बागमतीमा धान क्षतिको विवरण संकलन सुरु, तत्काल राहतको तयारी

केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका चितवन, मकवानपुर, काभ्रेसहित विभिन्न जिल्लामा भित्र्याउन तयार भइसकेको धानबालीमा क्षति पुगेको छ । प्रदेशभर काटेर राखेको र पाकेको धानमा क्षति पुगेपछि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको १ सय १९ स्थानीय तहबाट क्षतिको विवरण संकलन गर्न सुरु गरेको छ ।  

प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र र स्थानीय तहबाट विवरण संकलन सुरु गरेको मन्त्रालयका सचिव डा. शरण पाण्डेले बताए । बागमती प्रदेशभरका धान किसानलाई परेको क्षतिको विवरण संकलन गरेर तत्काल राहत दिने मन्त्रालयले तयारी गरेको हो ।

पाकेको धान काटेर भिजेको, डुबेको, बगाएको धानका किसानलाई राहत दिने उल्लेख गर्दै सचिव पाण्डेले भने, ‘धेरै खालका बालीमा भएको नोक्सानीमा क्षतिपूर्ति दिनका लागि मन्त्रालयले एक करोड रुपैयाँ छुट्याएको छ ।’ धानमा भएको क्षतिको विवरण संकलन गरेपछि त्यही रकमबाट किसानलाई राहत उपलब्ध गराउने उनले बताए । 

उनका अनुसार भारी वर्षा र हुरीका कारण धान बालीमा पुगेको क्षतिको यकिन विवरण आइनसकेको बागमती प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयले सबै ज्ञान केन्द्रलाई विवरण संकलनका लागि पत्रसमेत पठाइसकेको छ । 

बागमती प्रदेशमा धानमा क्षति पुगेको कारण तत्काल किसानसम्म पुग्नका लागि ‘र्यापिड टास्कफोर्स’ गठन गरिएको कृषि विकास निर्देशनालय, बागमतीका प्रमुख रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । 
 
मकवानपुरमा अनुगमन 

मकवानपुर जिल्लामा तीन दिनदेखिको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको समस्या बुझ्न प्रदेश मन्त्रालयले  मकवानपुरमा अनुगमन गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेको नेतृत्वमा गएको टोलीले धानबालीमा भएको क्षतिको अनुगमन गरेको हो । 



हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ पिप्ले, वडा नम्बर–६ चौघडा, चुच्चेखोला, वडा नम्बर–१७ राजदेवी, वडा नम्बर–१६ हटियालगायत क्षेत्रका खेतमा किसानले लगाएको धानबालीमा भएको क्षतिबारे बुझ्न लागि अनुगमन गरिएको हो ।
  
अनुगमनका क्रममा बीउबिजन प्रयोगशाला हेटौँडाका बालिविकास अधिकृत कुलप्रसाद दवाडी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीलगायतको सहभागिता थियो । क्षतिको विवरण संकलनपछि किसानलाई राहत रकम पनि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।



  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १८:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया