[ब्लग] जागिर माग्न आएका दृष्टिविहीनलाई पर्यटनमन्त्री आलेको एक हजार

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरको कार्यकक्ष भरिभराउ थियो । सोमबार दिनको ३ बजिसक्दा विभिन्न योजना तथा प्रस्ताव लिएर विभिन्न निकाय तथा संघ–संस्थाका प्रतिनिधि पर्यटनमन्त्री मगरलाई पर्खिरहेका थिए । 

मन्त्री गोप्य कोठामा बसिरहेका थिए । मन्त्रीकै कार्यकक्षको एक कुनाको सोफामा कुनै फाइलविनै एकजना दृष्टिविहीन युवा बसिरहेका थिए ।  असजिलो ढंगले सोफामा बसेका उनले कालो चस्मा लगाएका थिए । हातमा छडी बोकेका उनको साथमा एक बालक पनि थिए । 

उनी दिउँसो १२ः३० देखि मन्त्री भेट्ने अभिलाषाका साथ उक्त सोफामा बसिरहेका रहेछन् । मन्त्री भेटेर उनीसँग आफ्नो माग राख्न उनलाई समय मिलेको थिएन । पंक्तिकार पनि मन्त्रीको प्रतीक्षामा बसिरहेको थिएँ । उनको बच्चा पटक–पटक निदाउन खोजिरहेको थियो । मन्त्रीको कार्यकक्षमा भएका प्रतिनिधि कोही पनि उनको कथा सुन्ने पक्षमा थिएनन् । किनकि सबै आ–आफ्नै विषयमा केन्द्रित थिए । 

मन्त्री भेट्नेको भिड उस्तै थियो । सो भिडमा पर्यटन विभागका महानिर्देशक, पर्यटन प्रहरी प्रमुखदेखि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशकसम्म थिए ।
 
कालो चस्मा लगाएर बसेका ती युवाको विषयमा नजिकै गएर मैले सोधेँ– तपाईं कहाँबाट आउनु भएको हो ? मन्त्रीसँग के माग राख्न आउनुभयो ?  

उनले आफ्नो नाम कपिल विक भएको र घर डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ मा पर्ने बताए । आफू दृष्टिविहीन भएको र नेपाली विषयमा मास्टर गर्दै रहेको उनले बताए । 

सानोठिमी भक्तपुरमा बस्ने गरेका उनी सिन्के धुप बिक्री गरेर परिवारको लालनपालन गरिरहेका छन् । दुई सन्तान र श्रीमतीसहितको ४ जनाका परिवारको दैनिकी टार्न मुस्किल भएपछि उनी जागिरको खोजीमा मन्त्रीलाई भेट्न आएको थाहा भयो । 



जिल्लाको मन्त्री भएका कारण जागिर पाउने आशा लागेर आएको उल्लेख गर्दै उनले भने, ‘बिहान १० बजे कोठाबाट हिँडेको १२ बजेपछि सिंहदरबार आइपुगेँ । मलाई भक्त सरले पास उपलब्ध गराउनुभएको हो । मन्त्रीज्यूलाई पर्खिएको तीन घण्टा भइसक्यो । मेरो एउटै माग छ– सानो जागिर लगाइदिनू’ । 

यसो भन्दै गर्दा उनी भावुक मात्रै भएनन् । उनको आँखामा आँसु देखियो । उनको संवादले मन्त्रीको कार्यकक्षमा भएकाहरु निकै भावुक भए । 
३ बजेर २५ मिनेट भएको थियो । गोप्य कक्षबाट पर्यटनमन्त्री आले कार्यकक्षमा आए । सबैजना मन्त्रीसँग फोटा खिच्न लागे । यतिबेला कपिलले पनि हतार गरेझैँ गरेर छोरा प्रसिद्धलाई उठाए । यसपछि मन्त्रीले उनका भतिज भक्त आलेलाई कसैलाई भित्र नपठाउन निर्देशन दिए ।  



यसपछि मन्त्रीले कालो चस्मा लगाएका कपिलतिर हेर्दै भने, ‘तपाईं किन आउनुभएको । के थियो ?

‘मन्त्री ज्यू नमस्कार । मलाई जागिर चाहियो । म दृष्टिविहीन छु । मेरो पनि घर डोटी हो,’ जवाफमा कपिलले भने, ‘तपाईंले विमानस्थलतिर फोन उठाउने जागिर भए पनि लगाइदिनुपर्यो । यही हो मेरो माग ।’ 

उनको कुरा सकिएपछि मन्त्री आलेमगरले भोलि कुरा गरौँला भनेर जवनफ दिए । मन्त्रीको कार्यकक्षमा केहीबेर सन्नाटा छायो । 

यतिकैमा मन्त्रीले गोजीबाट पाँच–पाँच सयका दुईवटा नोट झिकेर कपिललाई ‘अहिले जानू’ भनेपछि कपिल रिसाए ।
 
‘म पैसा माग्न आएको होइन । जागिर दिनुहोस भनेर आएको । यो एक हजारले मलाई केही हुँदैन,’उनले भने,‘मन्त्रीज्यू सानो भए पनि जागिर दिनुहोस् ।’  

कपिल खुसी थिएनन् । पाँच सयको दुईवटा नोट उनको छोरा प्रसिद्धको हातमा थियो । प्रसिद्धको अनुहारमा खुसी छायो, तर उनका बुबा कपिल भने मन बैचन बनाउँदै कोठाबाट बाहिर निस्किए ।

पर्यटनमन्त्री आले भन्दै थिए, ‘कहाँ मैले जागिर लगाउन सक्छु ।’

  • प्रकाशित मिति : कात्तिक ८, २०७८ साेमबार १७:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया