क्रिप्टोकरेन्सी : पैसा लुकाउने र सरकार छल्ने धन्दा

यो वर्ष संसारका थुप्रै लगानीकर्ता रातारात धनी भए । तिनले न सेयरबजारमा लगानी गरेका थिए न त सुन वा अन्य प्रचलित माध्यममा । उनीहरूले क्रिप्टोकरेन्सीमा लगानी गरेका थिए । क्रिप्टोकरेन्सी न त आँखाले देखिन्छ न त यसलाई कुनै बैंकले नै जारी गर्छ । संसारभरिका कम्प्युटरमा उपलब्ध यो करेन्सी (पैसा) जहाँ पनि र जहिले पनि खरिद-बिक्री गर्न सकिन्छ ।

क्रिप्टोकरेन्सीका लागि न कुनै कागजको जरुरत पर्छ न त कुनै रसिद वा भर्पाइकै ! कुनै तिलस्मी कथाजस्तै यसका हरेक चिज रहस्यमय छन् । यसको प्रक्रिया यति जटिल छ कि, यसलाई पूर्ण रूपमा बुझ्न निकै लामो समय लाग्छ । तर सत्य के पनि हो भने, यसले लाखौं मानिसको भाग्य मिनेटभरमै बदलिदिएको छ ।

झण्डै ३० वर्ष अघिदेखि नै संसारमा कम्प्युटरको प्रयोग व्यापक बन्दै आयो । हेर्दाहेर्दै संसार बदलियो र यो डिजिटल बन्यो । बचत र लगानीको संसार पनि परिवर्तन भयो । मानिसहरू अहिले पैसा ‘बचाउने’बारे होइन, ‘बनाउने’बारे सोचिरहेका छन् । रातारात करोडपति बन्ने सपना देखिरहेका छन् ।

सेयरबजारदेखि मुद्राबजारसम्म सबैमा लगानी गरिँदै छ । तर जसले सबैलाई छक्क पारिदियो, त्यो हो– क्रिप्टोकरेन्सी । यसलाई पैसा लगानी र त्यसलाई वृद्धि गर्ने अनौठो तरिका बताइएको छ । यो पूर्ण रुपमा गोपनीय छ र कूट भाषामा अंकित हुन्छ । यसलाई ‘डिजिटल एसेट’ भन्न सकिन्छ, जुन कम्प्युटरमा स्टोर गरिन्छ । यसको खाता संसारभरि नै हुन्छ र यसलाई निकै गोपनीय अर्थात् ‘क्रिपटिक’ ढंगमा राखिएको हुन्छ । हरेक ट्रान्जाक्सनलाई ‘ब्लक’ भनिन्छ र सबैजना मिलेर एक ब्लकचेन बनाउँछन् ।

आँखा झिम्काउन नपाउँदै संसारको एक कुनाबाट अर्को कुनामा पैसा पुग्छ, तर यसको कुनै रुप हुँदैन । एक देश र अर्को देशबीचको कारोबार लाखौं कम्प्युटरका माध्यमबाट जोडिएको हुन्छ । यसमा हरेक ट्रान्जाक्सन शृंखलाबद्ध तरिकामा हुन्छ । यो अति डिजिटाइजेसनको अद्भूत नमूना हो । यसमा कसैले न कुनै प्वाल पार्न सक्छ न त छेकबार नै लगाउन सक्छ ! यसमा राखिएका सूचना कहिल्यै बदल्न सकिँदैन । सबै पैसा कम्प्युटरको जिम्मामा हुन्छ । यसको गोपनीयताको अनुमान कसैले पनि गर्न सक्दैन कि, कसले ब्लकचेन बनाउन सुरु गर्‍यो र यो कसरी संसारभर फैलियो । अनुमान के गरिन्छ भने, अहिले संसारका पाँच करोड मानिससँग क्रिप्टोकरेन्सी छ । 

अचेल बजारमा जुन ‘बिटक्वाइन’को चर्चा हुन्छ, त्यो वास्तवमा क्रिप्टाकरेन्सी हो । यो ‘इलेक्ट्रोनिक क्यास सिस्टम’ हो । कुनै समय केवल एक डलरबाट सुरु भएको यो करेन्सीको मूल्य अहिले ६६ हजार डलर पुगिसकेको छ । यसकै आधारमा अहिले बजारमा थुप्रैखाले ‘डिजिटल क्रिप्टोक्यास’ आइसकेको छ । यसमध्ये सबैभन्दा माथि इथेरियम रहेको छ, जुन बिटक्वाइनजस्तै विकेन्द्रित र ओपनसोर्स ब्लकचेन हो । यी दुईमा फरक के छ भने, यसलाई डेभलप गर्नेको बारेमा सबैलाई थाहा छ । २०१३ मा एकजना प्रोग्रामर बिटालिक बुटेरिनले यसलाई बनाएका थिए । यसको मूल्य बिटक्वाइनभन्दा निकै कम थियो, किनकि यो त्यतिविधि चर्चित हुन सकेको थिएन । यस्तै अर्को एक करेन्सी छ– सालोना, यसको मूल्य करिब १९० डलर रहेको छ ।



त्यस्तै अर्को पनि करेन्सी छ– एनएफटी अर्थात् नन फन्जिबल टोकन । यो यस्तो टोकन हो, जसको ‘कपी’ हुन सक्दैन । यसलाई बेच्न र ट्रेड गर्न सकिन्छ । यो इथेरियम ब्लकचेनकै हिस्सा हो । जानकारहरुका अनुसार, यसको मूल्यमा निकै उतारचढाव आइरहन्छ, त्यसैले यसमा सबैले कारोबार गर्न सक्दैनन् । रमाइलो कुरा त के छ भने, अचेल यसलाई कलाकृतिका रुपमा निकै प्रयोग गर्न थालिएको छ । कयौं कलाकारको भाग्य यसले चम्काइदिएको छ । उनीहरूको कलाकृतिको मूल्य मागेजति हुन थालेको छ ।

सरकारलाई चुनौती



क्रिप्टोकरेन्सीले विभिन्न देशका सरकारहरूलाई दिक्क बनाएको छ । कारोबारी या ठूला लगानीकर्ता जो कर नतिरी आफ्नो सम्पत्ति पनामाजस्ता देशहरुमा पठाउँछन्, तिनलाई क्रिप्टोकरेन्सीले सुनौलो अवसर दिलाइदिएको छ । विनाकुनै कागजात उनीहरुले चाहेमा करोडौं–अर्बौं डलर यसमा लगानी गर्न सक्छन् । 

यसमा कसले कति लगानी गरेको छ भन्ने पत्ता लगाउनै सकिन्न, किनकि यसको गोप्यताका कारण जाँच एजेन्सी नै हैरान भएका छन् । यसमा कुनै दस्तावेज या सबूत हुँदैन । हुन्छ त केवल कूट भाषा, यसकै आधारमा सबै खेल हुने गर्छ । यसले मिनेटभरमै पैसा सय–डेढसय देशको सीमा पार गरिदिन्छ ।

यसको कुनैखालको निगरानी नै बेकार छ । यसकारण पनि संसारका थुप्रै देशको टाउको दुखाइको विषय बन्दै आएको छ । भारत सरकारले यस्तो कारोबारमा केही समय रोक पनि लगायो । कानुन निर्माण गर्ने कुरा पनि सरकारले ग¥यो, तर केही विज्ञहरुले त्यसो नगर्न सल्लाह दिए । त्यसपछि यसमाथिको प्रतिबन्ध हटाइयो । यसको सट्टामा सरकारले अर्को डिजिटल करेन्सी ल्याउने कुरा गरिरहेको छ । त्यसमा कुनै नगद हुने छैन न त डेबिट या क्रेडिट कार्ड नै, तर त्यो विशुद्ध स्वदेशी हुने बताइएको छ । 

बलिउड हस्ती क्रिप्टोमा आकर्षित

भारतमा क्रिप्टोकरेन्सी प्रचलनमा त आइसकेको छ, तर त्यसमा कुनै तीव्रता भने आएको देखिँदैन । लगानीकर्ताले अहिले निकै कम मात्रै रुचि देखाएका छन् । बिटक्वाइनको मूल्य अकास्सिएको देखेर उनीहरू लोभिएका त छन्, तर यसबारे राम्रो ज्ञान नभएकाले अलि टाढै बसेका छन् । तर, नजिकै आएको दीपावली (धनतेरस)मा मानिसहरु सुनको सट्टा क्रिप्टोकरेन्सीमा लगानी गरुन् भन्ने सम्बद्ध कम्पनीहरु चाहन्छन् । यसका निम्ति उनीहरूले बलिउडका केही हस्तीलाई आफ्नो साथमा लिएका छन् । र, त्यसको विज्ञापनमा बलिउडकर्मी देखिन थालेका छन् । सम्बद्ध कम्पनीहरू बलिउड हस्तीलाई क्रिप्टोकरेन्सी विज्ञापनमा खेलाउन पाउँदा भारतमा यसको लोकप्रियता बढ्ने अनुमान गरिरहेका छन् ।
 
बलिउड हस्तीमध्ये अमिताभ बच्चनको सन्दर्भ अलि बढी रोचक छ । उनले पहिला चाहिँ रिजर्भ बैंकका तर्फबाट ‘बैंक फ्रड’बाट बच्ने सल्लाहको विज्ञापनमा काम गरे, त्यसपछि कोयनडिसिएक्सको पब्लिसिटी पनि गरे !

कतिपय देशमा क्रिप्टोकरेन्सीको विज्ञापनमा खेल्नुलाई सेलिब्रिटीहरुका लागि सामान्य बनिसकेको छ । प्रख्यात फुटबलर टम ब्राडी, मोडल जिसेल बन्डचेन, पेरिस हिल्टन, किम कार्दशयनजस्ता हस्तीहरुले क्रिप्टाकरेन्सीको प्रवद्र्धनमा काम गरिसकेका छन् । एक सर्भे अनुसार, त्यहाँ ४५ प्रतिशत मानिसले सेलिब्रिटीले भनेका कारण क्रिप्टोकरेन्सीमा लगानी गरेका छन् ।

क्रिप्टोकरेन्सीमा लगानी गर्नु या नगर्नु तपाईंको इच्छाको कुरा हो । विचार केचाहिँ गर्नुपर्छ भने, इलेक्ट्रोनिक मनी जति तीव्रताका साथ आउँछ त्यही गतिमा जान्छ पनि । क्रिप्टोकरेन्सी स्वतः चल्ने करेन्सी हो र यो लाखौं कम्प्युटरको बाटो भएर हिँड्छ । यसको कुनै ठोस आधार छैन, न त यसका पछिल्तिर कुनै वित्तीय संस्था नै छन् !

स्मरणीय कुरा के छ भने, जब पछिल्लो समय एलन मस्कले क्रिप्टाकरेन्सीमाथि शंका गरे तब यसको भाउ आधाभन्दा बढी घट्यो । तर पछि उसैगरी उनले एक अर्ब डलर यसमा लगानी गरिदिएपछि भने त्यसको भाउ पुनः बढ्यो । यसकारण पनि यसमा लगानी गर्नुअघि राम्ररी सोच्नुपर्छ । सिस्टममा एकपटक कुनै खराबी आइदियो भने, लगानी ह्वात्तै डुब्न सक्छ । उता, कुनै ह्याकरले बदमासी गरिदियो भने पनि तपाईंको लगानी बालुवामा पानी हुन पुग्छ ।

(सिन्हा वरिष्ठ भारतीय पत्रकार हुन्, ‘दिप्रिन्ट’बाट अनूदित तथा सम्पादित ।)
 

  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १८:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया