टि-२० विश्वकप : स्कटल्यान्ड समूह विजेता बन्दै सुपर १२ मा

युएई र ओमानमा जारी आइसिसी पुरुष टि-२० विश्वकपमा स्कटल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।

स्कटल्यान्डले पहिलो चरणको समूह ‘बी’अन्तर्गत बिहीबार भएकोे आफ्नो अन्तिम  खेलमा आयोजक ओमानलाई ८ विकेटले पराजित गरेको हो ।

१२३ रनको सामान्य विजयी लक्ष्य स्कटल्यान्डले १७ ओभरमा २ विकेटको गुमाउँदै पूरा गर्‍याे ।

स्कटल्यान्डको जितमा कप्तान काइल कोट्जरले २८ बलमा २ चौका र ३ छक्कासहित ४१ रनकोे योगदान दिए । अविजित रहेका रिची बेरिंगटनले ३१ र म्याथ्यु क्रसले २६ रन बनाए । जर्ज मुन्सेले २० रन जोडे ।
 
ओमानका फैयाज बट र खवार अलीले १-१ विकेट लिए । 

त्यसअघि अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ बनाएको थियो । 

ओमानका ओपनर अकिब इलीयासले ३५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए । कप्तान जिशान मक्सुदले ३४ र मोहम्मद नदीमले २५ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।



स्कटल्यान्डका जोश डेभीले ३, सफ्यान शरिफ र माइकल लेस्कले २-२ विकेट लिए । मार्क वाटले १ विकेट हात पार्दा २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यो नतिजासँगै पहिलो चरणको समूह ‘बी’बाट स्कटल्यान्डले शतप्रतिशत जितका साथ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थान तथा बंगलादेशले ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक जेडेर दोस्रो स्थानमा रहँदै सुपर १२ को यात्रा तय गरेका छन् । 



स्कटल्यान्ड सुपर १२ को समूह ‘बी’ तथा बंगलादेश समूह ‘ए’मा रहनेछन् ।

सुपर १२ को समूह ‘ए’मा अस्ट्रेलिया, इंग्ल्यान्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, बंगलादेश र पहिलो चरणको समूह ‘ए’को विजेता रहनेछन् । 

समूह ‘बी’मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड र  पहिलो चरणको समूह ‘ए’को उपविजेता रहनेछन् ।

यो समूहबाट ओमान ३ खेलमा २ हार र १ जितसहित २ अंक जाेडेर तेस्रो स्थानमा तथा पहिलो पटक टि-२० विश्वकप खेलेको पपुवा न्युगिनी तीनै खेलमा पराजय बेहोर्दै अंकविहीन हुँदै पुछारमा रहेर बाहिरिएका छन् । 

  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार ७:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया