एमाले संसदीय दल अब स्वेच्छाचारी हुने छैन : विष्णु पौडेल

नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताएका हुन् ।

उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उँचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको दाबी गरे । उपमहासचिव पौडेलले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्ने बताए ।

‘अब जनताको विश्वास जितेर अनुशाासित ढंगले काम गर्दै अगाडि बढ्छौँ । संसदीय दल अब स्वेच्छाचारी हुने छैन । सबै नेता र कार्यकर्ता सम्मानित र स्वाभिमानी बनेर काम गर्ने वातावरण तयार गरी समावेशी पार्टी बनाउँछौँ,’ उनले भने । 

अब नगरमा आउने नयाँ नेतृत्वले विकासमा भएका ढिलासुस्तीविरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताउँदै उनले हरेक किसिमका बेथिति र विसंगतिविरुद्ध लाग्न आग्रह पनि गरे । 

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लीला गिरी, नेता नेत्र पन्थी, भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशवराज पन्थीलगायतले पार्टीलाई अझै सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताए ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७८ मंगलबार २०:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया