फुटको संघारमा रहेको विवेकशील साझाका संयोजक मिलन पाण्डेले आजबाटै आफूहरू दल दर्ताको प्रक्रियामा जाने स्पष्ट पारेका छन् । ०७७ मंसिरमा विवेकशील नेपाली र साझा पार्टीबीच एकता भएको पार्टी पुनः फुटतर्फको दिशामा अघि बढेको हो ।
पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई विधानअनुसारको हस्ताक्षर पुर्याएर देखाउन पनि पाण्डेले चुनौती दिएका छन् । फरकधारसँगको कुराकानीमा पाण्डेले भने, ‘राजनीतिक मार्ग परिवर्तन गर्न हाम्रो विधानअनुसार १०१ जना सदस्यको हस्ताक्षर चाहिन्छ । त्यो पुर्याएर देखाउन मिश्रलाई मेरो चुनौती छ ।’
मिश्रका गतिविधि कुनै हालतमा आफूहरूका लागि स्वीकार्य नहुने पाण्डेको भनाइ छ ।
‘वैकल्पिक राजनीतिक कुनै मजाक होइन, रविन्द्र मिश्रले जे चाह्याे त्यो हुँदैन । हाम्रो विधानमा स्पष्ट रूपमा राजनीतिक विधि, मार्ग नीति र विधानलाई व्याख्या गर्ने जिम्मेवारी संयोजकको भनिएको छ’, पाण्डेले अघि भने, ‘लहडको रूपमा उहाँ(मिश्र) अगाडि बढिरहनुभएको छ ।’
उनले रविन्द्र मिश्रलाई चुनौती दिँदै भने, ‘म मिश्रलाई चुनौती दिन चाहन्छु । निर्वाचन आयोगमा बहुमत पुर्याएर वैकल्पिक राजनीतिको यो दललाई तपाईंको बनाउनुस् ।’
(पाण्डेसँगको अन्तर्वार्ता केहीबेरमै फरकधारमा आउँदैछ ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।