सर्वोच्चका न्यायाधीशहरुको बटमलाइनः प्रधानन्यायाधीशको राजीनामा !

सर्वोच्चका न्यायाधीशहरुको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका कदमले न्यायालयको गरिमा, नैतिकता, स्वतन्त्रता, विश्वसनीयता घट्दै गएको आरोप लगाएर उनको राजीनामा माग गरेका छन् । तर, अहिलेसम्म प्रधानन्यायाधीश जबराले यो मागबाट विचलित भएका छैनन् । उल्टै उनले आफूले राजीनामा दिनु पर्ने भए सबैले राजीनामा दिनु पर्ने अड्को थापेका छन् ।

यतिमात्र होइन, उनले आफूले सडकबाट राजीनामा माग गर्दैमा राजीनामा नदिने पनि बताएका छन् ।

याे पनि पढ्नुहाेस्– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि उठेका ५ गम्भीर प्रश्न

तर, सर्वोच्चका न्यायाधीशहरुले आफूहरु वकालतमा फर्किनका लागि अरु कुनै विकल्प नभएर प्रधानन्यायाधीशको राजीनामा नै अन्तिम विकल्प भएको बताउन थालेका छन् ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन परमादेश दिएका कारण प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा आफ्नो भाग खोजेको पनि गम्भीर आरोप लागेको छ । प्रधानमन्त्री देउवाले पनि उनको कोटाबाट उनका जेठान गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए । हमालले चर्को विवाद र आलोचनाका कारण मन्त्री पदमा सपथ लिएको ७२ घन्टा नपुग्दै राजीनामा दिए ।

याे पनि पढ्नुहाेस्– महाअभियोग लगाउन सकिन्छ तर प्रधानन्यायाधीशको राजीनामा उत्तम हो : संविधानविद् आचार्य



त्यस्तै, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछाडि हटेको आरोप पनि प्रधानन्यायाधीश जबरालाई लागेको छ ।

यही आरोपका आधारमा नेपाल बार एसोसियसन, सर्वोच्च बार, पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु तथा संविधानविद् तथा न्याय क्षेत्रका जानकारहरुले राणाको राजीनामा माग गरेका छन् ।



प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने विषयमा सर्वोच्च अदालतका न्यायाधीशहरु अहिले छलफलमा जुटेका छन् । उनीहरुले बुधबार र बिहीबार सर्वोच्चका पूर्वन्यायाधीशहरु शारदाप्रसाद पण्डित र भैरव लम्सालको निधन भएकाले यो छलफल स्थगित गरेका थिए । 

याे पनि पढ्नुहाेस्– ‘जबर्जस्ती प्रधानन्यायाधीश हट्न सक्दैन, प्रधानन्यायाधीशले पनि संविधानमाथि  ज्यादती गर्न पाइँदैन’

शुक्रबार फेरि उनीहरु यही छलफललाई निरन्तरता दिने योजनामा छन् ।

न्यायाधीशहरुले अहिलेसम्म आफूहरुले के गर्ने भन्ने निर्णय निकालिसकेका त छैनन् तर सर्वोच्चमा मुद्दाका पेसी र इजलासमा अहिलेसम्म सहभागिता जनाएका छैनन् । यसअघि उनीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरुले इजलास बहिस्कार गर्ने बताएका थिए ।

याे पनि पढ्नुहाेस्– प्रधानन्यायाधीशलाई असहजताबीच सहजता !

प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउनु पर्ने माग पनि अगाडि आइरहेको छ । 

यही विषयमा केही दिनअघि संविधानविद् भीमार्जुन आचार्यले फरकधारसँग कुराकानीमा भनेका थिए, ‘महाभियोगमा नै अहिले जानु उपयुक्त हुँदैन, उहाँले आफैं पद छोड्नु बुद्धिमानी हुन्छ ।’

उनले थपेका छन्, ‘तर, महाभियोगमा नै जाऔँ भन्ने हो भने पनि कानुनी आधारहरु नभएका चाहिँ होइनन् ।’

याे पनि पढ्नुहाेस्– किन प्रधानन्यायाधीशको कित्तामा उभिए ओली ?

महाभियोगमा जानुअघि नै प्रधानन्यायाधीशले राजीनामा देलान् भन्ने अहिलेसम्म उनको कदमबाट अनुमान गर्न सकिँदैन । तर, अब न्यायाधीशहरु के गर्लान् त ?

यसको निर्णय शुक्रबार नेपाल बार एसोसिएसनको बैठकपछि हुने सम्भावना रहेको छ । नेपाल बार एसोसिएसनको कार्यसमितिले यसअघि मंगलबार गरेको छलफलमा प्रधानन्यायाधीश जबराले राजीनामा नदिए मुलुकभरका इजलास बहिस्कार गर्ने र अन्य आन्दोलनसमेत गर्ने चेतावनी दिएको थियो ।

अब प्रधानन्यायाधीश जबराले स्पष्ट रुपमा आफूले राजीनामा नदिनेब बताइसकेपछि यसबारे कस्तो कदम लिने भन्ने अहिलेसम्म निक्र्योल भइसकेको छैन ।

यो विषयमा छलफल गर्न शुक्रबार ११ बजे बार एसोसियनको कार्यसमिति बैठक बोलाइएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि अब के गर्ने भन्नेबारे शुक्रबार नै छलफल गर्ने तयारी गरेका छन् । त्यसैले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएको खण्डमा के हुनेछ भन्नेबारे यी दुई बैठकले निर्धारण गर्ने अनुमान गर्न सकिन्छ ।


  • प्रकाशित मिति : कात्तिक ११, २०७८ बिहीबार २१:१४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया