[अन्तर्वार्ता] अबको १० वर्षमा सत्तामा पुग्छौँ : मिलन पाण्डे
‘पार्टीलाई संस्थागत रूपमा अघि बढाउन रवीन्द्रजीले नै चाहनुभएन’

यतिबेला विवेकशील साझा पार्टी पुनः फुटको संघारमा छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताविरोधी मुद्दासहितको दस्ताबेज दुई तिहाई मतबाट पारित गरेपछि असन्तुष्ट पक्ष नयाँ पार्टी गठन प्रक्रियामा लागिसकेको छ ।

पार्टीका संयोजक मिलन पाण्डेले आजबाटै दल दर्ताको प्रक्रिया अघि बढाउने फरकधारलाई बताएका छन् । पछिल्लोपटक २०७७ मंसिरमा विवेकशील नेपाली र साझा पार्टीबीच एकता भएको थियो । अहिले पुनः पार्टीमा देखिएको संकटकाबीच मूलधारको राजनीतिमा पुग्ने लक्ष्यसहित पाण्डेले नयाँ दलको अभियान अघि बढाएका छन् । 

तीनै पाण्डेसँग फरकधारका रूपक चौलागाईंले विविध विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ पाण्डेसँग गरिएको कुराकानीको सम्पादित  अंश :

विवेकशील साझा पार्टी फेरि फुटेको हो?

हिजो बैठकबाट रवीन्द्रजीले पार्टीको विधान र सम्झौतापत्र विपरित निर्णयहरू गर्नुभयो । उहाँले विवेकशील साझा पार्टीलाई दोस्रोपटक फुटाउनुभयो । 

नेपालका अधिकांश राजनीतिक दल टुटफुटको सिकार बनेका छन्, तपाईंहरू त आरम्भमै सोही रोगले ग्रसित हुनुभयो नि?



त्यो देखिन्छ । हो नै । त्यसलाई मैले इन्कार गर्न सक्दिन । हाम्रै व्यवहारमा देखिएको छ । अघिल्लोपटकको फुटमा पनि हाम्रो कार्यशैलीको दोष देखिएको छ । तर, यो पटकको फुटमा त्यस्तो होइन् । योभन्दा ठूलो वैचारिक विषय के हुनसक्ला? एउटा पश्चगमनको एजेण्डामा छन्, हामी अग्रगमनको एजेण्डामा छौं । यो फुट त फुटै हो । तर अलिकति गहिराइमा पुग्ने हो भने सत्ता स्वार्थ नमिलेर वा पार्टीको नेतृत्वमा को पुग्ने भन्ने झगडा गरेर होइन् । संविधानलाई बचाउने कि नबचाउने? गणतन्त्रलाई बचाउने कि नबनाउने? एकात्मक राज्य कि संघीयता? धर्मको राजनीति हेर्नुस् त । कति सिरियस कुरा छ यो । 

तपाई बंगलादेशको अवस्था हेर्न सक्नुहुन्छ । हिजो मात्र इन्डियाको घटना हेर्न सक्नुहुन्छ । जहाँ बहुसंख्यकलाई अल्पसंख्यकलाई मारिरहेका छन् । तपाईं त्यो मुद्दा नेपालमा रोक्न चाहनुहुन्छ? भन्ने डिबेटमा फुट्न लागेको हो विवेकशील । त्यतातर्फको विग्रह हो यो । फुट चाहिँ फुट हो तर यो द्वन्द्ध मात्र भनेर नहेरिदिनुस् । हाम्रो पार्टीको द्वन्द्धभन्दा पनि जे बहस हुन खोजिरहेको छ, रवीन्द्र जी लगायतका केही मान्छेहरूले त्यसविरुद्धको आवाज हो त्यो अत्यन्तै महत्वपूर्ण छ । 



सशक्त वैकल्पिक राजनीतिक पार्टी बनाउने घोषणासहित जन्मिएको विवेकशील किन यति कमजोर?

यसमा लिडरसिपको फेलियर हो । तपाईं मान्नुस् या नमान्नुस्, लिडरसिपको फेलियर नै हो । पार्टी खोलेको ६ महिनामा लगभग राष्ट्रिय पार्टी नागरिकले बनाइदिएका होइनन् । म आफैँ त्यो पार्टीमा थिएँ । २ लाख १२ हजार ३६४ मत पाएको रवीन्द्र मिश्रजीले आफैँले प्रकाशमानलाई हराउनुभएको होइन? भनेपछि उहाँको लिडरसिपमा वा पछिल्लो समय मेरो लिडरसिपमा किन यो अवस्थामा पुग्यो भने ‘फेलियर’ भएको हो । कहिलेकहिले म फेल भएँ भनेर मान्नु पनि लिडरसिप नै हो । 

दोस्रो नम्बरमा एउटा पार्टी बनाउनका लागि चाहिने टिम नै बनाउन सकेनौं । त्यो टिम बन्दैछ, त्यो यत्तिकै बन्ने होइन । हरेक राजनीतिक दलमा तपाईंले हेर्नुभयो भने टुटफुट, झगडा वा वैचारिक मतभिन्नता देखिइरहन्छन् । त्यो मतभेद हुँदै गएपछि विचार मिल्ने मान्छेहरू एकठाउँमा हुन्छन् । र एउटा टिम बन्छ । हामीलाई हाम्रो पार्टीमा पनि एउटा टिम बन्ने प्रोससमा हामी छौँ । 

हरेक पार्टीमा जस्तो समस्या हाम्रो पार्टीमा पनि देखियो । हामीले यसलाई संस्थागत नै गर्न सकेनौं । साझा पार्टीको कुरा भयो, ४ वर्षसम्म रवीन्द्र मिश्रजीले किन महाधिवेशन गर्न सक्नुभएन? विवेकशील नेपाली हामी फरक थियौं, निर्वाचनबाट नयाँ आयौं तर हाम्रो पार्टीले गर्यो । हाम्रो पार्टी र उहाँ (रवीन्द्र) को पार्टी एकीकरण गरेर ल्याइसकेपछि ६ महिनामा महाधिवेशन गरौँ? भनेर भनेँ । उहाँ किन मान्नुहुन्न? पार्टीलाई संस्थागत रुपमा अघि बढाउन रवीन्द्रजीले नै चाहनुभएको छैन् । उहाँ व्यक्तिवादी सोचबाट ग्रसित हुनुहुन्छ । मै हुनुपर्छ भन्ने र महाधिवेशन भन्नेबित्तिकै म त हार्छु कि क्या हो भनेर समस्या सिर्जना भयो । यही कारणले नेपाली राजनीतिमा पनि समस्या सिर्जना भयो । र हाम्रो पार्टीमा पनि समस्या देखिएको हो । 

विवेकशीलका प्रभावशाली र जिम्मेवार नेता रवीन्द्र मिश्रले पार्टी लाइनविपरीत अवधारणापत्र सार्वजनिक गरिसक्दा पनि पार्टीले कारबाही गर्न किन नसकेको?

कारबाही गर्नका लागि पनि हाम्रो पार्टीको विधानले दिएको थिएन । विधान के थियो भने, दुवैजना सहमति हुनुपर्छ । कारबाही त मैले एउटा पत्र काटेर रवीन्द्र जी तपाईं कारबाहीमा पर्नुभयो है? भनेको भए पनि हुन्थ्यो नि । तर मैले विधान मानेँ । हाम्रो विधानमा के लेखिएको छ भने अध्यक्ष र संयोजकको सहमति चाहिन्छ । मैले विधान मानेँ र फलो गरेँ । त्यही भएर कारबाही गरिन । उहाँ (रवीन्द्र) ले विधान फलो गर्नुभएन, विधिको शासन मान्नुभएन, लोकतन्त्रलाई मान्नुभएन र त्यही कारण आफूखुसी कारबाही गर्नुभयो । नसकेको भन्ने होइन् । नगरेको हो । हामीले विधान नमिचेको हो । विधिको शासन मानेको हो, आउनुस् महाधिवेशनमा भिडौं भनेको हो । 

तपाईंहरू युवामा राजनीतिक सत्ता आउनुपर्छ, सबथोक ठीक हुन्छ भन्नुहुन्छ । असल राजनीति उमेरले गर्ने हो कि चिन्तन र चरित्रले?

उमेरले गर्ने होइन । एकदमै बोल्ड उत्तर यही हो । तर, मेरो कुरा के हो भने अलि फ्रेस मान्छे एक्टिभ हुन्छ । ६० वर्षको मान्छे र ३० वर्षको मान्छे अलिकति एक्टिभ त हुन्छ नि । कोही अलिक फरक हुनसक्छ । तर, सामान्यतया यही सत्य हो । हाम्रा पुस्ताले नयाँपन दिनसक्छ भन्ने मेरो कुरा हो । जो बाइडेन जस्ता मान्छेहरू जो अलिक फरकधारबाट आउनसक्छन्, त्यो स्ट्रक्चर हामीले छाड्नुहुन्न । तर, युवा भनेको युवा नै हुन्छ यो कुरा बिर्सनहुन्न । 

विवेकशीलमा अधिकांश नेता अपरिपक्व छन्, तिनलाई जनताले कसरी आफ्नो अमूल्य मत देलान् भन्नेहरूलाई तपाईंको जवाफ के?

अपरिपक्क भन्नेमा म मान्छु । तर, के शेरबहादुर देउवा परिपक्व छन्? केपी ओली परिपक्व लागे तपाईंलाई? प्रचण्डजी, माधवजी परिपक्व लाग्यो? परिपक्वता भनेको के हो भन्ने प्रश्न पनि हो । 

आज एउटा पार्टीको युवा साथीहरू देशको संविधान जोगाउनपर्छ भनेर लागिरहेका छन् । के यो चाहिँ परिपक्वता होइन? त्यो मुद्दाले भोट आओस् । आउँछ आउँदैन थाहा छैन । तर हामीले भोटको राजनीति गर्न हुँदैन । हामीले समाज परिवर्तन गर्नुछ । समाजलाई द्धन्द्धमा धकेल्ने राजनीति गर्न हुँदैन भनेर जो युवा साथीहरूले विवेकशील साझाभित्रबाट सोच अघि बढाउनुभएको छ त्योभन्दा परिपक्व सोच नै म पाउँदिन । भनेपछि हामी परिपक्व छौँ ।
 
मानिसहरू ठूला राजनीतिक दल र तिनका नेताहरूलाई खासै मन पराउँदैनन्, तर निर्वाचनमा भने तिनैलाई मत दिन्छन्, किन यस्तो भएको होला?

यो चाहिँ विकल्प नपाएर हो । हिजोसम्म विकल्प नपाएकाहरूले विकल्प त पाए, तर हामी पनि क्रेडिबल हुन भने सकेनौं । एउटा कम्पनीको स्याम्पु प्रयोग गरिरहेको मान्छेले अर्को कम्पनीको स्याम्पु हत्तपत्त प्रयोग गर्नुहुन्न । मतलाई स्याम्पुसँगै दाँज्न त नमिल्ला तर स्वभावको कुरा गरेको । कतिपय कुराहरू पुस्ता परिवर्तनसँगै हुन्छ है । त्यसमा बाहुल्य कसको भन्ने कुरा पनि हुन्छ । बाहुल्य अलिकति बढी उमेर भएकै मान्छेहरूको छ । विस्तारै यो परिवर्तन हुँदैछ । नयाँ पुस्तासँगै परिवर्तन हुने कुरा हो ।
 
मेरो हजुरआमालाई तपाईं जति भन्नुस्, हलोमा, सूर्यमा, रुखमा बाहेक अन्त भोट नै हाल्नुहुन्न । तर, मेरो मामा वा मामाको छोरा त हाल्छन् । भनेपछि यो सबै पुस्तासँगै परिवर्तन हुने कुरा हो । आजको भोलि नै यो सबै हुन्छ भन्ने पनि नसोचौं ।
 
विवेकशीलले भाग लिएको पहिलो निर्वाचनमा सोचेजस्तो सफलता पाउन सकेन, अबको निर्वाचनमा सफलता पाउन के कसरी अघि बढ्ने योजना छ?

म मान्दिन, सफलता हामीले नपाएको हो भनेर । सफलता पाएका हौं । पार्टी खोलेको ३ महिनामै लगभग राष्ट्रिय पार्टी भइसकेको हो । राप्रपा, नयाँ शक्ति, जनमोर्चालगायतलाई उछिनेर हामी राष्ट्रिय रूपमा स्थापित भएका थियौं । त्यो सफलता होइन र? यो सफलता हो । तर, हामीले त्यो सफलतालाई जोगाउन भने सकेनौं । 

अझै पनि समय छ, ६ महिना १ वर्ष । हामीले त्यो सफलतालाई जोगाउनुपर्छ । मलाई विश्वास छ यो झगडाबाट, हाम्रो पार्टीको द्धन्द्धबाट हामीलाई केही समय गाह्रो हुन्छ । तर, यो फेजबाट हामी बाहिर निस्कन्छौं । यो अवधि पार गरेपछि मात्र हाम्रो पार्टी पार्टी बन्छ, नेता नेता बन्छन् । यतिकै किस्तिमा ल्याइदिएर कसैले हामीलाई पार्टी दिँदैन । यस्तै, फेजहरूबाट पार भएर यहीँबाट लड्ने हो, सिक्ने हो र अघि बढ्ने हो । 

कति वटा निर्वाचनपछि विवेकशील मूलधारको राजनीतिक शक्ति बन्ला? 

अब यो प्रश्नमा, ऋषि धमलाले ५ वर्ष, १० वर्ष, १५ वर्ष कति भन्नुस्, ठ्याक्कै भन्नुस् भनेजस्तो त म भन्न सक्दिँन । हामी राम्रोसँग मिहिनेत गर्छौं, काम गर्छौं । हाम्रो स्ट्राटेजिमा रहेर काम गर्यौं भने आगामी निर्वाचनमै हामी सफल बन्छौं । यदी काम गरेनौं भने दुई चरणको निर्वाचन कुर्नपर्ने हुन्छ ।

म आफूलाई १० वर्षको समय भन्छु । १० वर्षभित्र विवेकशील पार्टीलाई सत्तामा पुर्याउँछु । तर, बाहिर (कांग्रेस, एमाले र माओवादी) को राजनीति पनि जोडिएको हुन्छ । वामगठबन्धन गरेर स्थिर सरकार भनिदिएको कारणले अघिल्लो निर्वाचनमा प्रभावित बन्यो । यदी उहाँहरूको वाम गठबन्धन थिएन भने हामी सत्तामा पुगिसक्थ्यौं होला, भइसक्थ्यो होला । त्यसकारण हामी ठ्याक्कै १० वर्षमा देशको मूलधारको पार्टी बनिसक्छौं ।

  • प्रकाशित मिति : कात्तिक १२, २०७८ शुक्रबार १४:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया