देउवासहितका नेतृत्वले पार्टीलाई बेथितिमा राखेको छन्- नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवासहितका नेतृत्वले पार्टीलाई बेथितिमा राखेको आरोप लगाएका छन् ।

आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले नेपाली काग्रेसलाई बेथितिमा राखेको आरोप लगाएका हुन्।

उनले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वमा कब्जा गर्ने निहित उद्देश्यले अहिले पार्टीलाई नै अस्तव्यस्त पारेको बताउँदै काग्रेसलाई सबल बनाउन र गुटबन्दीबाट मुक्त गर्नु अहिलेको आवश्यक्ता भएको कुरामा जाेड दिए । 

सिंहले पार्टी सभापति देउवा कांग्रेसलाई गतिशील बनाउन असक्षम सावित भइरहेको आरोप समेत लगाए । नेता सिंहले मधेसमा नागरिकता दिन ढिलासुस्ती गरिएको बताउँदै यसलाई समाधान गर्न संविधानको मर्म र ऐनअनुरूप काम गर्नुपर्ने बताए । 

उनले नेपाली कांग्रेसको अहिलेसम्मको इतिहास हेर्दा १४ औं राष्ट्रिय महाधिवेशनजस्तो किचलो र अस्तव्यस्त कहिल्यै नभएको बताउँदै अझै पनि दुईवटा जिल्लामा क्रियाशील सदस्यताको टुंगो नलागेको बताए ।  

 नेता सिंहले भने, ‘सम्मानजनक जिउनका लागि जुन अहिले मधेसमा नागरिकताको ढिलासुस्ती भइरहेको छ । संविधानको भावनाको मर्म, ऐनहरू बनाएर कार्यान्वयन गर्नु पर्नेमा ढिलासुस्ती भइरहेको छ । यो राष्ट्रिय मुद्दाले मधेस र सबै नेपाली जनतालाई पिरोलिरहेको छ । यी मुद्दाहरूलाई चाँडोभन्दा चाँडो टुंग्याउनु पर्छ । अहिलेको जस्तो १४ औं महाधिवेशनजस्तो अस्तव्यस्त अहिलेसम्म भएको थिएन । अधिवेशन प्रारम्भ भए पनि क्रियाशील सदस्यताको टुंगो अझै दुईवटा जिल्लामा लागिसकेको छैन । ४-४ पटक महाधिवेशनको तिथिमिति तोकिसकेको र सजिलै सारिएको छ । १३ औं महाधिवेशनबाट चुनिएका पदाधिकारी र पार्टी सभापतिले आफ्नो स्वार्थका लागि काम गरेका छन्, पार्टीलाई सभापति र सदस्यले बेथितिमा राख्न पाइन्न ।’



नेता सिंहले मधेसमा देखिएको नागरिकता सहितको समस्याहरूलाई अविलम्ब सरकारले समाधान गर्नुपर्नेमा जोड दिँदै कांग्रेसको कमजोरीको कारणले कम्युनिस्ट सत्तामा आएको र अहिले पनि कांग्रेसले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए । 

पदाधिकारीहरूले महाधिवेशनलाई सामान्य रूपमा लिएर चार-चार पटक मिति परिवर्तन गरेको भन्दै उनले अब कुनै हालतमा पनि मिति सार्न नदिने दाबी गरे । आफ्नो स्वार्थ पूरा गर्नकै लागि हुँदै नभएको क्रियाशील सदस्यताको विवाद चर्काइएको नेता सिंहले बताए । 



 

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १५:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया