प्रदेश–२ मा असोजसम्म २ लाख १४ हजारभन्दा बढीले गराए स्वास्थ्य बिमा

सरकारको महत्वाकांक्षी योजनाको रुपमा हेरिएको स्वास्थ्य विमा कार्यक्रम प्रदेश २ मा विस्तारै प्रभावकारी बन्दै गएको छ । 

प्रदेश २ को ५४ लाख जनसंख्यामध्ये असोज मसान्त सम्ममा २ लाख १४ हजार ४ सय ६७ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य बिमा बोर्ड प्रदेश २ का प्रदेश संयोजक रमेन्द्र प्रसाद कुशवाहाले जानकारी दिए ।  

२०७४ साल माघ २५ गतेदेखि महोत्तरीबाट सुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम अहिले प्रदेश २ का ८ वटै जिल्लामा विस्तार भइसकेको छ । 

रौतहटमा २०७४ चैत २२ गते, पर्सामा २०७५ जेठ ७ गते, धनुषामा २०७५ माघ २९ गते, सिरहामा २०७५ फाल्गुन २ गते, बारामा २०७७ चैत २५ गते, सर्लाहीमा २०७७ चैत २५ गते र सप्तरीमा २०७७ असोज २५ देखि सञ्चालनमा ल्याइएको स्वास्थ्य विमा कार्यक्रम क्रमिक रुपले प्रभावकारी बन्दै गएको छ । 

प्रदेश २ का ६१ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थासँग सम्झौता गरेर सुचारु गरिएको स्वास्थ्य विमा कार्यक्रम सरकारी स्वास्थ्य संस्थाहरुको फार्मेसीमा औषधी अभावको समस्याले प्रभावकारितामा थोरै कमी आएपनि विस्तारै गति समात्दै गएको संयोजक कुशवाहाले बताए ।  

प्रादेशिक अस्पताल जनकपुरधामको फार्मेसीमा पनि पर्याप्त औषधी नहुँदा अस्पतालमा सेवा लिन आउनेको संख्या गुणात्मक रुपमा न्युन रहेको उनले बताए । 



उनले भने, ‘सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूले बदमासी गरेपछि स्वास्थ्य विमा गरेका विमितहरु निःशुल्क औषधी पाउनबाट वञ्चित भएका छन् ।’ 

नीजि स्वास्थ्य संस्थातर्फ प्रदेश २ का आँखा अस्पतालहरुले राम्रो सेवा दिदैं आएको बताउँदै कुशवाहाले आरएन केडिया आँखा अस्पताल पर्सा, गौर आँखा अस्पताल रौतहट, किरण आँखा अस्पताल पर्सा, सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, जानकी आँखा अस्पताल जनकपुरधाम, दृष्टि आँखा अस्पताल पर्सा, नेशनल मेडिकल कलेज वीरगञ्ज, शुभ स्वस्तिक अस्पताल महोत्तरी, नेशनल मेडीकल कलेज पर्सा, सप्तऋषी अस्पताल सिरहा लगायतका अस्पतालहरुले विमितहरुलाई भरपर्दो सेवा प्रदान गरिरहेको बताए । 



स्वास्थ्य विमा कार्यक्रमप्रति निजी स्वास्थ्य संस्थाहरुले खासै चासो नदेखाएको गुनासो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ बस्ने अम्बिका मण्डलले गरिन् । उनले प्राथमिक स्वास्थ्य केन्द्रहरुमा जाँदा औषधि अभाव रहेको आफूहरुले पटक पटक सुन्दै आएको बताइन् । 

स्वास्थ्य बीमा कार्यक्रम अहिले काठमाडौंबाहेक देशका सबै जिल्लामा सुरु भइसकेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १, २०७८ साेमबार १६:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया