हामी गएका छैनौं । संविधान र संसद नियमावलीमा एक महिनाभित्रमा विश्वासको मत लिनु पर्ने भनेर भनिएको छ । त्यो प्रस्ताव हामीले नियमावली अनुसार नै दर्ता गरेका छौं । भदौ २८ गते अल्पमतमा परेको आधिकारिक जानकारी आएपछि असोजको २५ गते नै प्रस्ताव दर्ता गराएका छौं । कहाँ एक महिना भयो ?

विपक्षी दलहरुले त कार्यव्यवस्था समितिको बैठक समेत राखिएन । सदन छलेर सूचना टाँस गरेर अधिवेसन स्थागित गरियो भन्छन् ?

कार्य व्यवस्था समितिको बैठक किन नराख्नु ? कार्य व्यवस्था दिनैपिच्छे त हुँदैन नी । हुन्छ र ? २२ गते अधिवेसन सुरु हुने दिन ११ बजे हामीले बैठक बोलाएका थियौं  । ११ बजे देखि नै बैठक बसेर कार्यव्यवस्थाले भने अनुसार सबै कुरा भएको छ ।

सूचनाको टाँसको कुरा मैले २४ गते विश्वासको मत दिने प्रस्ताव दर्ता गरेकै थिइनँ । संसदको विजनेश भएन होला उहाँहरुले सूचना टाँस गर्नुभयो । दसैंको बेला विजेनश नभएको संसद बोलाएर के काम ? प्रस्ताव दर्ता भएपछि म्याद परिपक्व हुन दुई दिन समय लाग्छ ।

२४ गते नै म प्रस्ताव दर्ता गर्ने पक्षमा नै थिए । तर विभिन्न कार्य व्यस्तताले त्यो दिन दर्ता गर्न भ्याइएन । त्यही भएर मैले २५ गते दर्ता गराए । यो २७ गते म्याद परिपक्व हुन्छ । बिदा भएकाले संसद बोलाइएन ।

अब मतदान चाँही कहिले हुन्छ ?

संसदले विजनेश पाएको छ । संसदले विजनेश पाएपछि उहाँहरुले काम गर्नुहुन्छ । कार्तिकको ५ गते अधिवेसन बोलाइएको छ । अधिवेसनले र संसद सचिवालयले त्यो तय गर्छ । यो विषयमा छलफल हुन सक्छ ।

विश्वासको मत कसरी लिनु हुन्छ ?  

मैले छोटो अवधिमा भएपनि धेरै काम गरेको छु । प्रदेशको राजश्व अभिवृद्धि गर्ने योजना बनाएको छु । सधै केन्द्रको मुख ताक्नुपर्ने अवस्थाबाट प्रदेशलाई मुक्त बनाउने प्रयास गरेको छु । यो वर्षभरिमा मैले यहाँको अतिरिक्त स्रोत २५ अर्ब जोड्छु भनिरहेको छु । २५ अर्बले हरेक जिल्लामा २ अर्ब बढी बजेट जान्छ । बाटो घाटोमा ।

सांसदले जानेका र जनताले छानेका योजनामा बजेट थप्न सक्छौं । खेलकुद, कृषि क्षेत्रलाई अगाडि बढाउने प्लान गरेको छ । एनजीओ आइएनजीओलाई मनिटरिङ गर्ने योजना छ । श्रम क्षेत्रको आर्थिक पुनर्उत्थान गर्ने काममा लागेको छु । अहिले सरकारले विश्वासको मत लिन्छ कि लिँदैन भनेर कन्फुजन छ । कर्मचारीहरुले काम गरेका छैनन् । काम गर्ने कर्मचारीलाई पनि विपक्षीहरुले खबरदार गर्लास भनेर धम्क्याएका छन् ।

डर त्रासको अवस्था छ । कर्मचारीलाई थर्काउँछन् । फोन गरीगरी धम्क्याएका छन् । यो केटाकेटी पनि भन्छु । तै पनि हामीले यो असजिलो अवस्थामा काम गरेका छौं । यो काम गर्ने सरकार हो । काम गर्ने सरकारलाई विस्थापित गर्ने सांसदहरुले जनतालाई के गर्लान् ? अहिले मैले विश्वासको मत लिए डेढ बर्ष जान्छ ।

यदि विश्वासको मत लिन सकेनौ भने पनि हामी विपक्षी हुन्छौ । हामीले सहयोग नगरिकन हुँदैन । तर अहिले यहाँ के भइरहेको छ भने आफू पनि काम नगर्ने अरुले गरेको काम पनि देखि नसक्ने यो त भएन नी ?
 

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार ८:२९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया