मादीका बाढीपीडितलाई प्रदेश सरकारको राहत

गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिका १, सोँदा र आसपासका बाढीपीडितलाई राहत रकम प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बुधबार सोँदामै पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् । 

असार १ गते मादी नदीमा आएको बाढीले घरबाट पूर्ण क्षति पुर्याएका ११ घर परिवारलाई जनही १ लाख रुपैयाँका दरले मुख्यमन्त्री पोखरेलले राहत हस्तान्तरण गरेका हुन् । बाढी पहिरोले घर पूर्ण क्षति पुगेकाहरुलाई मनाङको हकमा २ लाख र अरु जिल्लाका हकमा १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको थियो । 

भौमाया जैशी, चित्रकुमार गुरुङसेनी, टेकबहादुर गुरुङ, पुष्पा गुरुङ, हर्कबहादुर गुरुङ, लक्ष्मी गुरुङ, चित्रबहादुर गुरुङ, बोधराज बराल, हुमप्रसाद गुरुङ, केशबहादुर गुरुङ, दूधराज गुरुङलाई उक्त अवसरमा राहत प्रदान गरिएको हो । 

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार जहिले पनि नागरिकको सुख दुखमा सधैँ साथमा रहेको बताए । उनले भने, ‘३ तहका सरकारका आ–आफ्नै दायित्व र अधिकार क्षेत्र छन्, प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र रहेर क्षमताले धानेसम्म दायित्व निर्वाह गर्न तत्पर छ ।’ 

आफू सरकारको नेतृत्वमा आएलगत्तै बाढीपहिरोको प्रकोप सुरु भएको स्मरण गर्दैै उनले पीडितलाई तत्काल राहत प्रदान गर्नेदेखि स्थायी रुपमा समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भनाए राखे । 



बाढी पहिरोले मादीमा धेरै क्षति भएको आफूले देखिसकेको भन्दै उनले बाढीलगत्तै बाटोघाटो खुलाउनका लागि केही रकम प्रदान गरेको र अब पनि थप रकमका लागि पहल गर्ने प्रतिबद्धता जनाए । विकास र सहयोगका काममा कसैले पनि राजनीति गर्न नहुने उनले बताए । चुनाव लड्ने बेलामा आफ्ना राजनीतिक एजेन्डा राख्ने कुरा स्वाभाविक भए पनि चुनाव जितेपछि नागरिककै सेवामा प्रतिबद्ध रहनुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले ०७२ सालको भूकम्पपछि मुलुकमा धेरैथरी विपत्ति आएको भन्दै यी विपत्तिलाई सामना गर्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । 



पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले मुख्यमन्त्रीले पीडितको घरदैलोमै पुगेर राहत वितरण गर्दा नागरिकले प्रदेश सरकारको अनुभूति गरेको बताए । बाढीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण र बाटोघाटोको प्रवन्धका लागि उनले ध्यानाकर्षण गराए । असारको सुरुमै सिक्लेसको पहिरोले परी भेडीगोठमा क्षति पुगेको भन्दै राहतको लागि प्रदेश सरकारसँग आग्रह गरे । 

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक गायत्री गुरुङले बाढी आएदेखि नै आफूहरुले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै ढिलै भए पनि राहत वितरण हुँदा खुसी लागेको बताइन् । समस्याको दीर्घकालीन रुपमा समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता उनले जनाइन् । संविधान सभा सदस्य तेजकुमारी पौडेलले बाढीले क्षति पुर्याएपछि आफूहरु स्थलगत अनुगमनमा पुगेको र राहतका लागि पहल गरेको उल्लेख गरिन् । 
 

  • प्रकाशित मिति : कात्तिक १०, २०७८ बुधबार २१:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया