ओली र नेपाल दुवैको कारणले यो अवस्था आएको हो : अष्टलक्ष्मी शाक्य
फरकधार / १२ कात्तिक, २०७८

७१ दिन बागमती प्रदेशको सत्ता सम्हालेर मुख्यमन्त्रीबाट बिदा भएकी छन्- अष्टलक्ष्मी शाक्य । नेपालको राजनीतिक इतिहासमा पहिलो महिला मुख्यमन्त्री बनेकी शाक्य निकै चुनौतीकाबीच मुख्यमन्त्री बनेकी थिइन् । एमाले विभाजनअघि अध्यक्ष ओलीको खरो आलोचना गर्नेमध्येकी एक हुन् शाक्य ।
 
प्रतिनिधिसभा विघटनपछि सडक आन्दोलनको अग्रमोर्चामा देखिएकी शाक्य प्रदेश सरकार गठन हुँदाताकादेखि नै मुख्यमन्त्रीको आकांक्षी थिइन् । लामो कम्युनिस्ट आन्दोलनको शिराबाट आफू स्थापित भएको बताउने शाक्य अहिले एमालेमै छिन् । माधव नेपालको बलियो सहयात्रीका रूपमा पनि उनलाई लिइन्थ्यो । 



तर, विभाजनपछि नेकपा एकीकृत समाजवादीमा आफ्नो पाइला नराखी एमालेमै बसेर अहिले पनि १० बुँदे कार्यान्वयनको पक्षमा उभिइरहेकी थिइन् । एमाले विभाजनसम्मको अवस्थामा पुग्नु र आफू मुख्यमन्त्रीमा नटिक्नुलाई ओली र नेपाल दुवैको उत्तिकै हात रहेको उनको ठम्याइ छ । 

उनै शाक्यसँग फरकधारकर्मी रूपक चाैलागाईंले गरेकाे कुराकानी :

तपाईं देशकै पहिलो महिला मुख्यमन्त्री त बन्नुभयो, तर कार्यकाल निकै छोटो भयो नि ?



नेपालको पहिलो महिला मुख्यमन्त्रीको रूपमा मेरो कार्यकाल निकै सिर्जनात्मक भयो । समयको हिसाबले समय निकै छोटो भयो । तर पनि यो छोटो अवधिलाई हामीले जस्तो टिम बनायौं, त्यो टिम अत्यन्तै सिर्जनात्मक र कामकाजी भयो । त्यसले गर्दा छोटो दिनमा पनि धेरै काम गर्न सक्यौं जस्तो लाग्छ । मेरो कार्यकालमा मन्त्रीहरू पनि भर्खरै सांसद भएका वा नयाँ थिए । एकैचोटि सांसद र एकैचोटि मन्त्री हुँदा उहाँहरूको सुरुवात अलमल पनि भयो होला ।

तपाईं आफै लामो कम्युनिस्ट राजनीतिबाट आउनुभएको इतिहास छ । कुनै पनि पार्टीमा पछिल्लो समय मौलाइरहेको गुट-उपगुटको संस्कारले राजनीतिलाई कता डोर्‍याउला ?

यो फुट विभाजनले हामी कसैलाई पनि फाइदा गर्दैन । राजनीतिक दलहरू फुट विभाजनको दिशातिर मात्र अग्रसर भएको छ । अलिकति चित्त बुझेन भने आफ्नो आफ्नो गुट विभाजन भन्ने गरिएको छ । यसले हामी ठाउँमा पुग्दैनौं । गणतन्त्र ल्याउँदा सबै मिलेर ल्यायौं । त्यसरी निरकुंशता अन्त्य गर्‍याैं । हामीले समाजवादसम्मको लक्ष्य लियौं । समाजवादको लक्ष्यलाई बलियो बनाउनका लागि र लक्ष्यप्राप्ति गर्नका लागि मिल्नुको विकल्प म देख्दिनँ । राष्ट्रिय पुँजी निर्माण गर्ने, संविधानलाई कार्यान्वयन गर्ने दिशातर्फ सबैले सोच्नुपर्ने बेला छ ।
 
तर, अहिले खालि सरकार र सत्ता मात्र भन्ने प्रवृत्ति बढेको छ । सत्ता, कुर्सी र पदमा रुमलिएर ठूला ठूला नेताहरू पनि विभाजनको दिशामा छन् । तलका कार्यकर्तालाई भन्ने कुनै ठाउँ छैन । जसले आन्दोलन र पार्टीको मूल मर्म बुझेका छन्, त्यस्ता नेताहरू सीमित स्वार्थका लागि फुटेका छन् । यो अत्यन्तै दुःखलाग्दो कुरा हो । यसले राजनीतिक उपलब्धि रक्षा गर्न सक्दैन । रक्षामात्र होइन, समृद्धिको बाटोमा हिँड्ने हाम्रो सपना पनि पूरा हुँदैनन् । अहिले पनि म पार्टीमा यही कुरा बोलिरहेको छु । मैले माधव कमरेडलाई पनि त्यही कुरा भनेको थिएँ । तपाईंजत्तिको मान्छेले किन विभाजन गर्ने ? भनेर धेरैपटक भनेँ । किनभने नेकपा एमाले बनाउनका लागि सुरुवाती त्याग उहाँहरूको छ नि त । यसलाई चटक्क छाडेर मिल्न सकिँदैन भनेर छाड्न मिल्दैन । हामीले समर्पण गरेको, त्याग गरेको नयाँ पार्टीका लागि हो त ? 

नेकपा एमालेको जग बलियो छ । हिजो भूमिगत ढंगबाट सम्पूर्ण शक्तिहरू लागेको छ । गाउँगाउँमा संगठन निर्माण भएको छ । माधव कमरेडको कुरा गर्दा जिल्लामा सम्म बन्ला, तर तल्लो तहसम्म संगठन निर्माण गर्न सक्नुहुन्न । किनभने संगठन निर्माण गर्ने कुरा चानचुने पनि होइन । त्यो भाषण गरेको जस्तो सजिलो छैन । यसमा धेरै मेहनत पर्छ, जनताको भावना बुझ्नपर्छ । जुन विमेल पार्टीमा भइरहेको छ यसले हाम्रो लक्ष्य पूरा गर्नका लागि निकै ठूलो सकस पर्छ ।
 
सुरुमा तपाईंलाई मुख्यमन्त्री बनाउन माधव नेपालले चाहनुभयो, ओलीले चाहनुभएन । अहिले ओलीले चाहनुभयो, नेपालले चाहनुभएन । यस्तो खालको विमेल किन आएको हो ? कसको कारणले ?

माधव नेपाल र केपी ओली दुवै नेताका कारणले यस्तो अवस्था आएको हो । तोलिँदा घटिबढी होला, केपी ओलीको बढी होला, माधव कमरेडको कम होला । तर, दुवै नेताको कारणले यो अवस्था सिर्जना भयाे । ओलीको कमजोर विचारसँग (विचारहीन तर्क छ नि त उहाँको जथाभावी) लड्ने भनेको त माधव नेपालहरू जस्तो बसेर हो नि त । यो पार्टीमात्र होइन, सिंगो परिवार पनि हो । यतिधेरै मानिसहरू उत्साहित भएर लागेका पनि छन् । हामी त सालाखाला ६८ वर्ष भयौं । तर, युवाहरूको भविष्य कसले हेर्ने ? यी समपूर्ण कुराहरू नेताहरूले सोच्नुपर्दैन ? 

ओलीको पनि गल्ती छन । उहाँ विचारयुक्त काम गर्नुहुन्न । पहिल्यैदेखि गुट नै गर्ने हो उहाँ । माधव कमरेड पनि यहाँभित्र बसेर संघर्ष गरौं न भन्दा पन्छिनुभयो । मिलेको बेलामा यी दुवै नेताहरू च्याप्पै मिलेका छन् । विद्या भण्डारी राष्ट्रपति हुनका लागि पनि उहाँहरूले मिलन देखाउनुभयो । कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्नेगरी लाग्ने यो प्रवृत्तिको म विरोध गर्छु । नेतृत्वले कार्यकर्ता र आन्दोलनलाई धोका दिन पाइँदैन । यो पार्टीमा पहिला माधव नेपाल हो अनिमात्र ओली हो नि त । मुकुन्द न्यौपाने, अमृत बोहराहरू पनि माधव कमरेड सँगसँगै हो । यतिबेला माधव नेपालजीले त पार्टीमा संघर्ष गर्नुपर्थ्याे ।

हामी सबैको साथ लिएर वैचारिक संगठन बनाएर अघि बढाउने गर्नुपर्थ्याे । अहिले कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको छ । अलिकति बलियो भनेको नेकपा एमाले थियो, एमाले नै विभाजन भएपछि कस्तो हुन्छ ? अहिले पनि एकैचोटि वडा अधिवेशन हुनु चानचुने कुरा होइन । म आफै पनि यो बीचमा विभिन्न जिल्लामा पुगेँ । खासमा नेकपा एमाले र सूर्य भनेर आउने साथीहरू धेरै छन् । यो सोच्ने कि नसोच्ने अब नेताहरूले ? पद ठूलो कुरा होइन, पार्टी भयो भने जनता र कार्यकर्ताले रोज्नुहुन्छ भन्ने किन नसोचेको हो जस्तो लाग्छ । म सधैं नेतृत्वको आलोचना पनि गर्छु । हाम्रै जीन्दगी पनि उहाँहरुले हेर्नुपर्दैन् । हामीले पपिरवार, केटाकेटी छाडेर हिँडेका थियौं नि त । 

पार्टीको गुट-उपगुटमा तपाईं पनि सहभागी हुनुभयो भन्ने आरोपलाई कसरी चिनुहुन्छ ? 

म पहिल्यैदेखि नै गुट र उपगुटको विरोधी थिएँ । सुरुदेखि नै कम्युनिस्ट पार्टी बलियो हुनुपर्छ भन्ने मेरो तर्क थियो । म सधैं कमरेड पुष्पलाललाई सम्झन्छु । कम्युनिस्टहरूको विशाल घर बन्नुपर्छ भन्नेमै उहाँहरूको समय बित्यो । उहाँका पनि त अनेकौं कुराहरू थिए होलान् । तर पनि नेपाल र नेपालीको हितका लागि, अन्यौलपूर्ण वयवहार अन्त्यको लागि र कम्युनिस्ट पार्टी बलियो बनाउनका लागि उहाँ लाग्नुभयो । मैले बुझेको बेलामा गाउँमा जानुपर्छ, जनताको सेवा गर्नुपर्छ भन्ने मात्रै बुझेको थिएँ । म चीन र माओत्सेतुङको जीवनबाट प्रभावित मान्छे हुँ । चिनियाँ भाषा पढ्ने हुनाले त्यहाँको क्रान्तिबाट धेरै प्रभावित थिएँ । पहिल्यैदेखि मलाई गुट-उपगुटमा विश्वास लाग्दैनथ्यो । मलाई मन पनि पर्दैनथ्यो । ओली र माधव नेपाल दुवैलाई त्यही बेलादेखि भन्ने गर्थें। 
 
जब नवौं महाधिवेशन त्यही बेलादेखि दुई फ्याक्ट भयो । प्यानलगत चुनाव भयो भने पार्टी सिद्धिन्छ भनेर मैले भनेको थिएँ । त्यसपछि ओलीको प्यानलमा विद्या भण्डारी उपाध्यक्ष बन्नुभयो । त्यसपछि मलाई माधव कमरेडले उपाध्यक्ष बन्नुपर्‍याे भन्नुभयो । मलाई त्यतिबेला माधव कमरेडको त्यो प्रस्ताव मन परेकै थिएन । पार्टी दुई प्याक्ट हुनुहुँदैन भनेर निकै कराएँ । तर पनि अन्तिममा जानपर्ने स्थिति बन्यो । त्यो बेलादेखि मलाई माधव नेपालको मान्छे भनेर हुन पुगेको ।
 
ओली र विद्या भण्डारीको चरित्र पनि त्यस्तै एकलकाटे थियो । सधैंभरि उहाँहरूको विचारसँग संघर्ष गर्नुपनर्ने बेला आयो । मैले आजको दिनमा पहिलाको जसैगरी आलोचना गरिरहेको छु । कम्युनिस्ट पार्टी पनि एकीकृत हुनुपर्छ र लोकतान्त्रिक एकता हुनुपर्छ भन्ने पक्षमा छु । 

आगामी निर्वाचनसम्म एमाले एक हुनसक्छ भनेर चर्चा हुन थालेका छन् । के लाग्छ तपाईंलाई ?
 
प्रयास चाँहि हामीले गर्नुपर्छ । हामीबाटै प्रयास हुनुपर्छ हामी गर्दैछौं पनि । तर पनि रिसैरिस पार्टीमा उब्जिएको छ । यो बाँकी भएसम्म मिलेर जाने गाह्रो छ । एकजुट भएर गयो भने एमाले बलियो हुनेछ । यदि एकढिक्का भएर गएन भने सबै कमजोर मात्र हुनेछ । पार्टी पनि कमजोर हुन्छ र राजनीतिक व्यवस्थामाथि समस्या आउँछ। 

अबको राजनीतिको भावी योजनाहरू के-के छन् ?

पहिलो कुरा त, मेरो पहिलो प्रयास नेकपा एमालेलाई बलियो बनाउनेतिरै हुन्छ । एमालेभित्र ओलीको मात्र कुरा होइन, पार्टीको कुरा हो भन्ने कुरा बुझ्छु । बागमती प्रदेशको संयोजकको रूपमा म छु । राजधानीसँग जोडिएको प्रदेश भएकाले देशव्यापी रूपमा यसले असर गर्छ भन्ने मैले सोचेको छु । मेरो सिंगो समय हिजोको जस्तो आलोचनात्मक नै रहन्छ । ओलीलाई पनि मैले तपाईं अभिभावक हो, मन फराकिलो बनाउनुस् भनेर सम्झाउने काम गरिरहेकी छु ।

  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार ९:३३:४१,   अन्तिम अपडेट : कात्तिक १२, २०७८ शुक्रबार ९:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया