व्यापार घाटाको ग्राफ चढ्दो, तीन महिनामा भारतसँग मात्रै झण्डै ३ खर्ब घाटा

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको व्यापार घाटा चुलिएको छ । सो अवधिमा भएको व्यापार घाटा गत वर्षको तुलनामा ५८.२८ प्रतिशतले वृद्धि हुँदै नयाँ रेकर्ड कायम गरेको छ । 

चालु आर्थिक वर्ष २०७८/०७९ का पहिलो तीन महिनामा ४ खर्ब १३ अर्ब ४७ करोड व्यापार घाटा भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को सोही अधिमा यस्तो व्यापार घाटा २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ थियो । 

चालु आर्थिक वर्षको समीक्षा अवधिमा विभिन्न देशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड बराबरको मालवस्तु आयात भएको थियो भने ६५ अर्ब ५२ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात गरिएको थियो । 

समीक्षा अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा बढी हिस्सा ओगट्ने भारतबाट मात्रै २ खर्ब ८७ अर्ब २७ करोड बराबरको मालवस्तु आयात भएको तथ्यांक छ ।  सो अवधिमा नेपालले ५२ अर्ब ७१ करोड बराबरको मालवस्तु मात्रै भारत पठाएको देखिन्छ । समीक्षा अवधिमा भारतसँगको व्यापारघाटा मात्रै २ खर्ब ३४ अर्ब ५५ करोड भएको छ ।

यसैगरी अर्को छिमेकी मुलुक चीनबाट समीक्षा अवधिमा ६७ अर्ब २४ करोड बराबरको मालवस्तु आयात गर्दा २५ करोड बराबरको मालवस्तु मात्रै निर्यात भएको देखिन्छ । समीक्षा अवधिमा चीनसँगको व्यापारमा नेपालले ६६ अर्ब ९८ करोड घाटा व्यहोरेको छ । 

गत आर्थिक वर्ष २०७७/०७८ को समीक्षा अवधिमा नेपालले विभिन्न देशबाट २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ भने ३१ अर्ब ४ करोड रुपैयाँको बराबरको मालवस्तु निर्यात भएको छ । उक्त आर्थिक वर्षमा भारतसँग मात्रै भएको व्यापार घाटा १ खर्ब ७२ अर्ब २९ करोड थियो । उक्त अवधिमा नेपालले १ खर्ब ९३ अर्ब ६२ करोड बराबरको मालवस्तु भारतबाट आयात गर्दा २१ अर्ब ३३ करोड बराबरको मालवस्तु निर्यात गरेको थियो । 



सो आर्थिक वर्षमा अर्को छिमेकी देश चीनसँग गरेको व्यापारमा नेपालले ४३ अर्ब ११ करोड रुपैयाँ घाटा बेहोरेको थियो । समीक्षा अवधिमा नेपालले चीनबाट ४३ अर्ब ३२ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरेको थियो भने २१ करोड बराबरको मालवस्तु मात्रै निर्यात गरेको थियो । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासिकमा नेपालले अन्तर्राष्ट्रिय व्यापारमा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको थियो । 



सो आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले विभिन्न देशबाट ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँको मालवस्तु आयात गर्दा २७ अर्ब १६ करोड रुपैयाँ बराबरको मालवस्तु मात्रै निर्यात गरेको थियो । 

सो आर्थिक वर्षको समीक्षा अवधिमा नेपालले भारतसँगको व्यापारमा १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ घाटा बेहोरेको थियो भने अर्को छिमेकी देश चीनसँगको व्यापारमा ५८ अर्ब ८१ करोड रुपैयाँ घाटा बेहोरेको थियो । 

चालु खाता भुक्तानी सन्तुलन कमजोर

अन्तर्राष्ट्रिय व्यापारको सिधा सम्बन्ध शोधनान्तरस्थिति अर्थात् भुक्तानी सन्तुलनसँग हुन्छ । कुनै पनि देशले जति आयात घटाएर निर्यात बढाउँछ त्यति नै यस्तो सञ्चिति बढ्छ । 

तर, आयात र निर्यातको खाता शोधनान्तर स्थिति होइन । शोधनान्तर स्थितिमा चालु पुँजीगत तथा वित्तीय गरी दुई किसिमका तथ्यांक समावेश हुन्छन् । चालु खाता अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित हुन्छ । चालु खातामा वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन् ।

तथ्यांकले बढ्दो आकारको व्यापार घाटा देखाउँदा चालु खाता पनि कमजोर बनिरहेको छ । नेपाल राष्ट्र बैंकले पहिलो २ महिनाको मात्रै समीक्षा गर्दा नेपाली बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.६ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्रै पुग्ने प्रक्षेपण गरेको थियो । पछिल्लो एक महिनामा बैंकिङ प्रणालीमा देखिएको थप तरलता संकटले यो अवस्था झन खराब रहेको देखिन्छ । 

राष्ट्र बैंकले गरेको पहिलो दुई महिनामो समीक्षामा चालु खाता १०६ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता २५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकको समीक्षा अवधिमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोड रुपैयाँले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेको थियो । 

गत आर्थिक वर्ष भरीमा नेपालको चालु खाता आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो भने अघिल्लो आव २०७६÷७७ मा चालु खाता ३३ अर्ब ७६ करोड रुपैयाँले मात्रै घाटामा थियो । 

गत आर्थिक वर्षको शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षमा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा थियो ।

बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा पनि सिधा असर गर्छ । आयात बढिरहेका कारण विदेशी विनिमय सञ्चिति पनि घटेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३०६ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । 
 

  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार ११:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया