अब कहिले हुँदैछ कांग्रेस महाधिवेशन ? के फागुनमा सार्न खोजिँदैछ ?

चार पटकसम्म सारिएर तय गरिएको सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अब ९–१३ मंसिरमा हुने सम्भावना लगभग टरेको छ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू फेरि सभापति हुन्छु भन्ने सुनिश्चित गर्न नसक्दा र संस्थापन इतर पक्षले साझा उम्मेदवार तय गर्ने गृहकार्यका लागि थप समय आवश्यक रहेको आभास गर्दा यसपटक पनि महाधिवेशन नहुने निश्चित भएको हो ।

यतिमात्र होइन, पछिल्लो समय निकै पेचिलो बनेको नेपाली कांग्रेस क्रियाशिल सदस्यता विवाद पनि अझै केही जिल्लामा टुंगिन बाँकी रहेको छ । रसुवा, सर्लाहीलगायतका १२ जिल्लामा क्रियाशिल सदस्यता विवाद नटुंगिदा त्यहाँ वडा अधिवेशन पनि हुन सकेको छैन । यसले पनि कांग्रेसको केन्द्रीय महाधिवेशनलाई पनि प्रभावित पारेको छ ।

दशैंअगाडि महाधिवेशनको विषयमा जुन राप र चाप बढेको थियो, अहिले कांग्रेसमा त्यसको निरन्तरता देखिएको छैन । 

यसको प्रमाणका रुपमा धनगढीमा पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको जवाफ पनि लिन सकिन्छ । 

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न धनगढी पुगेका प्रधानमन्त्री देउवालाई पत्रकारहरुले सोधेका थिए– के कांग्रेसको महाधिवेशन यसअघि निर्धारण गरिएकै समयमा होला त ?

यसको जवाफमा देउवाले भने, ‘त्यो त निर्वाचन समितिलाई थाहा होला ।’



देउवाको यही जवाफका कारण पनि पछिल्लो समय नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नै समयमा कांग्रेस महाधिवेशन नहुने अनुमानमा लाग्न थालेका छन् ।

यसअघि मंसिरमा गर्ने भनिएको कांग्रेस महाधिवेशन केही पछाडि धकेल्दा आफूलाई फाइदा हुने देउवाले अनुमान गरेका छन् । त्यस्तै, महाधिवेशनलाई २ महिना मात्रै भए पनि पछाडि सार्दा आफूलाई पनि सहज अवस्था आउने संस्थापन इतर पक्षका प्रमुख नेता रामचन्द्र पौडेलको बुझाइ रहेको छ ।



‘देउवालाई फेरि आफू सभापति हुनु पर्छ भन्ने छ,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘त्यसैले उनी अहिले आफू सत्तामा हुँदा त्यसको भरपूर प्रयोग गर्न चाहन्छन् र महाधिवेशनको मिति अझ पछाडि धकेल्न चाहन्छन् ।’ सत्तामा हुँदाको शक्तिलाई उनले महाधिवेशनमा अत्यन्त धेरै प्रयोग गरेर आफू फेरि सभापतिमा दोहोरिन चाहेको उनी तर्क गर्छन् ।

अर्कोतिर संस्थापन इतर पक्षमा पनि अहिलेसम्म सभापतिको उम्मेदवार को भन्ने टुंगो लगाउन सकिएको छैन । संस्थापन इतरबाट रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह सभापतिको उम्मेदवार हुने चर्चा चलिरहेको छ । तर, उनीहरुले बारम्बार गरिएका भेला तथा भेटघाटमा चाहिँ आफूहरुबाट एक जना उम्मेदवार हुने बताउँदै आएका छन् ।

‘अहिलेसम्म रामचन्द्र पौडेलले यसलाई म्यानेज गर्न सकेको देखिएको छैन, उनी आफ्नो समूहबाट एक जना मात्र उम्मेदवार सभापतिमा ल्याउन चाहन्छन्, त्यसका लागि बरु आफूले उम्मेदवारी नदिन पनि सक्छन्,’ कांग्रेसका ती नेताले भने, ‘यही कारण पनि अहिले तत्काल महाधिवेशन हुँदा आफ्नो समूह थप कमजोर हुने विश्वास उनले लिएका छन् । त्यसैले रामचन्द्र पौडेलले पनि महाधिवेशनलाई केही पर धकेल्न खोजेको नै बुझिएको छ ।’

तर, रामचन्द्र पौडेलनिकट तथा कांग्रेसको क्रियाशिल विवाद छानबिन समितिका सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवन परियार यो मान्न तयार छैनन् । उनी त रामचन्द्र पौडेलले अधिवेशन सकेसम्म भनिएकै मितिमा गर्नु पर्ने अडान राखिरहेको फरकधारलाई बताए ।

‘उहाँले आजभोलि पनि सकेसम्म यी विवादहरु छिटो टुंग्याउँ, महाधिवेशन गर्नुपर्छ भनिरहनु भएको छ,’ परियारले फरकधारलाई भने, ‘हामीले महाधिवेशन नहोस् भन्ने चाहनु राख्नु पर्ने कुनै कारण नै छैन ।’

तर, १२ जिल्लामा वडा अधिवेशन पनि नसकिएकाले मंसिरमा नै महाधिवेशन हुने सम्भावना पनि टर्दै गएको परियारले बताए ।

‘अब तिहारअगाडि यी जिल्लामा वडा र पालिका अधिवेशन गर्ने र छठलगत्तै अन्य तहको अधिवेशन गर्ने हो भने पनि पुसको पहिलो साताभित्र महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि संस्थापन पक्षको तत्परता चाहिन्छ ।’

तर, संस्थापन पक्ष यसका लागि तयार नै नभएको कांग्रेसका अर्का एक केन्द्रीय सदस्य बताउँछन् ।

‘आफैं पावरमा भएको समयमा र भोलि फेरि सभापति हुनसकिन्छ भन्ने निश्चित नभइसक्दा कसैले पनि महाधिवेशनका लागि ताकेता किन गरोस्,’ उनले भने, ‘हाम्रो सभापति कतिसम्म कमजोर देखिनु भएको छ भने पार्टी कार्यालयमा झन्डै ३ महिना यता भइरहेको धर्ना र अनसनलाई समेत उहाँले बेवास्ता गर्नु भएको छ ।’

उनले आफू पार्टी सभापति हुँदा नै संघीय निर्वाचनको घोषणा गर्ने देउवाको चाहनाले पनि यस्तो भएको हुनसक्ने बताए ।

बारा, सप्तरी, रौतहट, रसुवालगायतका जिल्लाको क्रियाशिल सदस्यता विवाद छानबिनका लागि वा यो विवाद समाधानका लागि चाहिँ दुवै देउवा र पौडेल पक्षले खासै चासो देखाएका छैनन् । 

पछिल्लो समय बाँकी रहेका जिल्लाको क्रियाशिल सदस्यता छानबिनका लागि देउवा पक्षबाट रमेश लेखक, पौडेल पक्षबाट मीनेन्द्र रिजाल र कृष्णप्रसाद सिटौलाको एउटा समिति बनेको छ । 

तर, दशैंपछि यी तीन जनाले क्रियाशिल सदस्यता विवादको विषयमा खासै छलफल गरेका छैनन् । ‘मन्त्री भएपछि मीनेन्द्र रिजाल मन्त्रालयको काममा व्यस्त छन्,’ कांग्रेसका ती क्रियाशिल सदस्य भन्छन्, ‘देउवालाई पनि यसमा अहिले चासो छैन, उनी सरकार र गठबन्धनको विषयमा नै धेरै व्यस्त छन् । त्यसैले अहिले नै अब कांग्रेसमा बाँकी रहेका विवाद समाधान हुने सम्भावना नै कम देखिन्छ ।’

‘पार्टी सभापति भएकाले समयमा नै महाधिवेशन गर्न खासमा तत्पर हुनु पर्ने प्रधानमन्त्री देउवा हो,’ जीवन परियार भन्छन्, ‘तर, उहाँले यसमा गम्भीर भएर तत्परता देखाउनु भएको छैन ।’

यस्तो अवस्थामा अब कहिले होला त कांग्रेस महाधिवेशन ?

‘नेतृत्वले चाहने हो भने प्राविधिक कुराहरु सबै मिलाएपछि मंसिरको अन्तिम साता वा पुसको पहिलो सातामा गर्न सम्भव छ,’ परियारले भने, ‘नचाहने हो भने त जति पछि धकेल्दा पनि हुन्छ ।’

तर, कांग्रेसका अर्का केन्द्रीय सदस्य चाहिँ प्रधानमन्त्री देउवाले पहिले अर्ली इलेक्सनका लागि समय तोकेपछि महाधिवेशनको तत्परता देखाउन सक्ने अनुमान गर्छन् ।

‘पहिले अर्ली इलेक्सनको समय तोकिन्छ होला,’ उनले भने, ‘त्यसपछि बल्ल महाधिवेशनको तयारी हुन्छ । यस्तो अवस्थामा महाधिवेशन फागुनसम्म सार्न सकिन्छ ।’

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १५:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया