दाँत ब्रस कति मिनेट गर्ने?

हाम्रो दाँत कति मिनेट माझ्नुपर्छ भन्ने प्रश्नको उत्तर विभिन्न समयमा भिन्नभिन्न आइरहेको पाइन्छ । हामीले दिनको दुई पटक दाँत सफा गर्नुपर्छ । र, कम्तीमा पनि दुई मिनेट दाँत माझ्नुपर्ने दन्तचिकित्सकको भनाइ छ ।

कतिपय मानिसहरू एक मिनेट दाँत सफा गर्नुलाई पर्याप्त मान्छन् । कोहीकोही त दाँतमा ब्रस पुर्याएको केही सेकेन्डमै मुख पखाल्न थालिहालेको पनि देखिन्छ । त्यसरी एकदमै छोटो समय दाँत माझ्दा पर्याप्त नहुने अध्ययनहरूले देखाएका छन् ।

नयाँ अनुसन्धानले, दाँतमा जमेको प्लक र गन्ध पूर्ण रूपमा हटाउन तीनदेखि चार मिनेटसम्म माझ्नुपर्छ । यसको अर्थ हामीले आफ्नो दाँत स्वस्थ राख्न अहिलेको भन्दा दुईगुना बढी समय दिनुपर्छ ।

दन्तचिकित्सकहरूले सन् १९७० मा पहिलो पटक दुई मिनेट मन्जन गर्नुपर्ने बताएका थिए । उनीहरूले नरम ब्रसको प्रयोग गर्न पनि सल्लाह दिएका थिए । अहिले ब्रस गर्ने समय, तरिका र टुथब्रसको प्रकारका बारेमा पनि विज्ञहरू एकमत देखिएका छन् । १९९० को दशकमा प्रकाशित अध्ययनमा यस्तो सहमति देखिएको हो ।

यी अध्ययनहरूले स्तरीय ढंगमा दुई मिनेट ब्रस गरेमा दाँतको फोहोर हट्ने स्पष्ट पारेका थिए । तर, दुई मिनेटभन्दा बढी समय दाँत माझ्दा फोहोरहरू हट्ने र गन्ध निख्रने तथा दाँत मजबुत हुने कुरामा पर्याप्त अनुसन्धान अझै पनि हुन सकेको छैन ।

जब हामी दाँत माझ्छौं, तब दाँतको सतहमा रहेका किटाणु (प्लक) हटाउने मुख्य उद्देश्य हुन्छ । दाँतमा रहने प्लकमा ब्याक्टेरिया, भाइरसलगायतका हानिकार तत्व जमेर बसेका हुन्छन् । यो माइक्रोबयिल बायोफिल्मको समुदाय हो, जुन निकै टाँस्सिनेखालको हुन्छ । यसलाई हटाउन राम्ररी ब्रस गर्नुपर्छ । प्लक बढ्दै जानाले गिजा सुन्निने, दाँत कमजोर बन्ने र शरीरका अन्य भागको प्रतिरक्षा क्षमतामा ह्रास आउनेसमेत हुन सक्छ । 



गिजा सुन्निने र दाँत कमजोर हुनाले मुखमा पीडा त हुन्छ नै साथै, सासबाट नमीठो गन्धसमेत आउन थाल्छ । बायोफिल्मले दाँतलाई खियाँउदै लैजान्छ । 

उचित प्रविधि र तरिकाले दाँत माझ्दा यी समस्याबाट छुट्कारा मिल्छ । त्यसैले अहिले दन्तचिकित्सकहरू स्तरीय ढंगमा चार मिनेटसम्म दाँत माझ्न सल्लाह दिन थालेका छन् ।



चिकित्सकहरू दुई पटकभन्दा बढी दाँत सफा नगर्न र कडा ब्रस प्रयोग नगर्न पनि सल्लाह दिन्छन् । कडा ब्रस र धेरै पटक दाँत सफा गर्दा गिजामा असर पर्ने र दाँत नै कमजोर हुन सक्छ ।

दाँत सफा गर्ने तरिका पनि विभिन्न छन् । संशोधित ‘बास’ टेक्निकमा दाँत सफा गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । बास उपाय अपनाउँदा गिजाको तल्लो भागसम्म सफा हुन्छ । यो दाँतको त्यो हिस्सा हो, जहाँ प्लक जमेर बस्ने र त्यसका कारण गिजा सुन्निने समस्या हुन्छ ।

कसरी गर्ने दाँत सफा?

कहिले पनि जोडजोडले दाँत सफा गर्नु हुँदैन । नरम ढंगमा दाँत सफा गर्नुपर्ने विज्ञहरू सल्लाह दिन्छन् । यसरी सफा गर्दा गिजामा असर नपर्ने र दाँत पनि राम्ररी सफा हुन्छ । ब्रस गर्ने तथा ‘फ्लस’( दाँत सफा गर्ने धागो) गर्दा पनि हुने सल्लाह चिकित्सकहरू दिन्छन् ।

टुथ पिक, वाटर जेट वा जिब्रो सफा गर्ने क्लिनरजस्ता वस्तुको फाइदाबारे राम्ररी अध्ययन अझै भएको छैन । यसकारण पनि कम्तीमा दुई मिनेट दाँत सफा गर्नु र उचित तरिकाले ब्रस गर्नुपर्ने सल्लाह प्रायः चिकित्सकले दिने गरेका छन् । दाँतमा बाक्लो प्लक जमेको, दुर्गन्ध आएको र खानेकुरा धेरै अड्केको छ भने तीन–चार मिनेटसम्म ब्रस गर्न सकिने चिकित्सकहरूको सल्लाह छ । 

  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार १५:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया