एक अफगानी आमा भन्छिन्- ‘परिवार पाल्न मैले छोरी बेचिदिएँ’
सांकेतिक तस्बिर

‘मेरा बाँकी बच्चा भोकले मर्नै लागेका थिए, त्यसैले मैले आफ्नी छोरी बेचिदिएँ,’ अति खराब अवस्थाबाट गुज्रिरहेको अफगानिस्तानकी एक महिला भन्छिन् । 

बिबिसीको रिपोर्टमा ती महिलाको परिचय खुलाइएको छैन । उनले भनेकी छन्, ‘आफ्नै बच्चा बेच्नु पर्दा मलाई निकै दुःख लागिरहेको छ । बाँच्नका लागि मैले आफ्नी छोरी बेच्नु नपरेको भए, कति राम्रो हुन्थ्यो !’

ती बच्चीका बाबु कवाडी खोज्ने काम गर्छन् । त्यो कामबाट उनले परिवार पाल्न सकिरहेका छैनन् । उनले भने, ‘हामी भोको छौं । हाम्रो घरमा न पिठो छ न त तेल नै । हामीसँग केही पनि छैन ।’ बेचिएकी ती बच्चीको उमेर केही महिनाको मात्रै भएको छ । बाबु थप्छन्, ‘मेरी छोरीको भविष्य उनलाई थाहा छैन । मलाई पनि थाहा छैन, तर मैले उनलाई बेच्नुपर्यो !’ ती बच्चीलाई खरिद गर्ने मानिसले ५०० अमेरिकी डलर भुक्तान गरेको छ ।

उक्त रकमबाट त्यो परिवारले केही महिना जीवन चलाउन सक्छ । बच्चा खरिद गर्ने मानिसले अहिले नै तिनलाई आफूसँग लगेको छैन । खरिदकर्ताले बच्चीसँग आफ्नो छोराको बिहा गरिदिने त बताएको छ, तर यसको यकिन भने छैन ।

बिबिसीको रिपोर्ट अनुसार, अफगानिस्तानमा आफ्नो बच्चा बेच्ने परिवार थुप्रै छन् । त्यहाँ सरकारी सेवा ठप्प भएको छ, कतिपय मानिसहरू बाँच्नका लागि संघर्ष गरिरहेका छन् । बिरामी परेका मानिसको उपचार कठिन बन्दै गएको छ । बढी मात्रामा बिरामी परेका बच्चाहरूको मृत्यु हुन थालेको छ ।

सत्तामा तालिबान फर्किएपछि अफगानिस्तानले पाउँदै आएको अन्तर्राष्ट्रिय सहयोग पूर्ण रूपमा बन्द भएको छ । तालिबान सरकारलाई मान्यता दिने सवालमा पनि विभिन्न देशबीच फरकफरक मत सार्वजनिक भइरहेका छन् । यसैबीच, संयुक्त राष्ट्रले कडा चेतावनी दिँदै अफगानिस्तानलाई तत्कालै सहायता नगर्ने हो भने, त्यहाँ लाखौं मानिसको मृत्यु हुने बताएको छ ।



गत अगस्ट महिनामा अफगानिस्तानको सत्ता तालिबानी लडाकूले कब्जा गरेका थिए । सोही समयदेखि उक्त मुलुकको खराब दिन सुरु भएको हो । त्यो देश र त्यहाँका जनता सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेका छन् । राज्यले प्रदान गर्नुपर्ने आधारभूत सुविधा कमजोर भएको छ भने अफगान नागरिक अहिले भोकले तड्पिरहेका छन् । भोक मेट्नकै लागि तिनले आफ्ना कलिला र प्यारा सन्तानसमेत बेच्न थालेका हुन् । 

अफगानी ती आमाले परिवारका सदस्य र बाँकी रहेका बालबच्चालाई भोकबाट जोगाउन आफ्नी केही महिनाकी छोरी बेचिदिएको घटनाले संसारभरका मानिसलाई पीडा दिएको छ । तर संसारका धनी देशहरू र अन्तर्राष्ट्रिय संघ-संस्था अझै पनि अफगानिस्तानमा मानवीय सहयोगका लागि अग्रसर देखिएका छैनन् ! यो अवस्थाले ती संघ-संस्थाको औचित्यमाथि नै प्रश्न उठ्ने स्थिति उत्पन्न भएको छ ।



  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार १२:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया