अन्तरिक्षमा अर्बपति जेफ बेजोसको रवाफ

धर्तीमा त अमेजनका मालिक जेफ बेजोसको केही वर्षदेखि रवाफ चली नै रहेको छ, तर अब उनी अन्तरिक्षमा पनि आफ्नो प्रभाव फैलाउने ध्याउन्नमा लागेका छन् । बेजोस अहिले संसारकै दोस्रो ठूला धनी हुन् । उनको हालको नेटवर्थ १९४.१ बिलियन अमेरिकी डलर रहेको छ । ५७ वर्षीय अमेरिकी नागरिक बेजोसलाई टेस्ला प्रमुख एलन मस्कले जितिरहेका छन् ।

५० वर्षीय मस्ककाे २५२.२ बिलियन नेटवर्थ छ । मस्क र बेजोसबीच को धनी भन्नेबारे त प्रतिस्पर्धा छ नै साथमा अन्तरिक्षमा रवाफ जमाउने सन्दर्भमा पनि यी दुई धनाढ्यबीच अघोषित द्वन्द्व सुरु भएको छ ।

पछिल्लो समय बेजोसको ध्यान अन्तरिक्षमा झन्डा गाड्ने सवालमा केन्द्रित हुन पुगेको छ । उनले सोमबार अन्तरिक्षमा आफ्नै हाइटेक स्पेस स्टेसन स्थापनाको तयारी भइरहेको घोषणा गरे । उक्त स्टेसनमा १० जना मानिस अट्छन् । 

बेजोसले सन् २०२५ सम्ममा उक्त स्टेसन लन्च हुन सक्ने पनि बताए । अन्तरिक्षमा सक्रिय ब्लु ओरिजिन कम्पनीका मालिक बेजोसले यो घोषणा तब गरे जब अन्तरिक्षमा रवाफ जमाउने विषयले प्रतिस्पर्धाको रुप लिन थाल्यो । अहिले यस्तो प्रतिस्पर्धा तीव्र हुन थालेको छ ।

बेजोसको उक्त स्टेसनको नाम ‘आर्बिटल रिफ’ राखिएको छ । र, त्यो अन्तरिक्षमा बिजनेस पार्कका रूपमा रहने पनि बताइएको छ । यसले माइक्रोग्राभिटी रिसर्चन र विनिर्माणलाई बढावा दिने पनि बेजोसको भनाइ छ । ब्लु ओरिजिनका एक अधिकारी ब्रेन्ट सेरवुडले भने, ‘पछिल्ला ६० वर्षमा नासा तथा अन्य स्पेस एजेन्सीहरूले आर्बिटल स्पेस फ्लाइट र अन्तरिक्षमा बस्ने स्थान निर्माण गरिरहेका छन् । यो दशकमा हामी बिजनेस पार्क निर्माण गर्ने छौं ।’

सेरवुडले थपे, ‘हामी अन्तरिक्षमा मानिसको पहुँच विस्तार गर्ने छौं र लागत पनि घटाउने छौं । साथै, ती सबै सुविधा दिने छौं जुन स्पेस फ्लाइटलाई सामान्य बनाउन आवश्यक छ ।’



बेजोस र मस्कका कम्पनीमात्रै होइन, अहिले अन्तरिक्षमा आफ्नो स्टेसन बनाउन थुप्रै कम्पनी अघि सरिरहेका छन् । पछिल्लो साता मात्रै स्पेस सेवा प्रवाह गर्ने कम्पनी नानोरक्सले दिग्गज कम्पनी लकहिड मार्टिनसँग एक सम्झौता गरेको छ, २०२७ सम्ममा अन्तरिक्षमा एक स्टेसन बनाउने उनीहरूको योजना छ । यसको नाम ‘स्टारल्याब’ राखिएको छ ।

बेजोसको आर्बिटल रिफ धर्तीबाट ५०० किलोमिटर उचाइमा रहने छ । यो वर्तमान अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आइएसएस)भन्दा केही बढी उचाइ हो । यसमा बस्ने अन्तरिक्ष यात्रीले २४ घण्टामा ३२ सूर्योदय र सूर्यास्त हेर्न पाउने छन् । यसमा कुल १० जना मानिस बस्न सक्छन् । यो आइएसएसभन्दा केही ठूलो हो । यसमा थुप्रै विशाल झ्याल पनि हुनेछ । 



आइएसएस २०११ मा निर्माण गरिएको थियो । यसलाई अमेरिका र रुसबीच अन्तरिक्षमा सहयोगको प्रतीक पनि मानिन्छ । यो २०२८ सम्म सुरक्षित रहने विश्वास गरिन्छ । नासाले आइएसएस बन्द हुनुअघि थुप्रै स्पेस स्टेसन बन्ने अपेक्षा पनि गरेको छ । 

  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार ११:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया