काठमाडाैंको बानेश्वरको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ ।
सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुगेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग बगाएको हुँदा खाल्डो भएको बताएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत शाक्यले भत्किएको मंगालमा डन्डी नराखिएको, ढलान नगरिएको कारण पानी धेरै परेकोले बगाएको बताए । उनले सवारीसाधहरूको चाप धेरै हुने सडक भएकोले तत्काल समस्याको समाधानका लागि पहल भइरहेको बताउँदै आउँदो एक सातामा काम सकिने जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत शाक्यले भने, ‘सडक भासियो भन्ने समाचार सञ्चारमाध्यममा आएपछि मंगालको वाल भत्किएको कारणले गर्दा र वर्षातको समयमा पानी धेरै आएर सबै भित्रभित्रै बगाएर खाल्डो भएको भन्ने कुरा देखियो । त्यसपछि हामीले तत्काल मंगालको काम सुरु गरेका छौं । पहिले बनाइरहेको मंगालमा डन्डी नराखिएको, ढलान पनि नगरिएको कारणले गत वर्षातकाे पानीमा धेरै पानी आएर वाललाई बगाएको भन्ने कुरा देखिएको छ । डन्डी पनि केही राखेर वाल बलियोसँग बनाउने, भित्र आरसिसी नै गर्ने भन्ने काम गरिरहेका छौं । अब फेरि छिटो यस्तो समस्या नआओस्, सबै फिनिसिंग गर्दा एक हप्तामा काम सकिन्छ, नियमानुसार काम गरेनन् आ-आफ्नो किसिमले काम गरे, यस्ताे समस्या आयो । गुणस्तर तरिकाले काम गर्दा दुःख कष्ट आउने थिएन ।’
प्रमुख कार्यकारी अधिकृत शाक्यले यसअघि मंगाल राम्रोसँग नबनाएकोले यो समस्या आएको भन्दै काम गर्ने ठेकेदार कम्पनीहरुले राम्रोसँग काम गर्नुपर्नेमा जाेड दिए । उनले ढलानको काम गर्दा नियमानुसार नगरेको र आ-आफ्नो तरिकाले काम गर्दा यस्तो समस्या झेल्नुपरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।