एनसिसीहरुको भावना सुन्न पूर्वपरराष्ट्रमन्त्री महतको आग्रह
एनआरएनए एनसिसीहरुको पहिलो विश्व भेला सुरु भएको छ। आइतबार भर्चुअल माध्यमबाट दुईतिहाइभन्दा बढी अध्यक्षहरुको उपस्थितिमा पहिलो विश्व भेला सुरु भएको हो ।
भेलालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपाली संघको नेतृत्वले राष्ट्रिय समन्वय परिषद् (एनसिसी)हरुको भावना र धारणाको सुनुवाइ गर्नुपर्ने सुझाब दिएका छन्।
गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्री महतले लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात गर्न एनआरएनएलाई आग्रह गरे ।
उनले नेपाल र नेपालका सम्पूर्ण राजनीतिक दलहरुका लागि पनि एनआरएनए उदाहरणीय संस्था बन्नुपर्ने बताए ।
‘६ महिना समय थप गर्ने कुरा अवैधानिक’
संघका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचनले १८ वर्षको इतिहासमा पहिलोपटक संघको महाधिवेशन र चुनाव गर्न नसकेकोमा दुःख लागेको बताए। उनले अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफैँ ६ महिना थप गर्ने प्रावधान गैरआवासीय नेपाली संघको विधानमै नरहेको स्पष्ट पारे ।
आफैँले बनाएको विधान र नेपाल सरकारको कानन पालना नगर्दा समस्या आएको उल्लेख गर्दै उनले भने, ‘संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिनाभित्र समाधान गर्न सक्छौँ भनेका थियौँ, तर गरेको निर्णय पनि लागू भएन ।’
भेलालाई संघका केन्द्रीय उपाध्यक्ष मन केसी, सचिव आर के शर्मा, महिला संयोजक भोमा लिम्बूलगायतले सम्बोधन गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराई, नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा, नेकपा एकीकृत प्रवास समन्वय समितिका प्रमुख श्रीप्रसाद साह लगायतले शुभकामना व्यक्त गरे ।
संघका चुनाव भएका ६० भन्दा बढी राष्ट्रिय समन्वय परिषदमध्ये ४३ जना अध्यक्ष भेलामा सहभागी छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।