एमाले गाँउनगर अधिवेशन : नेतृत्वमा युवाको दबदवा

विराटनगरका राम पोखरेलको परिचय कुनै बेला समाजिक अभियान्ताको रुपमा थियो । परिवर्तनका लागि हातेमालो अभियान अन्तरगत उनी सामाजिक अभियानमा सक्रिय थिए ।

विराटनगरका अस्पतालहरुमा बिरामीलाई रगत चाहियो भने राम पोखरेलको समूह अस्पतालमा पुग्थ्यो । 

बिरामीका लागि रगत दिन्थ्यो र जीवन बचाँउथ्यो । समस्यामा परेकाहरुका लागि सकेको सहयोग गथ्र्यो । 

पछि रामपोखरेलको समूहले युवा अधिकारको वकालत पनि गर्न थाल्यो  । युवाहरु झण्डा र डण्डा बोक्ने मात्रै होइनन् नेतृत्वमा पनि आउनु पर्छ भन्ने उनीहरुको माग थियो । 

तर उनीहरुको माग सम्बोधन गर्न उनकै माउ पार्टी नेकपा एमाले समेत तयार थिएन । 

२०६१ सालमा प्रदेशकै ठूलो महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीको राजनीति  गरेका पोखरेलको परिचय सामाजिक अभियानमा लाग्नुअघि फराकिलो भइसकेको थिएन । 



उनलाई नेताको रुपमाभन्दा अभियान्ताको रुपमा विराटनगर चिनिन्थ्यो । यसको मूलकारण थियो, पार्टीले मुख्य जिम्मेवारी नदिनु । 

उनले महेन्द्र मोरङ इकाई कमिटिको कोषाध्यक्ष, उपाध्यक्ष, युवा संघको वडा, क्षेत्रको जिम्ववारी सम्हालिसकेका थिए । 



भातृ सस्थाको जिम्मेवारी सम्हालेर मूल पार्टीको राजनीतिमा आएका उनलाई तल्लै तहको किन नहोस मुख्य जिम्मेवारी पाउन भने वर्षौ कुर्न पर्यो । 

नेतृत्वमा आउन भने उनलाई सधैं रोकियो । उनी सम्झन्छन्, ‘आर्थिक विभाग, प्रचार विभागको जिम्मेवारी दिइयो । तर नेतृत्वकै जिम्मेवारी लिन भने वर्षौ कुर्न पर्यो । 

उमेरले ३१ वर्ष पुगेका राम यसपाली भने एमाले महानगरमा– ८ को अध्यक्षमा निर्वाचित भएका छन् । 

उनको सामाजिक र राजनीतिक अभियानको निरन्तरताले नेतृत्वमा आउन पार्टीले छेक्न सकेन । उनी वडा नम्बर ८ को पार्टी अध्यक्ष भएरै छाडे । 

इटहरीका सुनिल कार्की उमेरले ३० कटेका छैनन् । उनी अहिले इटहरी उपमहानगर वडा नम्बर ४ को एमाले अध्यक्षमा चुनिएका छन् । 

सानै उमेरमा वडा कमिटिको अध्यक्ष हुन उनलाई त्यति सहज थिएन । उनलाई आलो कचिलो छ भनेर रोक्न खोजियो । 

तर निरन्तरको राजनीतिक अभियानमा लागेकाले उनी वडाको नेतृत्वको सही हकदार हो भन्ने प्रमाणित भइसकेको थियो । 

इटहरी उपमहानगर– ४ मा रहेको बगैंचा टोल विकास संस्थाको अध्यक्ष हुँदा कुनै बेला सुनिललाई मानिसहरु जिस्काउथे । यति सानो फुच्चेले के टोल विकास संस्था हाँक्छ ?
तर नेतृत्वमा आएको दुई वर्ष नबित्दै उनले बगैंचा टोलमा आफ्नै २ तले घर बनाए । बगैचा टोल विकासलाई इटहरीकै नमूना टोल विकास संस्थाको रुपमा परिणत गराए । 
टोल विकास संस्थाको नेतृत्वमा आएपछि उनले गरेका कामले पार्टीको राजनीतिमा उनको हस्तक्षेपकारी भूमिका देखिन थाल्यो । 

उनको नेतृत्व गर्ने क्षमताले नेकपा विभाजन पछि उनलाई पार्टीले कार्यबाहक अध्यक्षको जिम्मेवारी दियो । 

अहिले उनी अधिवेशनबाट सर्वसम्मत वडा कमिटिको अध्यक्ष बने । उनी सम्झन्छन्, ‘बेला भएको छैन भनेर रोक्न खोजियो तर कार्यकर्ताको दबाबका पछि एमाले उपमहानगरको नेतृत्व बाध्य भएर वडाको जिम्मेवारी दिन तयार हुनुपर्यो‍ । 

राम र सुनिल जस्तै एमालेको गाँउनगर अधिबेसनबाट धेरै युवा नेतृत्वमा आएका छन् ।

एमाले विराटनगर महानगरको अध्यक्ष छानिएका सागर थापा र सचिव रोहित कोइराला उमेरले ४० को हाराहारीमा छन् । 

उपसचिव नवराज नेपाल पनि ४० हाराहारीका छन् । उपाध्यक्ष शिल्पा कार्की पनि युवा छन् । अर्थात प्रदेश १ को राजधानी विराटनगर एमालेको नेतृत्व ४० हाराहारीको हात र काँधमा आएको छ । 

हुन त यसअघि नै नेतृत्वमा रहेका सागर थापालाई अधिवेसनबाटै नेतृत्वमा आउन भने सजिलो थिएन । 

तर यसअघि नेतृत्वमा रहँदा गरेको परिपक्व निर्णय, संगठन निर्माणमा पु¥याएको योगदानले उनलाई अधिवेशनबाटै नेतृत्वमा आउन भने कसैले रोक्न सकेन । 

लामो समय युवा संघको राजनीति गरेका रोहितको पनि अवस्था उही छ । युवाहरुलाई झण्डा र डण्डा मात्रै बोकाउने प्रचलन थियो । तर अब एमालेमा अवस्था फेरिएको छ । झण्डा र डण्डाको स्थानमा जिम्मेवारी पनि दिइएको छ । 

कोइराला भन्छन्, ‘यसपालीको अधिवेसनमा युवाहरुको हस्तक्षेपले नेतृत्व सुम्पन नेताहरुलाई बाध्य बनायो ।’ महानगरको नेतृत्व ४० को हाराहारीका युवाहरुले गरेका छन् । कोइरालाले भने, ‘यसले पार्टीको गतिशिलता बढेर जान्छ ।’ 

सुनसरीको धरान उपमहानगरको नेतृत्व पनि युवाकै हातमा पुगेको छ । समानान्तर कमिटि भएपनि धरानका नवनिर्वाचित अध्यक्ष हर्कजंग एभेङ ४० वर्षका मात्रै छन् । उनीसहित उनको टिममा ४० भन्दा कम उमेरका पदाधिकारी छानिएका छन् । 

मोरङमा को–को ?

मंगलबार सम्पन्न अधिवेशनले एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवी दाहाल, उपाध्यक्षमा कृष्ण ढकाल, सचिवमा नेवालाल राजवंशी तथा सहसचिवमा हेम कार्की र हरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । 

यसैगरी कटहरी गाउँ कमिटीको अध्यक्षमा रामनारायण राजवंशी, उपाध्यक्षमा सुमनकुमार सरदार, सचिवमा मनोज माझी तथा सहसचिवमा यादव अधिकारी चयन भएका छन् ।

रंगेलीनगर कमिटीको अध्यक्षमा दलबहादुर बस्नेत, उपाध्यक्षमा जीतलाल मण्डल, सचिवमा शान्तलाल खवास तथा सहसचिवमा यशोदा खतिवडा कोइराला र कृष्णकुमार ठाकुर चयन भएका छन् ।

ग्रामथानगाउँ कमिटीको अध्यक्षमा कुमार आचार्य, उपाध्यक्ष तुलसीराम विश्वास, सचिवमा सत्यनारायण माझी तथा सहसचिवमा अरबपति गच्छदार र नवीन मण्डल थारु चयनभएको एमाले मोरङका अध्यक्ष ऋषिकेष पोखरेलले बताए।

सुन्दर हरैचा नगर कमिटीको अध्यक्षमा मात्रिका बाबु ढकाल, उपाध्यक्षमा अकलदेवी चौधरी, सचिवमा सन्तोष घिमिरे तथा सहसचिवमा डिल्ली ढकाल र डिल्ली लुइँटेल चयन भएका छन् । यस्तै मिक्लाजुङ गाउँ कमिटीको अध्यक्षमा बुद्धिमान लिम्बू, उपाध्यक्षमा बृद्धिलाल निरौला, सचिवमा नवीन कार्की, सहसचिवमा चन्द्र लिम्बु चयन भएका छन् ।

मोरङको केराबारी गाउँ कमिटीको अध्यक्षमा पूर्णबहादुर मगर, उपाध्यक्षमा राकेश राई, सचिवमा भीमबहादुर कार्की तथा सहसचिवमा सविता लिम्बू र शरण मगर सर्वसम्मत चयन भएका छन् ।

मोरङको पथरी शनिश्चरे नगर कमिटीको अध्यक्षमा रमेश दाहाल चयन भएको घोषणा गरिएको छ । तर प्रक्रिया मिचेर कमिटी घोषणा गरिएको भन्दै केही पदाधिकारीहरूले शपथ ग्रहणमा सहभागिता नजनाउने बताएका छन् ।

यसैगरी बुढीगंगा, कानेपोखरी र बेलबारीमा नेतृत्व चयन हुन सकेको छैन । पदाधिकारीमा एक भन्दा बढी आकांक्षी भएपछि नेतृत्व चयनमा ढिलाइ भएको हो । सर्वसम्मत नेतृत्व चयनका लागि पहल भइरहेको नेताहरूले बताएका छन् । ५ पालिकामा निर्धारित मितिमा अधिवेशन हुन सकेन । 

युवाको नेतृत्व आएको छ । एमाले प्रदेश १ का सचिव विनोद ढकालले एमालेका अधिकांश पालिकाको नेतृत्वमा युवा आएको दाबी गरे ।

लामो समयसम्म अधिवेसन नभएका कारण युवाहरु नेतृत्वमा आउन पाएका थिएनन् । यस पटकको अधिबेसनले युवाहरुलाई नेतृत्व हस्तान्तरण गरेको उनले बताए । 

  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार ११:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया