सर्वोच्चमा फुलकोर्ट बैठक दिउँसो १ बजे

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक दिउँसो एक बजे बस्दैछ ।

बैठकमा १४ जना न्यायाधीश भने सहभागी नहुने भएका छन् । उनीहरूले बैठक बहिष्कार गर्ने निर्णय आइतबार नै गरेका हुन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको टोलीले गरेको भेटमा प्रधानन्यायाधीश जबरा फुलकोर्ट बैठक बोलाउन सहमत भएका थिए ।
 
सोहीअनुसार उनले फुलकोर्ट बैठक बोलाएका हुन् । बैठकमा बारका प्रतिनिधि पनि सहभागी हुने भएका छन् ।
 
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनअनुसार गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेसम्बन्धी कार्यविधि, नियमावलीसँगै वरिष्ठ अधिवक्ताबारेको विषयमा छलफल हुने भनिएको छ ।
 
फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र नहकुल सुवेदी हुन् । 

तत्कालिक उठेका विषयहरूको सम्बन्धनमा भन्दा पनि अन्य विषयमा छलफल गर्न फुलकोर्ट बोलाएपछि बहिष्कार गरेको उनीहरूको भनाइ छ । 

प्रधानन्यायाधीश जबरामाथि मन्त्रिपरिषदमा कार्यपालिकासँग भागबण्डा खोजेको, जेठानलाई मन्त्री बनाइछाडेको, संवैधानिक नियुक्तिमा भाग लिएको सम्बन्धी मुद्दाको न्यायिक निरुपणमा बाधा गरेको र गोलाप्रथाबाट मुद्दाको पेसी तोक्न रुचि नदेखाएको लगायतका आरोप छ । 

यसले गर्दा १४ न्यायाधीशले प्रधानन्यायाधीश जबराले निकास दिनुपर्नेमा जोड दिँदै आएका छन् । 
सर्वोच्चमा प्रधानन्यायाधीश बाहेक १९ जना न्यायाधीश छन् । फुलकोर्टमा प्रधानन्यायाधीशसहित यी सबै न्यायाधीश सहभागी हुनुपर्ने हुन्छ । 



न्याय निरुपण गर्नुपर्ने विषय, न्याय प्रशासनसम्बन्धी आएका बाधा अड्चन र न्याय व्यवस्था अल्मलिएको जस्तो गम्भीर र महत्वपूर्ण विषयमा छलफल गर्न फुलकोर्ट बोलाइने गरिन्छ । 



  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १०:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया