महाकालीले कटान गरेको भाइरल रोड अनुगमनमा पुगे प्रधानमन्त्री देउवा

सुदूरपश्चिमस्थित बाढीपहिरो र डुबान क्षेत्रको अनुगमनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि कञ्चनपुर पुगेका छन् । कैलाली सदरमुकाम धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन् । 

यसअघि प्रधानमन्त्री देउवा बिहीबार बेलुकी कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका पुगेर धनगढी फर्किएका थिए । महेन्द्रनगर पुगेर उनले महाकाली नदीमा निर्माणधीन पक्की पुल जोड्ने सम्पर्क सडक भाइरल रोड कटानको निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा भीमदत्त नगरपालिका-१२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लालबहादुर शाहीले प्रधानमन्त्री देउवालाई तटीय क्षेत्रको समस्या र ६ लेन सडक कटानबारे ‘ब्रिफिङ’ गरेका छन् । 

अध्यक्षद्वयले ५० मिटर लामो ६ लेन सडक कटानी हुनुमा ठेकेदार कम्पनीको लापरवाही र डिजाइनमा भएको गडबडीबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेका थिए । तर, प्रधानमन्त्री देउवाले त्यसबारे केही बोलेनन् । उनले काठमाडौं फर्केपछि राहत प्याकेजको व्यवस्था गर्ने दोहोर्‍याए । 

भाइरल रोडमा प्रधानमन्त्रीले दुई मिनेट आश्वासन मन्तव्य राखेका थिए ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखक सहभागी थिए ।





  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १३:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया