ताइवानलाई लिएर चीन र अमेरिकाबीच वाकयुद्ध, चीनको आक्रामक रवैयालाई रोक्नसक्ला त अमेरिका ?

पछिल्ला दिन चीन र अमेरिकाबीच तनाव बढिरहँदा बीचमा आएको छ– ताइवान । 

चीनले ताइवानलाई आफ्नो भूमि मान्दै आएको छ । ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै आएको छ । 

अहिले चीन र अमेरिकाका नेताबीच ताइवानलाई लिएर वाकयुद्ध नै चलिरहेको छ । सवाल जवाफमा उनीहरु व्यस्त छन् । यसले एसियामा अस्थिरताको खतरा पनि बढाएको छ । 

चीनले स्पष्ट शब्दमा भनेको छ– ताइवान मामिलामा कुनै पनि प्रकारको सम्झौता वा छुटको लागि कसैलाई कुनै स्थान छैन । अर्थात एक चीन नीतिभन्दा बाहिर गएर कसैले सम्झौता गरे त्यो चीनलाई स्वीकार हुनेछैन । 

चीनको यो भनाई तब आयो जब अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘यदी चीनले ताइवानमाथि आक्रमण गर्छ भने अमेरिका ताइवानको रक्षा गर्न प्रतिबद्ध छ’ भन्ने टिप्पणी गरेका थिए ।  



अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणीपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकार सम्मेलनमा एक चीन नीतिलाई दोहोर्याउँदै भने– ‘ताइवान चीनको हिस्सा हो ।’ 

एक चीन नीति अर्थात हङकङ र ताइवान चीनको भूमी हो भन्ने समर्थन र मान्यता । यही नीतिको आधारमा चीनले आफ्नो विदेश नीति सञ्चालन गरिरहेको छ र कूटनीतिक सम्बन्ध जोडेका सबै देशले चीनको यो नीतिलाई स्वीकारेका पनि छन् । यसमा अमेरिका पनि पर्छ । 



एक चीन नीति स्वीकार गरेको अमेरिकाका राष्ट्रपति बाइडेनले ‘यदी चीनले ताइवानमाथि आक्रमण गरे ताइवानको रक्षा गर्न अमेरिका प्रतिबद्ध छ’ भन्ने टिप्पणी गरेपछि चीन थप चिढिएको हो । 

अमेरिकी नीति विरुद्ध हुनेगरी बाइडेनले दिएको अभिव्यक्तिले अमेरिकालाई नै अप्ठेरोमा पार्यो । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले त्यसको खण्डन गरे । उनले भने– ‘राष्ट्रपतिको टिप्पणीलाई अमेरिकी नीतिमा आएको परिवर्तन भनेर बुझ्नु हुँदैन ।’ अर्थात बाइडेन जो बोले त्यो अमेरिकी नीति भित्र पर्दैन । 

ह्वाइट हाउसका प्रवक्ताले मात्र होइन बाइडेनको अभिव्यक्तिको ताइवानले पनि खण्डन गर्यो । ताइवानले अमेरिकी राष्ट्रपतिले दिएको अभिव्यक्तिले चीनलाई हेर्ने आफ्नो नीतिमा कुनै परिवर्तन नहुने बतायो । 

‘कुरा जब चीनको सम्प्रभुता तथा क्षेत्रीय एकता जस्ता प्रमुख हितको उठ्छ भने त्यसमा सम्झौता वा छुटको लागि कुनै स्थान हुनेछैन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले भनेका छन् । 

पछिल्ला दिन चीन र ताइवानबीच तनाव बढिरहेको छ । चीनको दर्जनौं लडाकु विमानले एक साथ ताइवानको हवाइ क्षेत्रको अतिक्रमण गरेका थिए, जसप्रति ताइवानले कडा आपत्ति जनाको थियो । सोही कुरालाई चीनले भने आफ्नो नियमित अभ्यास बतायो । 

‘ताइवान चीनको अविभाजित अंग हो । ताइवान मुद्दा पूर्ण रुपमा चीनको आन्तरिक विषय हो । यसमा कुनै पनि प्रकारको विदेश हस्ताक्षेप स्वीकार्य छैन,’ पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने । 

प्रवक्ता वाङले अबका दिनमा ताइवानको विषयमा सर्तक भएर बोल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई चेतावनी पनि दिए । बिखण्डनकारीलाई फाइदा हुने गरी नबोल्न उनले आग्रह गरे । वाङले चीन–अमेरिका सम्बन्ध बिगार्ने गरी र ताइवानको शान्ति तथा स्थिरता भङ्ग गर्ने खालका अभिव्यक्ति नदिन सबैलाई आग्रह गरे । 

बाइडेनले के के भने ? 

चीनले ताइवानमाथि आक्रमण गरे ताइवानको रक्षा गर्ने मात्र होइन अमेरिकी राष्ट्रपति बाइडेनले चीनसँग जोडिएका अन्य मुद्दामा पनि टिप्पणी गरेका थिए । 

चीनले हालै हाइपरसोनिक मिसाइल परीक्षण गरेको कुरा बाहिर आएको छ, के अमेरिका ताइवानको रक्षाको लागि प्रतिबद्ध छ ? चिनियाँ सेनाको सामाना गर्न अमेरिका के गर्छ ? अमेरिकी न्युज च्यानल सिएनएनको पत्रकारको प्रश्नमा बाइडेनले जवाफ दिएका थिए, ‘हो, हामी ताइवानको रक्षा गर्न प्रतिबद्ध छौं । हाइपरसोनिक मिसाइल परीक्षणलाई लिएर निराश हुन आवश्यक छैन । चीन, रुस र बाँकी देश पनि बलियो हुँदै छन् तर उनीहरुलाई यो पनि थाहा छ– संसारमा सबैभन्दा मजबुत सेना अमेरिकासँग छ ।’ 

ताइवानले के भन्यो ? 

ताइवानको राष्ट्रपतिको कार्यालयले ताइवान कुनै पनि दबावका सामु नझुक्ने र कसैको समर्थन पाउँदैमा कुनै कदम नचाल्ने स्पष्ट पारेको छ । 

‘ताइवान मजबुत तरिकाले आत्मरक्षा गर्नेछ,’ ताइवानको राष्ट्रपति कार्यालयका प्रवक्ता जेवियर चेङ्ले भनेका छन् । 

अमेरिकी बाइडेन प्रशासनले निरन्तर ताइवानलाई समर्थन गरिरहेको उनले स्वीकारे छन् । 

चीन र ताइवानको जटिल सम्बन्ध 

चीन र ताइवानबीचको तनाव नयाँ होइन । यो निकै पुरानो भइसक्यो । सन् १९४० को दशकमा भएको गृहयुद्धमा चीन र ताइवानको विभाजन भएको थियो । त्यसपछि ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र बताउँदै आएको छ । चीन भने ताइवानले आफ्ना स्वायत्त प्रान्तको रुपमा हेर्दै आएको छ । चीनले बारम्बार भन्दै आएको छ– आवश्यक परे ताइवानलाई बलपूर्वक गाभ्नेछौं । 

ताइवानसँग आफ्नै संविधान, लोकतान्त्रिक रुपमा निर्वाचित नेता र करिब तीन लाख सक्रिय सैनिक रहेका छन् । 

ताइवानलाई केही देशले मान्यता दिएका छन् । तर धेरैजसो देश ताइवानलाई चीनको हिस्सा मान्छन् । अमेरिकाको पनि ताइवानसँग आधिकारिक रुपमा कूटनीतिक सम्बन्ध छैन । तर अमेरिकाले ताइवान रिलेसन एक्ट मार्फत ताइवानलाई हतियार बेच्दै आएको छ । उक्त कानूनमा ताइवानको आत्मरक्षामा  अमेरिकाले सघाउने उल्लेख छ । 

चीन–ताइवानको हालको सम्बन्ध 

चीन र ताइवानबीच पछिल्ला दिन तनाव तिव्ररुपमा बढेको छ । चीनले लगातार ताइवानको हवाई क्षेत्रमा अतिक्रमण गरिरहेको छ । अतिक्रमणसँगै चीनका शिर्ष नेतालाई ताइवान एकीकरणको मुद्दा उठाइरहेका छन् । 

चीनका राष्ट्रपति सी चिनफिङले ताइवानका विषयमा भनेका छन्, ‘एकीकरण कार्य अवश्य पनि पुरा गर्नुपर्छ ।’ एकीकरण शान्तिपूर्ण रुपमा हुनुपर्ने जिकिर उनले गरेका छन् । उनले चिनियाँ जनतामा पृथकतावादको विरोध गर्ने महान् परम्परा रहेको दाबी समेत गरेका छन् । 

यसको जवाफमा ताइवानले आफ्नो भविष्य जनताको हातमा रहेको प्रतिक्रिया दिएको थियो । ताइवानका राष्ट्रपति साई इङ्ग–वेनले चीन माथि पहिलो आक्रमण नगर्ने तर आफ्नो देशमाथि आक्रमण भए मजबुत तरिकाले प्रतिकार गर्ने बताएकी छन् । 

‘हामी शान्ति चाहन्छौं तर हाम्रो लोकतन्त्र र जीवन शैली खतरामा पर्यो भने आत्मरक्षाको लागि जो आवश्यक पर्छ त्यो गर्न ताइवान तयार छ,’ ताइवानकी राष्ट्रपति साईले फरेन अफेयर्समा लेख लेख्दै भनेकी छन् । ताइवानमाथि आक्रमण भए विनाशकारी परिणाम आउने उनले चेतावनी समेत दिएकी छन् । 

यही अक्टोबरको पहिलो चार दिनमा १५० वटा चिनियाँ लडाकु विमान ताइवानको आकाशमा प्रवेश गरेका थिए । चीनका मिडियाले यसलाई शक्ति प्रदर्शनको रुपमा विश्लेषण गरे । तर विश्वका अन्य देशले भने यसमा भय र चीनको आक्रामक रवैया देखेका छन् । ताइवानले विश्वका शक्तिराष्ट्रहरुलाई भनेको छ– चीनको खतरनाक ‘मुभ’ बुझ्न जरुरी छ ।  (बिबीसीबाट साभार)


  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १३:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया