आज सिजनको पहिलो एल क्लासिको हुँदै

स्पेनिस ला लिगाको सिजन २०२१/२२ को पहिलो ‘एल क्लासिको’अर्थात् बार्सिलोना र रियल मड्रिडबीचको भिडन्त आइतबार हुँदैछ । खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति ८ बजे हुनेछ ।

रियलले नयाँ सिजनमा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइरहँदा बार्सिलोना भने आफ्नो पुरानो लयमा फर्कन सकेको छैन ।
 
लिगमा अहिले दुवै टोलीले आठ खेल खेलिसकेका छन् । रियल बार्सिलोनाभन्दा २ अंकले अगाडि छ । बार्सिलोना घरेलु मैदानमा रियललाई हराएर अगाडि बढ्ने दाउमा हुनेछ । रियल पनि बार्सिलोनालाई हारकाे स्वाद चखाउन चाहन्छ ।

रियल पाँच जित, दुई बराबर र एक हार बेहोर्दै १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

चार जित, तीन बराबरी र एक हार बेहोरेको बार्सिलोना १५ अंकसहित सातौं स्थानमा छ । शीर्ष स्थानको रियल सोसिडाडले नौ खेलबाट २० अंक जोडेको छ ।

रियलका कप्तान करिम बेन्जीमा यतिबेला करिअरकै उच्च लयमा देखिएका छन् । उनले लिगको सुरुवाती आठ खेलमा नौ गोल र सात गोलका लागि अवसर सिर्जना गरेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् ।
 
बार्सिलोनामा मेम्फिस डिपायले शानदार प्रदर्शन गरिरहेका छन् । यसै सिजन फ्रेन्च क्लब लियोनबाट बार्सिलोना आएका डिपाएले केही मात्रामा भए पनि लियोनल मेस्सीको अभावलाई पूर्ति गरेका छन् । उनले आठ खेलमा चार गोलसहित दुई गोलका लागि अवसर सिर्जना पनि गरेका छन् ।

एल क्लासिको भिडन्तमा यी दुई टोलीबीच कुल २४६ आधिकारिक खेल भएका छन् । जसमा रियलले ९८ र बार्सिलोनाले ९६ खेल आफ्नो पक्षमा पार्दा ५२ खेल बराबरीमा सकिएको छ ।



ला लिगामा यी दुईले सन् १९२९ मा एक अर्काको सामना गरेका थिए । जसमा रियल २–१ ले विजयी भएको थियो । सन् २०२१ मा भएको पछिल्लो भेटमा पनि रियल २-१ ले नै विजयी भएको थियो । 

१६ वर्षपछि मेस्सी र रामोसविनाको एल क्लासिको



एल क्लासिकोमा अहिलेसम्म सबैभन्दा बढी खेल खेल्ने खेलाडी बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका सर्जियो रामोस हुन् ।

मेस्सी र रामोसले सर्वाधिक ४५ पटक एल क्लासिको खेलेका छन् । संयोगवस यी दुवै स्टार यो सिजन एल क्लासिकोमा देखिने छैनन् । मेस्सी र रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका छन् ।
 
सन् २००५ देखि लगातार रियलमा रहेका रामोस र सन् २००० देखि जुनियर टोली हुँदै २१ वर्ष बार्सिलोनामा विताएका मेस्सीले यसै सिजन स्पेन छाडेका हुन् ।

मेस्सी र रामोस नहुँदा कतिपयले एल क्लासिकोको खल्लो हुने अनुमान समेत गरेका छन् । तर अधिकांश समर्थकको भने कुनै खेलाडी नहुँदैमा खेलको महत्व र त्यसको इतिहास नमेटिने तर्क छ । 

तीन वर्षअघि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल छाडेर इटालियन क्लब युभेन्ट्स जाँदा पनि यस्तै तर्क र चर्चा भएको थियो । तर एल क्लासिकोको महत्व घटेकाे भने छैन । 

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १२:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया