युएई र ओमानमा जारी आइसिसी पुरुष टि–२० विश्वकपमा बगंलादेशले लगातार दोस्रो जित निकालेको छ ।
बंगलादेशले पहिलो चरणको समूह ‘बी’ अन्तर्गत बिहीबार भएको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ८४ रनले पराजित गरेको हो ।
१८२ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो ।
पिएनजीका लागि किप्लिन डोरिगाले अविजित ४६ रनको योगदान दिए । ३४ बलको सामना गरेका उनले समान २ चौका र छक्का प्रहार गरे ।
चाड सोपरले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पिएनजीलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका साकिब अल हसनले ४, मोहम्मद सैफुद्दिन र तस्किन अहमदले समान २ तथा मेहदी हसनले १ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
यसअघि ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो ।
बंगलादेशका लागि कप्तान महमुदुल्लाहले अर्धशतकीय पारी खेले । १७.२ ओभरमा डेमियन राभुले चाड सोपरबाट क्याच गराउनुअघि उनले २८ बलमा समान ३ चौका र छक्कासहित ५० रन प्रहार गरे । साकिब अल हसनले ४६ र लिटोन दासले २९ रनको योगदान दिए ।
पिएनजीका कप्तान असाद भाला, डेमियन राभु र काबुआ मोरियाले समान २ तथा सिमोन अटाईले १ विकेट हात पारे ।
जितसँगै ३ खेलमा ४ अंकका साथ समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको बंगलादेशले सुपर १२ को सम्भावनालाई बलियो बनाउँदा पिएनजी भने लगातार तेस्रो हार बेहोर्दै विनाअंक प्रतियोगिताबाट बाहिरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।